काठमाडौं । नेपालको पर्यटन क्षेत्रका लागि वसन्त ऋतु अर्थात् अप्रिल महिना पर्वतारोहण र पदयात्राको मुख्य सिजन मानिन्छ । तर, सन् २०२६ को अप्रिल महिनामा भने अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्यांकले केही उत्साहजनक त केही चिन्ताजनक दृश्यहरू प्रस्तुत गरेको छ । नेपाल पर्यटन बोर्ड र अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस वर्षको अप्रिलमा पर्यटक आगमनमा अघिल्लो वर्षको तुलनामा ७.३ प्रतिशतले गिरावट आएको हो ।
सन् २०२५ को अप्रिलमा एक लाख १६ हजार ४९० पर्यटक नेपाल भित्रिएकोमा सन् २०२६ को सोही अवधिमा यो संख्या एक लाख सात हजार ९३४ मा खुम्चिएको छ । यो संख्या कोरोना महामारी पूर्वको वर्ष २०१९ को तुलनामा पनि १.३ प्रतिशतले कम हो । अन्तर्राष्ट्रिय स्तरमा, विशेषगरी पश्चिम एसियामा भइरहेको द्वन्द्वका कारण हवाई पहुँचमा पुगेको अवरोध र पर्यटन प्रवर्द्धनमा परेको असरलाई यो गिरावटका मुख्य कारण मानिएको छ ।
क्षेत्रगत रूपमा हेर्दा नेपालको पर्यटन बजारमा दक्षिण एसियाली मुलुक (सार्क) को हिस्सा सबैभन्दा बलियो देखिएको छ । कुल आगमनमध्ये ३१ प्रतिशत अर्थात् ३३ हजार ४३२ पर्यटक सार्क क्षेत्रबाट मात्रै आएका छन् । मुलुकगत रूपमा भारत सधैँझै प्रमुख स्रोत बजार बनेको छ, जहाँबाट २५ हजार १९६ पर्यटक नेपाल आएका छन् । यस्तै, चीनबाट हुने आगमनमा भने सुधार देखिएको छ । अघिल्लो वर्ष नौ हजारको हाराहारीमा चिनियाँ पर्यटक आएकोमा यस वर्ष ११ हजार ७२२ पुगेको छ ।
यसले नेपालको पर्यटन बजार विस्तारै बहुस्रोततर्फ विस्तार भइरहेको संकेत गरे पनि टाढाका गन्तव्यहरू जस्तै अमेरिका र युरोपबाट हुने आगमनमा भने ठूलो गिरावट देखिएको छ । बोर्डका अनुसार विशेषगरी अमेरिकाबाट आउने पर्यटकको संख्यामा देखिएको संकुचनले समग्र तथ्यांकलाई प्रभावित पारेको हो । हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया