पोखरा । नेपाल पुलिस क्लबले प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा आज (आइतबार) भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई सडेन डेथमा पराजित गर्दै उपाधि सहित पुलिसले ५ लाख रुपैयाँ प्राप्त गर्यो ।
प्रतियोगिताको फाइनल खेलमा १० खेलाडीमा सीमित भएको आर्मीसँग निर्धारित समय ९० मिनेटमा गोल गर्न नसके पछि पुलिसले जित निकाल्न सडेन डेथको सहारा लिनु पर्यो । निर्धारित समयमा दुवै तर्फ गोल हुन नसके पछि खेल टाईब्रेकरमा पनि दुवै तर्फ ४—४ गोल भए पछि खेल सडेन डेथमा पुगेको हो ।
पहिलो हाफको २७ मिनेटमै आर्मी १० खेलाडीमा सीमित भएको हो । पुलिसकी निर्मला विकले बल अघि बढाउने क्रममा आर्मीकी डिफेन्डर विमला विकले डि एरिया नजिक लडाएपछि रातो कार्ड पाउनु भएको थियो । खेलमा नेपाल पुलिसकी समीक्षा घिमिरे प्लेयर अफ दि म्याच घोषित हुनुभयो ।
पुलिसकी निर्मला सर्वोत्कृष्ट
प्रतियोगितामा विधागत पुरस्कारतर्फ पनि पुलिसकै दबदबा रह्यो । पुलिसकी निर्मला विक सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ३० हजार रुपैयाँ प्राप्त गर्नु भयो । त्यस्तै उत्कृष्ट गोलरक्षकमा पुलिसकी उषा नाथ, सर्वाधिक गोलकर्ता तर्फ रेखा पौडेल घोषित हुनुभयो । रेखाले जारी प्रतियोगितामा कुला पाँच गोल गर्नु भएको थियो । पहिलो खेलमा आयोजक विरुद्ध उनले पाँच गोल गर्नु भएको थियो । उत्कृष्ट दुवैले समान १५ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
अनुशासित टिमको पुरस्कार आर एस पोखरा फुटबलले प्राप्त ग¥यो । तीन दिनसम्म चलेको प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा पुलिस, आर्मीसँगै सङ्कटा र आयोजक आर.एस. पोखरा फुटबल क्लबको सहभागिता रहेको थियो । पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापा, एसएसपी तुलबहादुर कार्की, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ लगायतले पुरस्कार वितरण गर्नु भएको आयोजक संस्थाका अध्यक्ष रमेश कार्कीले बताउनु भयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया