कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

संसद् बैठक आह्वानसँगै बजेट लेखनको चटारो

आम नागरिकलेसमेत बजेटमा सुझाव दिनसक्ने व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, वैशाख २५ गते । सरकारले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेसँगै आगामी आर्थिक वर्षको बजेट लेखनको आवश्यक तयारी पनि तीव्र पारिएको छ । यही वैशाख २८ गतेका लागि सङ्घीय संसद्को बैठक बोलाइएको छ । वर्षे अधिवेशनका रूपमा लिइने यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुन्छ ।

हरेक वर्ष जेठ १५ गते सङ्घीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहँदै आएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बजेट अधिवेशनका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । बजेट प्रस्तुत गर्ने समय नजिकिएपछि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले छलफललाई तीव्र पार्नुभएको छ ।

यस पटकको बजेटलाई रुपान्तरणकारी बनाउने सरकारको तयारी रहेको छ । मुलुकको अर्थतन्त्रलाई गति दिने र सुधारलाई नयाँ चरणमा लैजाने उद्देश्यका साथ अर्थमन्त्रीले विभागीयमन्त्री र सचिवसँग छलफल गरिसक्नुभएको छ । सबै मन्त्री र सचिवसँग एकसरो छलफल सकेर अर्थमन्त्री डा वाग्लेले सांसद तथा अन्य सरोकारवालासँग छलफललाई तीव्र पार्नुभएको छ ।

राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १८ खर्ब ९० अर्बबराबरको बजेट सिलिङ तय गरेको छ । अर्थमन्त्री डा वाग्लेले गत चैत तेस्रो सातामा नै राजस्व व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव उत्तर खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन गर्नुभएको थियो । सोही समितिले विनियोजन विधेयकको मस्यौदा तयार गर्ने काम गरिरहेको छ ।

समितिमा अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुख सदस्य रहेका छन् । यस पटकको बजेट सन्तुलित र नयायोचित हुने भन्दै अर्थमन्त्रीले बजेट माग्न धेरै दौडधुप नगर्न सांसदसँगको छलफलमा आग्रह गर्नुभएको छ । सरकारले स–साना आयोजनामा बजेट विनियोजन नगर्ने स्पष्ट पार्दै अर्थमन्त्रीले धेरै दौडधुप नगर्न यसअघि नै आग्रह गरिसक्नुभएको छ ।

बजेट निर्माणबारे अर्थमन्त्री वाग्लेसँग सांसदले दुर्गम क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न सांसदले जोड दिनुभएको छ । अर्थमन्त्री वाग्लेले मन्त्रालयबाट आएका योजना आवश्यक अध्ययन गरेर बजेटमा समावेश गरिने बताउँदै आउनुभएको छ । सरकारले अघि सारेका नीति तथा ‘वाचापत्र’मा उल्लेख गरिएका प्रतिबद्धतालाई समेत आधार बनाएर बजेट तयार गरिने अर्थमन्त्रीको भनाइ रहँदै आएको छ ।

आगामी जेठ १५ गते प्रस्तुत हुने बजेट समग्र नेपाल केन्द्रित गर्ने सरकारको तयारी छ । बजेट निर्माण प्रक्रियालाई बढी व्यवस्थित, पारदर्शी र परिणाम मुखी बनाउने उद्देश्य राखिएको छ । बजेटमा समावेश गरिने योजना सम्बन्धित मन्त्रालयबाटै आउनुपर्ने छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा समावेश गरिएका विषयलाई प्रतिविम्बित गर्ने तयारी छ । बजेट विनियोजनलाई केन्द्र, प्रदेश र स्थानीय तहबिच स्पष्टरूपमा छुट्याएर विकासलाई प्रभावकारी बनाइने छ ।

यस्तै, दुर्गम तथा पिछडिएका क्षेत्रलाई प्राथमिकतामा राखी बजेट विनियोजन गर्नुपर्नेमा जोड दिँदै सङ्घीय मन्त्रालय धाउनुपर्ने पुरानो अभ्यास अन्त्य गर्नुपर्ने सुझावसमेत प्राप्त भएको छ । सांसदले राखेका माग र प्रस्तावलाई लिखितरूपमा मन्त्रालयमै पठाइने र त्यसको प्राथमिकता सम्बन्धित मन्त्रालयले नै निर्धारण गर्ने व्यवस्था अघि सारिएको छ, जसले बजेट वितरण प्रक्रियालाई सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

त्यसो त अर्थ मन्त्रालयले बजेटमा आवश्यक सुझाव दिन यसअघि नै आह्वान गरिसकेको छ । आम नागरिकलेसमेत बजेटमा सुझाव दिनसक्ने व्यवस्था गरिएको छ । निजी क्षेत्रका छाता संस्था, सरोकारवाला निकायलेसमेत आवश्यक सुझाव तथा सल्लाह दिने छन् । रासस/रमेश लम्साल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा
२०८३ कार्तिक २४, मंगलबार
स्वर्णिम वाग्लेको अन्तर्राष्ट्रिय उपलब्धिप्रति रास्वपाद्वारा बधाई
२०८३ कार्तिक २४, मंगलबार
जन अधिकार पार्टीद्वारा सरकारसँग छठ पर्वमा तीन दिन सार्वजनिक बिदा दिन माग
२०८३ कार्तिक २४, मंगलबार
President and Vice President issue messages of best wishes on Nepal Sambat New Year 1147
२०८३ कार्तिक २४, मंगलबार
New generation should adopt Nepal’s unique art, tradition: Home Minister Gurung
२०८३ कार्तिक २४, मंगलबार
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार