काठमाडौँ,१० वैशाखः नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको अपेक्षाअनुरूप सेवा प्रवाहमा कुनै पनि कमीकमजोरी नहुने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीसँगको बैठकमा प्रहरी महानिरीक्षक कार्कीले सरकारद्वारा लागू गरिएका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटना हुन नदिन लाग्नुपर्ने बताउनुभयो । उहाँले सूचना सङ्कलन तथा विश्लेषणलाई प्राथमिकतामा राखी सोहीअनुरूप आवश्यक सुरक्षा रणनीति अपनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
लागुऔषध उत्पादन, ओसारपसार तथा कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा सेवनकर्तालाई लक्षित गरी सुधारात्मक कार्यक्रम गर्न प्रहरी थप क्रियाशील हुनुपर्ने प्रहरी महानिरीक्षक कार्कीको भनाइ थियो । उहाँले सीमानाकामा हुनसक्ने आपराधिक गतिविधि एवं तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्नुपर्ने बताउनुभयो । गुण्डागर्दीविरूद्ध थप निर्मम रूपमा प्रस्तुत हुन उहाँले निर्देशन दिनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले परिवर्तनलाई आत्मसात् गरी सोहीअनुरूप समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीको सक्रियता तथा प्रभावकारिता अझ वृद्धि गर्न जरूरी रहेको उल्लेख गर्नुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकतामा राखी नागरिक सुनुवाइ कार्यक्रममार्फत उचित सूचनाहरू प्रवाह गरी नागरिकले महसुस गर्नसक्ने गरी प्रहरीले सेवा दिनुपर्ने उहाँले बताउनुभयो ।
नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले समसामयिक विषयमा निर्देशन दिनुभयो । कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले, प्रहरी वरिष्ठ उपरीक्षकलगायत प्रदेश कार्यालय र जिल्ला कार्यालयका प्रमुखहरुको भर्चुअल उपस्थिति थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया