गण्डकी, १० जेठ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउँदै अघि बढ्नुपर्ने बताउनुभएको छ । गणेशमान फाउन्डेसन गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित समसामयिक भूराजनीतिक विषयक अन्तक्र्रियामा उहाँले शक्ति राष्ट्रबीच भइरहेको द्वन्द्वका कारण विश्वको सामाजिक, आर्थिक क्षेत्र प्रत्यक्ष प्रभावित रहेको बताउनुभयो ।
विश्व परिवेश तीव्र रूपमा परिवर्तन भइरहेका बेला नेपालले सन्तुलित कूटनीतिक अपनाउँदै आर्थिक, सामाजिक र राजनीतिक स्थायित्व कायम गर्नुपर्ने जोड दिँदै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “राष्ट्रिय हितको संरक्षणका लागि सम्पूर्ण नेपाली एकताबद्ध हुनु अपरिहार्य छ ।”
फाउन्डेसनका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाले नेपालको स्वतन्त्रताको आन्दोलनमा गणेशमान सिंहले गर्नुभएको योगदान अतुलनीय भएको बताउनुभयो । व्यक्तिगत स्वार्थको पछि नलागी सिंहले गर्नुभएको त्याग र समर्पण भावी पुस्ताका लागि पनि प्रेरक भएको उहाँको भनाइ छ ।
बुद्धछिरिङ मोक्तान र आनन्दराज मुल्मीले लौहपुरुष गणेशमान सिंहले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा पुर्याउनुभएको अतुलनीय योगदानका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका राजनीतिक, सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको फाउन्डेसनका गण्डकी प्रदेशका सदस्य कुमार रानाले जानकारी दिनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया