बैसाख २२, २०८३ मंगलबार May 5, 2026

एक वर्षअगावै स्थानीय चुनावमा होमियो रास्वपा

उम्मेदवार क्लबमा सूचीकृत व्यक्ति पार्टीको राजनीतिमा सक्रिय हुनुपर्ने बाध्यता नरहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : स्थानीय तहको निर्वाचन आउन एक वर्ष बाँकी छ । तर, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिलेदेखि नै स्थानीय चुनावको तयारीमा लागेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको रास्वपाको सचिवालय बैठकले ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा २०८३’ पारित गरेको छ ।

प्रवक्ता मनीष झाका अनुसार ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा २०८३’ आगामी स्थानीय तहको निर्वाचनका लागि पार्टीका उम्मेदवार छनोट गर्ने विधि हो ।

स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा पारित गर्दै रास्वपाले उक्त रूपरेखालाई कार्यान्वयन गर्न पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

सात सदस्यीय समितिमा केन्द्रीय सदस्यहरू आरके ढुंगाना, समीक्षा बाँस्कोटा, केपी खनाल, कामिनी चौधरी, रामकृष्ण भट्टराई र रोहन कार्की सदस्य छन् । आरके ढुंगाना समितिको सदस्यसचिवको जिम्मेवारीमा छन् ।

अब यो समितिले आगामी स्थानीय तहको निर्वाचनका लागि पार्टीका उम्मेदवार छनोट गर्ने प्रक्रिया अगाडि बढाउनेछ । समितिले आइतबार नै स्थानीय तह उम्मेदवार छनोट रूपरेखाको मस्यौदा प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएको छ । जसअनुसार स्थानीय तह निर्वाचनमा रास्वपाबाट उम्मेदवार हुन इच्छुकले उम्मेदवार क्लब र लिडरसिप एकेडमीबाट उत्तीर्ण हुनुपर्छ ।

उम्मेदवार क्लब पूर्णतः स्थानीय तह केन्द्रित हुनेछ । पालिका तहमा उम्मेदवार हुन इच्छुकले उम्मेदवार क्लबमा नाम दर्ता गर्नेछन् । वडा अध्यक्ष, पालिका प्रमुख कार्यकारी पद हुन् ।

यसअघि २०८० साल मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीमा भएको केन्द्रीय र संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले नै उम्मेदवार क्लबको अवधारणा अघि सारेका थिए । त्यसअनुसार रास्वपाले थप प्रक्रिया औपचारिक रूपमै अगाडि बढाएको हो ।

नेताहरूका अनुसार स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष, पालिका प्रमुख तथा उपप्रमुखको उम्मेदवार हुन चाहनेहरू क्लबमा दर्ता हुनेछन् । क्लबमा दर्ता भएकालाई पार्टीले प्रशिक्षित गर्नेछ । उम्मेदवार हुन चाहेका व्यक्तिलाई जिम्मेवारीमा पुगेपछि गर्नुपर्ने कामबारे प्रशिक्षण दिइनेछ । उम्मेदवार क्लब उम्मेदवार हुन इच्छुकलाई पूर्वतयारी गर्ने विधि हो ।

उम्मेदवार क्लबमा दर्ता हुनेले निर्वाचित भएको अवस्थामा आफूले गर्ने कार्य पार्टीसमक्ष प्रस्तुत गर्न सक्नुपर्दछ । उम्मेदवार क्लबमा सूचीकृत व्यक्ति पार्टीको राजनीतिमा सक्रिय हुनुपर्ने बाध्यता रहने छैन ।मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया