बैसाख ७, २०८३ सोमबार April 20, 2026

रोमाञ्चक फाइनलमा सोसिडाड विजयी, पेनाल्टी सुटआउटमा एटलेटिको पराजित

पेनाल्टीमा सोसिडाडले उत्कृष्ट प्रदर्शन गर्दै ४–३ को जित निकाल्यो र उपाधि आफ्नो नाममा पार्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, ७ वैशाख । स्पेनिस फुटबलको प्रतिष्ठित प्रतियोगिता कोपा डेल रेको यस सिजनको उपाधि रियल सोसिडाडले जितेको छ । रोमाञ्चक फाइनलमा सोसिडाडले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न सफल एटलेटिको मेड्रिडलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै आफ्नो चौथो कोपा डेल रे उपाधि उचालेको हो ।

खेलको सुरुवात नै सोसिडाडका लागि सपनाजस्तै रह्यो । खेल सुरु भएको मात्र १४ सेकेण्डमै एन्डर बेरेनेटिक्सयाले गोल गर्दै एटलेटिकोलाई स्तब्ध बनाएका थिए । अप्रत्याशित सुरुवातपछि दबाबमा परेको एटलेटिकोले भने १८ औं मिनेटमा एडेमोला लुकम्यानको गोलमार्फत् खेल १–१ को बराबरीमा ल्यायो ।

पहिलो हाफको इन्जुरी समयमा मिकेल ओयारजाबालले गोल गर्दै सोसिडाडलाई पुनः अग्रता दिलाएपछि पहिलो हाफ २–१ को स्थितिमा टुंगिएको थियो । दोस्रो हाफमा एटलेटिकोले आक्रामक खेल प्रस्तुत गर्दै बराबरी खोजिरहँदा ८३ औं मिनेटमा जुलियन अल्भारेजले महत्वपूर्ण गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्‍याए ।

निर्धारित ९० मिनेटमा नतिजा ननिस्किएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुबै टोलीले थप गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको हो । पेनाल्टीमा सोसिडाडले उत्कृष्ट प्रदर्शन गर्दै ४–३ को जित निकाल्यो र उपाधि आफ्नो नाममा पार्न सफल भयो ।

यो जितसँगै रियल सोसिडाडले इतिहासमा चौथोपटक कोपा डेल रे उपाधि जित्दै आफ्नो उपलब्धि थप मजबुत बनाएको छ भने एटलेटिको मेड्रिड महत्वपूर्ण उपाधिबाट वञ्चित हुन पुग्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया