काठमाडौँ, २१ वैशाख : संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले आज राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाएको छ ।
समितिका संयोजक दलजित श्रीपालीसहितको प्रतिनिधिमण्डलले सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भेट गरी सिन्धुलीको खुर्कोट प्रहरी हिरासतमा मृत्यु भएका युवा श्रीकृष्ण विकको न्यायसहित देशव्यापी रूपमा दलित समुदायमाथि भएका सार्वजनिक अपमान, कुटपिट दमन तथा हत्याको विरोध स्वरूप ज्ञापनपत्र बुझाएको हो ।
अध्यक्ष दाहालले न्यायका लागि सम्बन्धित निकाय समक्ष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दलित समुदायका राजनीतिक नेता तथा नागरिक समाजका अगुवाहरुले देशका विभिन्न स्थानमा दलित समुदायमाथि भएका जातीय विभेदको घटनाको विरोधमा आइतबार माइतीघर मण्डलामा प्रदर्शनसमेत गरेका थिए ।
यही वैशाख ३ गते ललितपुरको सातदोबाटोबाट पक्राउ परेका कृष्ण विकलाई इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीमा राखिएको थियो । उनी ७ गते बिहान त्यहाँस्थित चौकीभित्रै मृत भेटिएका थिए ।
त्यसैगरी यही वैशाख ११ गते रोल्पाको गङ्गादेव गाउँपालिका–५ फुलवासका भीमबहादुर खत्रीले १० वर्षीय अवोध बालक खगेन्द्र विकमाथि गरेको कुटपिटको निष्पक्ष छानबिन गरी कानुनअनुसार हदैसम्मको कारबाहीको माग गरिएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया