कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल

लगानीमैत्री वातावरण निर्माण गर्न सरकारलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २१ वैशाखः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

महासङ्घको ६०औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विगतमा विभिन्न चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने प्रयास गरिएको उल्लेख गर्दै नयाँ अवसरहरूको खोजीमा निजी क्षेत्र सक्रिय रहेको बताउनुभयो । “हामीले निराशालाई आशामा बदल्ने प्रयास गरेका छौँ, धेरै क्षेत्रमा सफल पनि भएका छौँ,” उहाँले भन्नुभयो ।

ढकालले पछिल्लो राजनीतिक परिवर्तनपछि स्थिर सरकार गठन हुनु आर्थिक सुधारका लागि सकारात्मक सङ्केत भएको बताउनुभयो । झन्डै दुई तिहाइ समर्थनसहित सरकार गठन भएको सन्दर्भ उल्लेख गर्दै उहाँले यसलाई नीतिगत स्थायित्व र विकासका लागि प्रयोग गर्न आग्रह गर्नुभयो ।

महासङ्घको पहलमा निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि पारित गरिएको रणनीतिप्रति सरकारको प्रतिबद्धताप्रति धन्यवाद व्यक्त गर्दै ढकालले यसले निजी क्षेत्रको मनोबल उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो । “निजी उद्यमीलाई भौतिक मात्र होइन, नीतिगत सुरक्षाको प्रत्याभूति आवश्यक छ,” उहाँले भन्नुभयो ।

दोस्रो चरणको आर्थिक सुधारका लागि गठित उच्चस्तरीय आयोगका सुझावहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै ढकालले आवश्यक कानुनी संशोधन, परिमार्जन तथा खारेजी प्रक्रियालाई तीव्र बनाउन आग्रह गर्नुभयो । महासङ्घले यसअघि नै आर्थिक रूपान्तरणका लागि कानुनी सुधारको माग गर्दै आएको उहाँको भनाइ छ ।

ढकालले नेपालमा हाल ठूलो आर्थिक अवसर उपस्थित भएको उल्लेख गर्दै राजनीतिक स्थायित्वलाई विकास र रोजगारी सिर्जनामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “निजी क्षेत्रलाई सम्मानित र सुरक्षित वातावरणमा काम गर्न दिइयो भने नेपालसँग तीव्र आर्थिक प्रगतिको पर्याप्त सम्भावना छ,” उहाँले भन्नुभयो ।

नेपालको जनसङ्ख्याको औसत उमेर करिब २५ वर्ष रहेको र छिमेकी भारत र चीन जस्ता ठूला बजार नजिक हुनु मुलुकका लागि अवसर भएको ढकालले बताउनुभयो । साथै विकसित मुलुकहरूमा भन्साररहित पहुँचका कारण नेपाली उत्पादन विश्व बजारमा प्रतिस्पर्धी बन्न सक्ने उहाँको धारणा छ ।

देशभित्र पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा हरेक वर्ष करिब सात लाख युवा विदेशिन बाध्य भएकामा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “उच्च ज्यालासहितको रोजगारी सृजना नगरेसम्म निराशालाई आशामा बदल्न सकिँदैन ।”

ढकालले नेपाल र दक्षिण कोरियाबीचको प्रतिव्यक्ति आयको तुलना गर्दै सुधारको गति अपेक्षाभन्दा कम रहेको स्वीकार गर्नुभयो । “हामीले प्रगति त गरेका छौँ, तर सम्भावनाअनुसारको उपलब्धि हासिल गर्न सकेका छैनौँ,” उहाँले भन्नुभयो ।

पछिल्लो समय मध्यपूर्वमा देखिएको सङ्कटले नेपालको अर्थतन्त्रमा जोखिम बढाएको उल्लेख गर्दै उहाँले पर्यटन, रेमिट्यान्स र इन्धन लागतमा असर परेको बताउनुभयो । यस्तो अवस्थामा अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने उहाँको भनाइ छ ।

ढकालले हाल देशको कुल रोजगारीमध्ये करिब ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरिरहेको उल्लेख गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो । “अत्यधिक नियमनका कारण लगानी वातावरण प्रभावित भएको छ,” उहाँले भन्नुभयो ।

बङ्गलादेश, रुवान्डा, कम्बोडिया, भियतनाम र लाओसजस्ता मुलुकहरूले निजी क्षेत्रलाई प्रोत्साहन दिएर तीव्र आर्थिक प्रगति हासिल गरेको उदाहरण प्रस्तुत गर्दै ढकालले नेपालले पनि त्यही बाटो अपनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले लगानी वृद्धि, प्रविधिको उच्चतम प्रयोग, सदाचार प्रवद्र्धन र उत्पादनमूलक क्षेत्रको विस्तारमार्फत आर्थिक सुधारलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । साथै, स्वदेशी पुँजी परिचालनका लागि लगानी कम्पनी स्थापना गर्ने महासङ्घको योजना कार्यान्वयनमा रहेको जानकारी पनि दिनुभयो ।

ढकालले सरकार र निजी क्षेत्रबीच सहकार्य सुदृढ गर्दै मुलुकको आर्थिक विकासलाई नयाँ उचाइमा पु¥याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार