असार ३०, २०८३ मंगलबार July 14, 2026

इरानको राष्ट्रिय फुटबल टोली टर्की प्रस्थान

विश्वकपअघि अन्तिम तयारीलाई व्यवस्थित बनाउने योजनाअनुसार टोलीले टर्कीमा प्रशिक्षण र मैत्रीपूर्ण खेल दुवै कार्यक्रम सञ्चालन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेहरान, ४ जेठ : सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिताअघि अन्तिम तयारीलाई तीव्र बनाउँदै इरानको राष्ट्रिय फुटबल टोली सोमबार टर्की प्रस्थान गरेको छ । संयुक्त राज्य अमेरिका जानुअघि मैत्रीपूर्ण खेल खेल्नुका साथै अमेरिकी भिसा प्रक्रियासमेत पूरा गर्ने उद्देश्यले टोली अन्टालिया पुगेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इरानी समाचार संस्था तस्निमका अनुसार राष्ट्रिय टोली सोमबार बिहान टर्कीको अन्टालियातर्फ प्रस्थान गरेको हो । टोलीमा प्रशिक्षक समूहसहित घरेलु लिगमा खेलिरहेका २२ खेलाडी समावेश छन् । विश्वकपअघि अन्तिम तयारीलाई व्यवस्थित बनाउने योजनाअनुसार टोलीले टर्कीमा प्रशिक्षण र मैत्रीपूर्ण खेल दुवै कार्यक्रम सञ्चालन गर्नेछ ।

मुख्य प्रशिक्षक अमिर घालेनोईले शनिबार टोली टर्कीमा रहँदा अमेरिकी भिसाका लागि आवश्यक प्रक्रिया पनि पूरा गरिने जानकारी दिनुभएको थियो । इरान र अमेरिकाबीचको जटिल राजनीतिक सम्बन्धका कारण भिसा प्रक्रिया टोलीका लागि विशेष चासोको विषय बनेको छ ।

संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने २०२६ विश्वकपमा इरानको सहभागिता दुई देशबीचको संवेदनशील राजनीतिक परिस्थितिका बीच हुँदैछ । फेब्रुअरी २८ बाट सुरु भएको ४० दिन लामो युद्धपछि इरान र अमेरिकाबीच हाल नाजुक युद्धविराम कायम छ ।

इस्लामिक क्रान्तिपछि अमेरिकी दूतावासमा भएको बन्धक सङ्कटका कारण अमेरिकाले सन् १९८० मा इरानसँग कूटनीतिक सम्बन्ध तोडेको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ, जसको प्रभाव खेलकुद गतिविधिमा समेत देखिने गरेको छ ।

इरानले टर्कीको अन्टालियामा कम्तीमा दुई मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ । टोलीका लागि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल व्यवस्थापन गर्ने कम्पनीका प्रमुख इरानी–क्यानेडियन साम मेहदिजादेहका अनुसार इरानले मे २९ मा गाम्बियाविरुद्ध खेल्ने खेल निश्चित भइसकेको छ । अर्को मैत्रीपूर्ण खेलबारे भने छलफल जारी रहेको बताइएको छ ।

इरानी फुटबल महासङ्घका अध्यक्ष मेहदी ताजले बिहीबारसम्म खेलाडीहरूको अमेरिकी भिसा जारी नभएको जानकारी दिनुभएको थियो । उहाँका अनुसार भिसा प्रक्रियाअन्तर्गत खेलाडीहरूले टर्कीमा औँठाछाप दिनुपर्ने व्यवस्था गरिएको छ ।

तर टोलीले अन्टालियाबाट अङ्कारासम्म करिब ३८० किलोमिटरभन्दा बढी यात्रा गर्न नपरोस् भन्ने चाहना राखिएको ताजले उल्लेख गर्नुभयो । त्यसैले प्रक्रिया सहज बनाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।

यसैबीच अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाका महासचिव म्याटियास ग्राफस्ट्रोमले शनिबार टर्कीमा इरानी फुटबल महासङ्घका पदाधिकारीसँग भेटवार्ता गर्नुभएको थियो । उक्त भेटलाई उहाँले ‘उत्कृष्ट र रचनात्मक’ भएको प्रतिक्रिया दिनुभयो ।

इरानी फुटबल महासङ्घका अध्यक्ष ताजले पनि बैठक सकारात्मक र रचनात्मक वातावरणमा सम्पन्न भएको बताउनुभयो । यद्यपि छलफलका विस्तृत विषय सार्वजनिक गरिएको छैन ।

विश्वकपका लागि अमेरिका पुगेपछि इरानी टोलीले एरिजोनाको टक्सनमा आफ्नो आधार शिविर स्थापना गर्नेछ । समूह ‘जी’ मा रहेको इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डविरुद्ध आफ्नो विश्वकप यात्रा सुरु गर्ने तालिका छ ।

त्यसपछि इरानले सोही सहरमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम समूह चरणको खेल सिएटलमा इजिप्टविरुद्ध खेल्नेछ । विश्वकपअघि भइरहेको टर्की भ्रमणलाई इरानी टोलीले खेल तयारी मात्र नभई, राजनीतिक तथा प्रशासनिक चुनौती व्यवस्थापनसँग पनि जोडेर हेरिएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार