चितवन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले ल्याउने बजेट उद्योगमैत्री हुने बताउनुभएको छ ।
प्रिफ्याव प्यानल नेपाल उद्योगको अनुगमन निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले प्रदेश सरकारले उद्योगीको हितमा बजेट ल्याउने तयारी गरेको बताउनुभएको हो । मुख्यमन्त्री बानियाँले भन्नुभयो, “व्यवसायीलाई प्रोत्साहन गर्ने गरी उद्योगमैत्री बजेट ल्याउने तयारी भइरहेको छ । प्रदेश सरकारले वातावरण तथा पर्यापर्यटनसँग जोडिएका उद्योगहरूलाई बैङ्किङ ब्याजमा सहुलियत दिने नीतिअनुसार काम गरिरहेका छौँ । अन्य क्षेत्रको विकासको लागि पनि सोहीअनुसारको नीति अगाडि सार्छौँ ।”
ऊर्जा क्षेत्रलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयसँगै त्यसलाई उत्पादनसँग जोड्ने गरी योजना ल्याउने उहाँको भनाइ थियो । निर्माण क्षेत्रमा आधुनिक, दिगो तथा वातावरणमैत्री प्रविधि भित्र्याउने उद्देश्यका साथ स्थापित प्रिफ्याव प्यानल नेपाल उद्योगले अत्याधुनिक स्मार्ट प्यानलसहित विभिन्न नयाँ निर्माण सामग्रीहरू उत्पादन गर्दै आएको छ ।
उद्योगका अध्यक्ष नारायण रेग्मीका अनुसार नेपाली बजारमा नेपालको उत्पादन पुर्याउन सक्ने गरी काम अघि बढाइएको छ । उद्योग स्थापित भएको छोटो समयमा नै उद्योगले आधुनिक निर्माण प्रविधिलाई देशभर विस्तार गर्न सफलता मिल्दै गएको बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया