काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार सम्पन्न खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किङ्गसलाई ५ विकेटले पराजित गर्दै प्लेअफ यात्रा सुनिश्चित गरेको छ । यस नतिजासँगै गुजरात टाइटन पनि आधिकारिक रूपमा प्लेअफमा पुगेको छ ।
चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो । घरेलु टोलीका ब्याटरहरूले मध्यम सुरुआत गरे पनि मध्यक्रमले जिम्मेवारीपूर्ण प्रदर्शन गर्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेका थिए ।
१८१ रनको लक्ष्य पछ्याएको हैदरावादले आक्रामक सुरुआत गर्दै खेलमा दबाब बनायो । टोलीका ओपनर तथा विकेटकिपर ब्याटर इशान किशानले उत्कृष्ट अर्धशतक प्रहार गर्दै ७० रन बनाए । उनले पारी सम्हाल्दै महत्वपूर्ण साझेदारी गरेका थिए । अन्तिम चरणमा हैदरावादका ब्याटरहरूले संयमित खेल प्रदर्शन गरेपछि टोलीले १९ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
यस जितसँगै हैदरावादले १३ खेलबाट १६ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लगातार प्रभावशाली प्रदर्शन गरिरहेको हैदरावाद यस सिजन उपाधि दाबेदार टोलीका रूपमा देखिएको छ । पराजित चेन्नई भने १३ खेलमा १२ अङ्कसहित छैटौँ स्थानमा सीमित बनेको छ । अब चेन्नईको प्लेअफ सम्भावना अन्य टोलीको नतिजामा निर्भर रहने अवस्था बनेको छ ।
यता, आईपीएल अन्तर्गत मंगलबार हुने अर्को खेलमा राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स आमनेसामने हुँदैछन् । उक्त खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया