दाङ, जेठ १३ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार संरक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोग सधैँ चनाखो र सक्रिय हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको २६औँ वार्षिकोत्सवका अवसरमा बुधबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले राज्यलाई सही मार्गमा डोर्याउने जिम्मेवारी आयोगको भएको बताउनुभयो ।
उहाँले मानव अधिकार संरक्षणको सुनिश्चितता घरबाटै सुरु हुनुपर्नेमा जोड दिनुभयो । साथै समाज सुधार आवश्यक रहेको उल्लेख गर्दै राज्यलाई मानव अधिकारप्रति जिम्मेवार बनाउनुपर्ने धारणा राख्नुभयो ।
भदौ २३ र २४ गते भएको घटनासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले सरकारले सार्वजनिक नगरे आयोग आफैंले सार्वजनिक गरेर न्याय सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले फरक राजनीतिक विचारका आधारमा निजी सम्पत्ति जलाइनु र सरकारी संरचनामा ठुलो क्षति पुग्नु दुःखद भएको बताउनुभयो । सरकारले नसकेको अवस्थामा आयोगले प्रतिवेदन सार्वजनिक गर्न साहस देखाउनुपर्ने उहाँको भनाइ थियो ।
वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकको मानव अधिकार हनन हुनु गम्भीर विषय भएको उहाँले उल्लेख गर्नुभयो । होल्डिङ सेन्टरको अवस्थाबारे पनि आयोगले अनुगमन गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा सभामुख तुलाराम घर्तीमगरले गलत दृष्टिकोण र सोचका कारण मानव अधिकार हननका घटना भइरहेको उल्लेख गर्दै आत्मसमीक्षा आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय प्रमुख सन्तोष आचार्यको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख सचिव कृष्णप्रसाद काप्री, राप्ती गाउँपालिका उपाध्यक्ष कमलापती चौधरी, गैरसरकारी संस्था महासंघ लुम्बिनीका अध्यक्ष जीतकुमारी बेल्वासे ९सुशिला०, सेवाग्राही केशव पोख्रेललगायतले मन्तव्य राख्नुभएको थियो ।
आयोगले लुम्बिनी प्रदेशमा ५० वटा उजुरीमाथि अनुसन्धान सम्पन्न गरेको जनाएको छ । यस अवधिमा १७ वटा अनुगमन र ७ वटा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइएको छ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका राजनारायण कोहारले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहजीकरण अधिकृत अजितकुमार ठाकुरले गर्नुभएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया