काठमाण्डाैंः नेकपा प्रदेश पाँच संसदीय दलको बैठकले पार्टीले प्रदेश पाँचको राजधानी दाङ र नाम लुम्बिनी बनाउने प्रस्तावलाई समर्थन गरेर जाने निर्णय गरेको छ । शनिबार मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बसेको बैठकले प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावको पक्षमा लाग्ने निर्णय गरेको हो ।
नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सबैको भावनालाई समेटेर प्रदेशको राजधानी दाङ गराउने सरकारको निर्णयलाई मानेर अगाडि बढने बैठकले निष्कर्ष निकालेको जानकारी दिए । दाङको पक्षमा मतदान गर्नुपर्ने, पार्टीले ह्वीप जारी गर्ने र त्यसको विरुद्धमा उभिए कारवाही समे हुन निर्णय गरेको ढकालले जानकारी दिए ।
दीर्घकालसम्मको लागि हेरेर नयाँ सहरमा राजधानी बनाउने गरी दाङको पक्षमा दलले निर्णय गरेको बताए । ‘हाम्रो दलले निर्णय गर्यो । आइतबार हामी सर्वदलीय बैठक बस्छौ । यो विषयमा संसदमा पनि छलफल हुन्छ ।’ प्रदेशसभामा ८७ सांसदमध्ये नेकपामा ६१ जना छन् ।
यस्तै बैठकमा पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ राख्ने विषयमा चार जिल्लाका नेकपा सांसदले फरक मत राखेका छन् । बैठकमा बोल्दै सांसदले लिखित रुपमै असहमति जनाएका थिए । रुपन्देही, नवलपरासी, पाल्पा र कपिलवस्तुका सांसदले दाङमा राजधानी प्रस्ताव गर्नु गलत भएको बताए ।
रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, कमला विश्वकर्मा, तुल्सी चौधरी, विमला पन्थी, दीपा विक, कृष्ण न्यौपाने, थानकुमारी थापा, दधिराम न्यौपानेलगायतका सांसदले असहमित जनाउदै आफ्ना भनाइ राखेका थिए । राजधानी सार्ने निर्णय विरुद्ध बुटवलमा कांग्रेसले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । कांग्रेसले संसद घेराउ गर्नेसम्मको निर्णय गरेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया