बैसाख २३, २०८३ बुधबार May 6, 2026

जग्गाको नब्बे प्रतिशत काम स्थानीय तहबाटै

चालु आर्थिक वर्ष २०८२/८३ भित्रै नापी र मालपोतको काम स्थानीय तहमा पठाउने गरी काम धमाधम हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख २३ गते । नापी र मालपोत कार्यालयबाट दैनिक रूपमा सेवाग्राहीले लिँदै आएका ९० प्रतिशत काम अब स्थानीय तहबाटै हुने भएका छन् । जग्गा पारित गर्ने, नक्सा प्रिन्ट लिने, जग्गाको बैङ्क रोक्का राख्ने, बैङ्क फुकुवा गर्ने, लिखत पारित गर्ने, अंशबन्डा गर्नेलगायतका स्वामित्व हस्तान्तरणका काम स्थानीय तहबाटै हुने छन् । त्यस्तै जग्गा किनबेचको राजीनामा, कित्ताकाट रेखाङ्कनसम्बन्धी काम पनि स्थानीय तहबाटै हुने छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक साताअघि नापी तथा मालपोत कार्यालयको सेवा स्थानीय तहबाटै दिन इच्छुक स्थानीय तहलाई सहभागी हुन सूचना आह्वान गरेको थियो । उक्त सूचना अनुसार गाउँपालिकादेखि महानगरपालिकासम्म गरी २१४ वटा स्थानीय तहले नापी र मालपोतबाट हुने सेवा स्थानीय तहबाटै गर्न इच्छुक भएसँगै अहिले नापी र मालपोतबाट दैनिक रूपमा हुँदै आएका ९० प्रतिशत काम अब स्थानीय तहबाट हुने मन्त्रालयले जनाएको छ । मोहियानी छुट्याउने र जग्गा दर्ता गर्न छुट भएका जग्गाको छुट दर्ता गर्ने काम स्थानीय तहबाट हुँदैन । सो काम नापी र मालपोत कार्यालयबाटै हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले भन्नुभयो, “भइरहेको जग्गामा नयाँ स्वामित्व कायम हुने कामचाहिँ स्थानीय तहमा जाँदैन तर भइरहेको स्वामित्व हस्तान्तरण गर्ने कामचाहिँ स्थानीय तहमा जान्छ । त्यसो हुँदा अहिले दैनिक रूपमा नापी र मालपोत कार्यालयमा हुने अधिकांश काम स्थानीय तहमा जान्छन् ।”

स्थानीय तहसँग नापी र मालपोतको काम गर्न सक्ने जनशक्तिको भएका र आफ्नै लगानीमा पूर्वाधार तयार गर्न सक्ने स्थानीय तहलाई मन्त्रालयले सूचनामार्फत आह्वान गरेको थियो । सो आह्वान अनुसार २१४ वटा स्थानीय तह इच्छुक भएको उहाँले बताउनुभयो ।

अब मन्त्रालयले केही दिनभित्रमा मालपोत र नापीको काम गर्न इच्छुक २१४ वटै स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरी सेवा सञ्चालनका लागि आवश्यक स्रोतसाधन र जनशक्ति पूर्वानुमान गरी तयारी गर्न समय दिने छ । उक्त काम स्थानीय तहले कति समयमा गर्न सक्छन् सोका आधारमा अहिले नापी र मालपोत कार्यालयबाट हुँदै आएका अधिकांश काम स्थानीय तहमा हस्तान्तरण हुने छ । चालु आर्थिक वर्ष २०८२/८३ भित्रै नापी र मालपोतको काम स्थानीय तहमा पठाउने गरी मन्त्रालयले गृहकार्य गरिरहेको भट्टले स्पष्ट पार्नुभयो ।

अब स्थानीय तहका कर्मचारीलाई नापी र मालपोतसम्बन्धी कामका लागि तालिम दिने, मालपोत र नापीको काम स्थानीय तहमा गइसकेपछि पुनः नापी र मालपोतकै कार्यालयमा काम फिर्ता हुन नपर्ने गरी कर्मचारीलाई दक्ष बनाएर मात्र सेवा स्थानीय तहमा पठाउने तयारी मन्त्रालयको छ ।

त्यस्तै जिल्लास्थित नापी तथा मालपोतका अधिकारीले तत्कालै स्थानीय तहमा पुगेर स्थलगत अनुगमन गरी वस्तुस्थिति जानकारी गराउने छन् । त्यसपछि नापी तथा मालपोतको सेवा प्रवाहका लागि स्थानीय तहलाई आवश्यक प्राविधिक तथा प्रशासनिक जनशक्ति व्यवस्थापन गर्ने मन्त्रालयले जनाएको छ । मालपोत तथा नापीसम्बन्धी सेवा प्रदान गर्ने क्रममा स्थानीय तहलाई कुनै कठिनाइ उत्पन्न भए सम्बन्धित स्थानीय तहलाई सहजीकरण गर्ने मन्त्रालयले जनाएको छ ।

नापी विभागका सूचना अधिकारी दयानन्द जोशीले नापी र मालपोतको काम स्थानीय तहमा गएसँगै स्थानीय तहका कर्मचारीलाई आवश्यक तालिम दिन नापी विभागसँग पर्याप्त जनशक्ति भएको बताउनुभयो । “सरकारले स्थानीय तहका कर्मचारीलाई नापीको कामसम्बन्धी तालिम दिनका लागि आग्रह गरे विभागसँग पर्याप्त जनशक्ति छन्,” उहाँले भन्नुभयो ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर
२०८३ बैसाख २३, बुधबार
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
२०८३ बैसाख २३, बुधबार
निजी क्षेत्रमैत्री सुधार र लगानी वातावरण निर्माणमा मेरो कार्यकाल सफल : चन्द्रप्रसाद ढकाल (अन्तवार्ता)
२०८३ बैसाख २३, बुधबार
एट्लेटिकोलाई २-१ गोलले हराउँदै आर्सनल च्याम्पियन्स लिगको फाइनलमा
२०८३ बैसाख २३, बुधबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
२०८३ बैसाख २३, बुधबार
बिपी राजमार्गः जानकारी लिएर मात्र यात्रा गर्न आग्रह
२०८३ बैसाख २३, बुधबार
अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
२०८३ बैसाख २३, बुधबार