बैसाख २२, २०८३ मंगलबार May 5, 2026

इन्डियन प्रिमियर लिग : मुम्बईले लखनउलाई ६ विकेटले हरायो

पराजित लखनऊ सुपर जायन्ट्स ९ खेलबाट ४ अंकका साथ अंक तालिकाको पुछारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार राति सम्पन्न रोमान्चक भिडन्तमा मुम्बई इन्डियन्सले लखनऊ सुपर जायन्ट्समाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ।

मुम्बईस्थित घरेलु मैदान वाङ्खेडे स्टेडियममा भएको उच्च स्कोरको खेलमा मुम्बईले २ सय २९ रनको विशाल लक्ष्य १८.४ ओभरमै ४ विकेट गुमाएर सफलतापूर्वक पूरा गर्‍यो। अत्यन्तै आक्रामक शैलीमा प्रस्तुत भएको मुम्बईले ८ बल बाँकी छँदै लक्ष्य भेटाएपछि खेल निकै रोमाञ्चक बनेको थियो।

मुम्बईको यो विशाल जितमा ओपनर र्यान रिकेल्टन र कप्तान रोहित शर्माको प्रदर्शन निर्णायक बन्यो। रिकेल्टनले मात्र ३२ बलमा ८३ रनको विष्फोटक इनिङ्स खेल्दै लखनउका बलरहरूलाई निरिह बनाएका थिए।

उनले मैदानको चारैतिर चौका र छक्काको वर्षा गर्दै टोलीलाई आक्रामक सुरुवात दिलाए, जसका कारण उनले ‘प्लेयर अफ द म्याच’ को उपाधि समेत हात पारे।

रिकेल्टनलाई अर्का ओपनर रोहित शर्माले राम्रो साथ दिए। रोहितले ४४ बलमा ८४ रनको योगदान दिँदै पहिलो विकेटका लागि रिकेल्टन सँग १ सय ४३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनऊ सुपर जायन्ट्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २८ रनको बलियो योगफल तयार पारेको थियो।

लखनउका ब्याटरहरूले उत्कृष्ट प्रदर्शन गर्दै ठूलो स्कोर खडा गरे पनि मुम्बईका ब्याटरहरूको आक्रामक शैली सामु उक्त स्कोर पर्याप्त हुन सकेन। मुम्बईले खेलको अन्त्यतिर केही विकेट गुमाए पनि लक्ष्य प्राप्त गर्न कठिन परेन।

यो जितसँगै १० खेल खेलेको मुम्बई इन्डियन्सले ६ अंक जोड्दै आफ्नो अवस्थामा केही सुधार गरेको छ। अर्कोतर्फ, पराजित लखनऊ सुपर जायन्ट्स ९ खेलबाट ४ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ।

वाङ्खेडेको ब्याटिङ मैत्री पिचमा मुम्बईले देखाएको यो विष्फोटक प्रदर्शनले आगामी खेलहरूका लागि टोलीको मनोबल उच्च बनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया