बैसाख १५, २०८३ मंगलबार April 28, 2026

पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुञ्ज

निकुञ्ज घुम्न आउने पर्यटकहरूको अवलोकन र घुमफिरका लागि निकुञ्जको जङ्गलभित्र एक दर्जन ‘भ्यु टावर’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागमती। नेपालमा पाइने रैथाने हात्तीको प्रमुख वासस्थान मानिएको पर्सा राष्ट्रिय निकुञ्जमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

प्राकृतिक सुन्दरतासँगै वन्यजन्तुको गर्न सकिने जैविक विविधताको धनि मानिएको सो निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटकहरू आउने क्रम बढेको हो ।

पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई गत २०७४ सालमा नेपालको १२ औँ निकुञ्जको रुपमा घोषणा गरिएको थियो । पर्सासहित बारा र मकवानपुर जिल्लासँग जोडिएको सो निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको लागि खुल्ला गरिएको छ । “विगतको भन्दा अहिले निकुञ्जमा आन्तरिक तथा छिमेकी मुलुक भारतका पर्यटकहरू क्रम बढेको छ”, निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले भन्नुभयो, “बाह्यभन्दा आन्तरिक पर्यटक धेरै आउने गरेका छन् ।”

उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको अवधिमा ४१३ जना पर्यटक आएका छन् । निकुञ्ज घुम्न आउने पर्यटकहरूमा सार्क मुलुकका १४ जना र सार्क बाहिरका एक जना विदेशी पर्यटक रहेको सूचना अधिकारी भगतले बताउनुभयो । “सरदर वार्षिक एक हजारको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न आउने गरेका छन्”, सूचना अधिकारी भगतले भन्नुभयो, “खासगरी कात्तिकदेखि चैत महिनासम्म बढी पर्यटक आउँछन्, वर्षा मौसम सुरु भएपछि बन्द हुन्छ । वैशाखदेखि असोज महिनासम्म पर्यटक खासै आउँदैनन्”, उहाँले भन्नुभयो ।

निकुञ्जभित्र ऐतिहासिक तथा प्राचीन माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिरजस्ता धार्मिकस्थल छन् भने कामिनी दह, हलखोरिया दह र लौकी दहजस्ता प्राकृतिक तथा मनोरम दहहरु पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनेको हो । “निकुञ्जभित्रको हरियाली मनोरम दृश्य र वन्यजन्तुहरूले पर्यटकलाई लोभ्याइरहेको छ”, स्थानीय सुभाष बुढाथोकीले भन्नुभयो, “यहाँ आउने पर्यटकहरू निकुञ्जभित्र घुम्ने र हात्ती सफारी गर्ने गर्छन् ।”

पानीको मुख्य समस्या देखिएको निकुञ्जभित्र पानीको सहजका लागि ठाउँ ठाउँमा कृत्रिम पोखरी निर्माण गरेसँगै ती पोखरीहरूमा ट्याङ्करबाट पानी हालेपछि पाटेबाघसहितका वनजन्तुहरुको सङ्ख्यासमेत वृद्धि भएको छ । निकुञ्जको पछिल्लो गणनाअनुसार निकुञ्जमा पाटेबाघको सङ्ख्या ४१ पुगेको छ ।

निकुञ्जले प्राकृतिक रुपमा कृत्रिम पोखरी निर्माण गरेपछि निकुञ्जमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएको निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाले बताउनुभयो । कूल ६२७ दशमलव ३९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको सो निकुञ्जभित्र दुर्लभ पाटेबाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाईजस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतलीहरूको वासस्थान छ ।

निकुञ्ज घुम्न आउने पर्यटकहरूको अवलोकन र घुमफिरका लागि निकुञ्जको जङ्गलभित्र एक दर्जन ‘भ्यु टावर’ समेत बनाइएको छ । यसैगरी पर्यटकलाई जङ्गल सफारी गर्न निकुञ्जको हात्तीसारमा एक दर्जन हात्ती राखिएका छन् । निकुञ्जभित्र ‘फायर–लाइन’ पनि भएकाले हात्तीको जङ्गल सफारी गर्न नचाहने पर्यटकले आफ्नो निजी सवारीमा जङ्गल सफारी गर्नसक्ने व्यवस्थासमेत मिलाइएको प्रमुख खतिवडाको भनाइ छ ।

निकुञ्जभित्र आउने नेपाली पर्यटकका लागि रु १००, सार्क मुलुकभित्रका पर्यटकका लागि रु ७५० र विदेशी पर्यटकका लागि रु एक हजार ५०० प्रवेश शुल्क निर्धारण गरिएको छ । यस्तै जिप सफारीका लागि रु दुई हजार ५०० र गाईडका लागि वार्षिक रु एक हजार ५०० शुल्क तोकिएको प्रमुख खतिवडाले बताउनुभयो । निकुञ्जलाई मधेस प्रदेशकै पर्यटकीय गन्तव्य बनाउन निकुञ्ज कार्यालयले आवश्यक भौतिक पूर्वाधारको निर्माणसँगै प्रचारप्रसारलाई समेत प्राथमिकतामा राखेको जनाएको छ ।राजु विश्वकर्मा/रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेसबुक मोनिटाइजेसनमा नेपालीलाई सशक्त बनाउँदै एमडिआर टिम
२०८३ बैसाख १५, मंगलबार
कानुन विपरीतका सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु
२०८३ बैसाख १५, मंगलबार
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
२०८३ बैसाख १५, मंगलबार
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
२०८३ बैसाख १५, मंगलबार
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
२०८३ बैसाख १५, मंगलबार
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
२०८३ बैसाख १५, मंगलबार
पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुञ्ज
२०८३ बैसाख १५, मंगलबार