काठमाण्डाैंः कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोप लागेका तत्कालीन माओवादी सेनाका ब्रिगेडियर कमान्डर गोविन्दबहादुर बटालासहित दुईजनालाई सफाइ दिने सर्वोच्च अदालतको फैसलामाथि फेरि सुनुवाइ हुने भएको छ। न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको पूर्ण इजलासले मुद्दा पुनरवलोकनका लागि अनुमति दिने निर्णय बिहीबार गरेको हो।
सर्वोच्चले २०७६ फागुन १८ मा बटाला र अर्जुन कार्कीलाई सफाइ दिने फैसला गरेको थियो। न्यायाधीश तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले गरेको उक्त फैसलामाथि फेरि सुनुवाइ हुने भएको हो।
सरकारका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले फैसला पुनरवलोकनका लागि यही भदौ २६ मा निवेदन दर्ता गरेको थियो। बटालालाई सफाइ दिएको कानुनी आधार त्रुटिपूर्ण भएकाले उनी दोषी ठहर हुनुपर्ने महान्यायाधिवक्ता कार्यालयको निवेदनमा जिकिर छ। सरकारी वकिलको कार्यालयले बटालालाई जन्मकैद मागसहित यसअघि अभियोगपत्र दर्ता गरेको थियो।
बटालाले अधिकार प्राप्त अधिकारी र अदालतमा इन्कारी बयान गरेका, रामहरि श्रेष्ठलाई कुटपिट गरेको भन्ने मिसिलमा संलग्न कुनै पनि तथ्य प्रमाणबाट खुल्न नआएको ठहर गर्दै सर्वोच्चले सफाइ दिएको थियो। ‘बटालाले श्रेष्ठसमेतलाई चोरी भएको विषयमा छानबिन गर्न कोटेश्वरबाट चितवनस्थित शक्तिखोरसम्म लगेकोमा शक्ति प्रयोग गरेर कुनै केरकार गरेको पनि देखिँदैन,’ सर्वोच्चले यसअघिको फैसलामा भनेको छ, ‘लासलाई नारायणी नदीमा फाल्ने कार्यमा बटालाको सहमति भएको र निजले लासलाई नारायणी नदीमा फालेको कार्यसमेत गरेको नदेखिएको।’
बटाला कोटेश्वरका व्यापारी श्रेष्ठलाई अपहरण गरी काठमाडौंबाट चितवनसम्म लगेर हत्या गर्न संलग्न रहेको अभियोगपत्रमा उल्लेख छ। आरोपितमध्येका अर्जुन कार्कीलाई जिल्ला र पुनरावेदन अदालतकै फैसला सदर गरी जम्मा २० रुपैयाँ जरिबाना गर्ने ठहर सर्वोच्चले गरेको थियो। बटालाले यसअघि ३ वर्ष १५ दिन कैद भुक्तान गरिसकेका छन्।
चोरीको घटनासँगै जोडिए पनि २०६५ वैशाख ७ मा प्रतिवादी गोविन्दबहादुर बटालाको नेतृत्वमा केरकार गरी वैशाख १५ गते आधा रातमा अपहरण गरी रामहरि श्रेष्ठलाई शक्तिखोर चितवनसम्म लगिएको महान्यायाधिवक्ता कार्यालयको पुनरवलोकन निवेदनमा दाबी छ।
‘श्रेष्ठलाई कुटपिट र हत्या गरी लास नै फेला नपरोस् भन्ने नियतले ढुंगा बाधेर नारायणी नदीमा फालिदिनेसम्मका काममा प्रतिवादीहरुको संलग्नता रहेको’, निवेदनमा दाबी छ, ‘अभियोग दाबीबमोजिम कसुर अपराधको दायित्वबाट उन्मुक्ति लिने उद्देश्यले निर्दोषिताको भ्रम सिर्जना गर्ने पूर्वतयारीका साथ बटालामात्र अनुसन्धानको दायरामा आएका रहेछन् भन्ने स्पष्टै खुलेको पाइन्छ।’
सवारीचालकको भूमिकामा रहेका संकल्प भन्ने अर्जुन कार्की, गंगाराम र केशवसमेत शक्तिखोरबाट भालुढुंगासम्म बटालाको मातहतमा सँगसगै रहेको दाबी छ। मृतक श्रेष्ठकी श्रीमती रमिलाले २०६५ वैशाख ३१ मा महानगरीय प्रहरीवृत्त नयाँबानेश्वरमा पतिको खोजतलास गरी पाऊँ भनी निवेदन दिएकी थिइन्। नागरिक दैनिकबाट ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया