कैलाली । युथ अफ टीकापुरले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता यही यही वैशाख २५ गतेदेखि हुन लागेको हो ।
अध्यक्ष अभिशेख शाहले हरेक वर्ष क्रिकेट प्रतियोगिता गर्दै आए पनि यस वर्षदेखि फुटबललाई जोड दिइएको बताए ।
‘हामीले क्रिकेट प्रतियोगिता हरेक वर्ष गर्दै आएका थियौँ,’ उनले भने, ‘यस वर्षबाट फुटबल प्रतियोगितालाई पनि जोडेका छौँ । ’
प्रतियोगिताको उपाधि जित्ने टोलीले दुई लाख दुई हजार २२२ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ११ हजार १११ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु १० हजार ५०० प्राप्त गर्नेछ । त्यसैगरी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही पाँच हजार ५०० पुरस्कार प्रदान गरिने क्लबका कोषाध्यक्ष दीपक रिमालले दिए ।
उनका अनुसार महिला फुटबलको हकमा ठूलो राशिको पहिलो प्रतियोगिता आयोजना हुन लागेको छ । प्रतियोगितामा देशभरबाट १६ महिला टोलीको सहभागिता रहनेछ ।
युथ अफ टीकापुरका खेलाडी सीमा बयकले विद्यालयबाट बाहिर गएर प्रतियोगिताहरुमा सहभागी भए पनि आफ्नै खेलमैदानमा प्रतियोगिता हुनु खेलाडीका लागि गर्वको विषय भएको बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया