जेठ ९, २०८३ शनिबार May 23, 2026

‘ढल्की ढल्की’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक

दिनेशचन्द्र थपलियाको शब्द सिर्जना रहेको यस गीतमा वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीको सङ्गीत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ ९ गते । गायक कृष्ण बिक र गायिका दीपिका बायम्बु मगरको स्वर रहेको ‘ढल्की ढल्की’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । लोकलयमा आधारित गीतका भिडियोमार्फत दर्शकको मन जित्न सफल गायक कृष्णले यस पटक छमछम नचाउने शैलीको गीत बजारमा ल्याउनुभएको हो ।

यस गीतको भिडियोमा चर्चित अभिनेत्री जुना सुन्दास र अभिनेता एवं निर्देशक प्रदीप लामाले अभिनय गर्नुभएको छ । दिनेशचन्द्र थपलियाको शब्द सिर्जना रहेको यस गीतमा वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीको सङ्गीत रहेको छ ।

एक प्रेमी जोडीको रोमान्टिक र रमाइलो प्रेम कहानीलाई निर्देशक प्रदीप लामाले कलात्मक शैलीमा भिडियोमार्फत प्रस्तुत गर्नुभएको छ । प्रदीपकै कोरियोग्राफी र अवधारणा (कन्सेप्ट) मा तयार भएको गीतको भिडियोमा अभिनेत्री जुना गज्जबसँग खुल्नुभएको छ भने प्रदीपले दमदार नृत्य प्रस्तुत गर्नुभएको छ । कृष्ण थापाको छायाङ्कन र सम्पादन रहेको ‘ढल्की ढल्की’ को भिडियो ‘गायक कृष्ण बिक अफिसियल’ युट्युब च्यानलबाट बजारमा आएको हो ।

डेढ दशकभन्दा बढी समयदेखि नेपाली सुगम तथा लोक सङ्गीत क्षेत्रमा सक्रिय गायक कृष्णका यसअघि ‘आँखा मार्ने’, ‘रातो टिकी’, ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’, ‘यानि माया’, ‘रानी माया’, ‘राधा पियारी’ र ‘नीरमाया’ सहित दुई दर्जनभन्दा बढी गीत बजारमा आइसकेका छन् । तीमध्ये उहाँका अधिकांश गीत श्रोता र दर्शकमाझ निकै लोकप्रिय छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया