काठमाडौँ, जेठ ९ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीका विचारहरूको समयअनुकूल थप विस्तार गरी प्रयोग गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
शनिबार आयोजित ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मदन भण्डारीका विचारहरू वर्तमान नेपाली राजनीतिमा अत्यावश्यक रहेको बताउनुभएको हो । उहाँले भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस र समयअनुकूल विकास गर्ने जिम्मेवारी युवाको काँधमा आएको उल्लेख गर्नुभयो । छोटो खुला राजनीतिक जीवनका बाबजुद मदन भण्डारीले नेपाली राजनीतिमा दीर्घकालीन वैचारिक प्रभाव छोड्न सफल भएको उहाँले प्रस्ट पार्नुभयो ।
उहाँका अनुसार मदन भण्डारीले स्थापित गर्नुभएको वैचारिक आधार, लोकतान्त्रिक संस्कृतिप्रतिको प्रतिबद्धता तथा राजनीतिक योगदान नेपाली राजनीतिक इतिहासका अमूल्य सम्पत्ति हुन् । उहाँले विगतका राजनीतिक घटनाक्रम र वैचारिक धाराको अध्ययनले भविष्यको दिशा पहिचान गर्न मद्दत गर्ने उल्लेख गर्नुभयो । लोकतन्त्र, राजनीतिक नैतिकता, सुशासन, सामाजिक न्याय तथा राष्ट्रिय एकताजस्ता विषय अहिले पुनः राष्ट्रिय बहसको केन्द्रमा रहेको बताउँदै उहाँले मदन भण्डारीले देखाउनुभएको बाटोमा हिँड्न आग्रह गर्नुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “आज विश्व समुदाय र नेपाल दुवै जटिल तथा बहुआयामिक चुनौतीको सामना गरिरहेका छन् । लोकतन्त्रप्रतिको आस्था, राजनीतिक नैतिकता, सार्वजनिक उत्तरदायित्व र जवाफदेहिता, सुशासन, सामाजिक न्याय तथा राष्ट्रिय एकताका प्रश्नहरू पुनः राष्ट्रिय बहसका प्रमुख विषय बनेका छन् । यस्तो अवस्थामा जननेता मदन भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस तथा समयअनुकूल तिनको थप विकास र प्रयोग गर्नु पनि युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ । लामो समय भूमिगत राजनीतिमा सक्रिय रहनुभएका जननेता मदन भण्डारीको खुला राजनीतिक जीवन अपेक्षाकृत छोटो रहे पनि उहाँले छोड्नुभएको वैचारिक प्रभाव र राजनीतिक योगदान दीर्घकालीन तथा प्रभावकारी रहिआएको छ । उहाँले देखाउनुभएको बाटो, स्थापित गर्नुभएको वैचारिक आधार तथा लोकतान्त्रिक संस्कृतिप्रतिको अटल प्रतिबद्धता नेपाली राजनीतिक इतिहासमा अमूल्य सम्पत्तिका रूपमा रहेका छन् ।”
यसैगरी, पूर्वराष्ट्रपति भण्डारीले सूचना तथा सञ्चार प्रविधिको तीव्र विकास भइरहेकाले आधुनिक प्रविधिको अधिकतम उपयोग गर्न युवाहरूलाई सुझाव दिनुभयो । उहाँले कृत्रिम बुद्धिमत्ता (एआई) लगायत विज्ञान र प्रविधिका नयाँ उपलब्धिहरूलाई सकारात्मक तथा रचनात्मक ढङ्गले आत्मसात् गर्दै दक्षता हासिल गर्नु आजको पुस्ताको प्रमुख दायित्व भएको बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया