जेठ १७, २०८३ आइतबार May 31, 2026

“सरकारको नियत हेर्दा आयोगका सिफारिस कार्यान्वयन हुने आशा छैन” : अनुपराज शर्मा (अन्तवार्ता)

“मानव अधिकार आयोग संविधानअनुसार बलियो छ, तर सरकारले कमजोर बनायो”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जेनजी आन्दोलनका घटनाबारे मानव अधिकार आयोगको प्रतिवेदन झन्डै नौ महिनापछि सार्वजनिक भयो । अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ हुँदा आयोगको विश्वसनीयतामाथि नै प्रश्न उठ्दैन ?

मानव अधिकार आयोगमा भागबन्डाका आधारमा विवादित रूपबाट सदस्यहरू आउने हुँदा कि त अनुसन्धान गर्न नै नमान्ने, मानिहालेछ भने पनि सकेसम्म प्रतिवेदन सार्वजनिक नै नगर्ने । यो आयोगको स्थापनाकालदेखि नै लागेको रोग हो ।

स्वतन्त्र आयोगबाटै यस्तो विलम्ब हुँदा बाहिर कस्तो सन्देश देला ?

समाचारहरूमा आयोगका सदस्यबाटै कोभन्दा को कम भनेझैँ गरी भित्री खबर आएका छन् । यस स्थितिमा ढिलै भए पनि आयोगको प्रतिवेदन आएको छ । यसले एउटा तरंग त ल्यायो । किन ढिला गर्‍यो भन्ने प्रश्न त आयोगलाई नै सोध्नुपर्छ ।

स्वतन्त्र र स्वायत्त आयोगको आफ्नै अस्तित्व खुम्च्याउने काम पो भयो कि ?

आयोग गठन हुँदा स्वतन्त्र र स्वायत्त थियो । यसको अधिकार, काम, कर्तव्य संविधानले राम्ररी राखेको छ । तर, सरकार चाहे त्यो कांग्रेस, कम्युनिस्ट जोसुकै होस्, जो आए पनि घुमाउरो पाराले यसका काम, कर्तव्य र अधिकारलाई असर गर्ने ऐन, कानुन ल्याउने काम गरे । यस्तो गलत अभ्यासले स्वतन्त्र र स्वायत्ततामाथि आँच पुगेको छ ।

यस्तो काम कोबाट भयो ? अलि स्पष्ट ढंगले भनिदिनु न !

आयोगलाई नियन्त्रण र आफ्नो मातहत राख्ने उद्देश्यसहित अरू कानुनहरू निर्माण गर्न जहिले पनि उद्दत रहने केपी शर्मा ओली हुन् । उनी चाहन्थे, आयोगले सरकारविरोधी कुनै पनि प्रतिवेदन जेनेभामा प्रस्तुत नगरोस् ।

आयोग प्रतिवेदनले पूर्वप्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई गम्भीर मानव अधिकार उल्लंघनमा पश्चात्‌दर्शी कानुन बनाएर कारबाही गर्नू भन्ने सिफारिस छ ।

पश्चात्‌दर्शी कानुन बनाउन मिल्ने हो कि होइन ?

पश्चात्‌दर्शी कानुन बनाएर पीडकलाई सजाय गर्न मिल्छ । यो मानव अधिकार उल्लंघनको विषय हो । मानवमाथिको अत्याचारलाई निषेध गर्न पश्चात्‌दर्शी कानुन बनाएर कारबाही गर्न सकिने अन्तर्राष्ट्रिय कानुन र प्रचलन दुवै छ । दोस्रो विश्वयुद्धका अपराधीहरूमाथि यसै सिद्धान्तअनुसार कारबाही भएको छ ।

कारबाहीका लागि हदम्यादको पनि त कुरा होला नि ?

मानव अधिकार उल्लंघन भयो वा भएन त्यो कुराको अनुसन्धान गर्न हदम्याद, क्षेत्राधिकार सबै गौण हो ।

मानव अधिकार उल्लंघनको विषय यति कम्प्लेक्स (जटिल) छ कि यो कुनै एक देशको मात्र कुरा वा क्षेत्राधिकारको होइन, यो मानव अधिकारको विषय जहिले पनि ‘डायनामिक’ हुन्छ । यसमा कुनै पनि देशले चासो लिन सक्छ ।

जेनजी आन्दोलनमा गौरीबहादुर कार्की आयोगको रिपोर्ट र मानव अधिकार आयोगको रिपोर्टमा के फरक छ ? भदौ २४ को विध्वंसमा कार्कीको रिपोर्ट मौन देखियो नि ?

गौरीबहादुर कार्कीलाई नेपाल सरकारले क्षेत्राधिकार तोकेर खासखास विषय हेर्न भनेको छ, जबकि मानव अधिकार आयोगलाई संविधानले नै व्यापकता दिएको छ । धेरै फरक छ । तर, गौरीबहादुर कार्कीवाला सम्पूर्ण जाँचबुझ प्रतिवेदन सरकारले सार्वजनिक गर्नुपर्छ ।

आयोग प्रतिवेदन पनि प्रधानमन्त्री वालेन्द्र शाह र सेनाको भूमिकाका विषयमा मौन देखिएको भन्ने प्रश्न आएका छन् । आयोग सरकारसँगै डराएर हो कि ?

बालेनको विषयलाई लिएर वा जो जसको जिम्मेवारी हो, ती सबैलाई अनुसन्धानको घेरामा पार्नु उचित हुन्छ । सेनाका विषयमा यदि कारबाही गर्नुपर्ने अवस्था हो भने सरकारले तदनुरूप गर्नुपर्छ ।

जेनजी आन्दोलनका अपराधमा जे जति पनि सिफारिस भएको छ, सरकारबाट कार्यान्वयन होला त ?

सरकारको काम गर्ने शैली हेर्दा सिफारिस कार्यान्वयन हुने आशा मलाई छैन । सरकारको नियतको कुरा हो ।

विगतमा यहाँकै पालाका सिफारिस पनि त अलपत्र छन् !

केही पनि भएको छैन । अनुसन्धानपछि ‘कस्टडी’मा लिएर मारेको भनेर लगिदिएको प्रतिवेदन नै कार्यान्वयन भएको छैन । मैले अवकाश हुनुअघि २८० जनाको नामै तोकेर दिएको हो नि ! खोइ त, के भयो ? केही पनि भएन ।

जबकि, सर्वोच्चको व्याख्या नै छ । मानव अधिकार आयोगले कारबाही गर भनेपछि मुद्दा चलाउनैपर्छ । तलमाथि गर्न पाइँदैन । मैले मानव अधिकार उल्लंघनकर्ताको कालोसूची नै निकालेँ । किन निकालेँ भन्दा कम से कम रेकर्डमा त रहन्छ । भोलि कसैले अनुसन्धान गर्ला । हेर्ला ।

यसरी त मानव अधिकार आयोग सरकारको एउटा विभागजस्तो भएन र ?

उनीहरू (सरकार)ले त्यस्तो सम्झेको छ । सिफारिस र नियुक्ति पनि त्यसरी नै गर्छ । फेरि, अध्यक्षलाई नै यति निरीह बनाइएको छ कि त्यहाँको सचिवले ‘डिसिप्लिनली’ तलमाथि गर्‍यो भने अध्यक्षले केही गर्नै सक्दैन ।

किन होला ?

जुनसुकै सरकार आए पनि मानव अधिकारको प्रश्नमा उसले आयोगलाई  एउटा मामुली अड्डा सम्झने प्रवृत्ति छ ।

स्वतन्त्र आयोगका सिफारिस नै कार्यान्वयन नभए विकल्प के हुन्छ ?

संविधानानुसार आयोग निकै बलियो छ । संसद्ले समेत यसलाई निर्देशन दिन सक्दैन । यो स्वतन्त्र र स्वायत्त हो भनेर उद्घोषण गर्न भए पनि सरकारमा सिफारिस कार्यान्वयन गरेका अभियोगमा आयोग आफैँले भए पनि मुद्दा चलाउँदा वैध हुने देख्छु म ।

मानव अधिकार उल्लंघनकर्तालाई कारबाहीमा विशेष अदालत गठनको लागि पनि आयोगले नै कानुनी कारबाही अघि बढाउन सक्छ ।

आयोग प्रतिवेदनमा भदौ २३ को घटनामा एकातिर आत्मरक्षाका लागि सुरक्षाकर्मीले गोली चलाएको भन्ने छ, अर्कातिर सुरक्षाकर्मीमाथि कारबाही सिफारिस पनि भएको छ । अलि विरोधाभास भएन र ? 

गोली चलाएकोमा कारबाही या आत्मरक्षाका लागि भन्ने सन्दर्भमा आयोगको प्रतिवेदन पूरै नहेरी अनुनमानका आधारमा केही भन्न सकिँदैन । पूर्णपाठ पनि सार्वजनिक होला । त्यसपछि मात्र कसैले सोधेमा भन्न सकिएला ।

प्रसंग अलिकति बदलौँ, गणतन्त्रको भविष्य कस्तो देख्नुहुन्छ ? 

मलाई के लाग्छ भने गणतन्त्र हुँदैमा राम्रै हुन्छ भन्ने पनि होइन । तर, परिवारवादको अन्त्य हुने हुँदा म गणतन्त्रप्रति आशावादी छु ।

गणतन्त्रकालमा अनियमितता, व्यथिति र भ्रष्टाचार झन् बढेका जनगुनासाहरू पनि त छन् नि ?

बहुदलीय प्रणाली र गणतन्त्र त नागरिकले नै संघर्ष गरेर ल्याएका हुन् । तर, राज्य सञ्चालन गर्ने व्यक्तिको कमजोरी भयो । मैले यसलाई कसरी तुलना गरेर हेर्छु भने कुनै नयाँ मोडलको मोबाइल छ, तर तपाईंले चलाउन जान्नु हुन्न भने त के काम भयो र ? यस्तै हाम्रो प्रणाली त ‘मोर डेमोक्रेटिक’ हो, तर हाँक्नेहरू ‘अनडेमोक्रेटिक’ हुँदा समस्या भएको हो । तर, अर्को कुनै विकल्प छैन । यसैलाई सुधार गरेर अघि बढ्नुपर्छ ।

सबै कुरा परीक्षणकै क्रममा छ । निराशै भइहाल्नुपर्ने होइन । हामी नै हेरौँ न, १० वर्षअघि कति किलोमिटर बाटो बनेको थियो । त्यसयता कति बन्यो । हरेक क्षेत्रमा यसरी नै विकास भएको छ नि ! व्यवस्थाको विकल्प हेर्ने होइन, बरु कसरी सुशासन कायम गर्ने, खर्च कसरी कम गर्ने भनेर हेर्नुपर्‍यो ।

जनप्रतिनिधि, प्रधानमन्त्री र मन्त्रीले नै बिगारेका कारण अवस्था यहाँसम्म आइपुगेको भन्ने छ, के लाग्छ ? 

मैले त एउटै उपाय देखेको छु । निर्वाचित जनप्रतिनिधिलाई मन्त्री हुनबाटै रोक लगाउनुपर्छ । लोकतान्त्रिक प्रणाली भएका विभिन्न मुलुकमा यो अभ्यास छ ।

यो भयो भने सांसद बन्न ठूलो धनराशि खर्च गर्ने, मन्त्री भएपछि भ्रष्टाचार, अनियमितता गर्ने, कमिसन खाने बाटो बन्द हुन्छ । यसरी मन्त्री हुनेले प्रधानमन्त्रीलाई पनि हल्लाउन सक्दैनन् । नत्र अहिलेकै अवस्थामा त प्रधानमन्त्रीलाई हल्लाइहाल्छन् नि !

यसकारण प्रधानमन्त्रीले बाहिरका व्यक्तिलाई मन्त्रीमा सिफारिस गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था हुनुपर्छ । यसो भयो भने धेरै हदसम्म प्रणालीमा सुधार ल्याउन सकिन्छ । सुशासन पनि हुन्छ । यसो भए सांसद बन्न ठूलो धनराशि खर्चने, मन्त्री भएपछि भ्रष्टाचार, अनियमितता गर्ने, कमिसन खाने बाटो पनि बन्द हुन्छ ।

प्रणालीमै सुधार चाहिन्छ भन्न खोज्नुभएको हो ?

हो । हामीले मोडल अपनायौँ ब्रिटिसको । अनि, अमेरिकाको पनि लियौँ । ब्रिटिसमा पार्लियामेन्ट आएको भोलिपल्टै प्रधानमन्त्रीले विघटन गर्न सक्छ । हामीकहाँ दुई वर्ष विघटन गर्न नपाउने भनेर संविधानमा राख्यौँ । फेरि, पालनाचाहिँ कस्तो भयो देखिहाल्यौँ ।

ओलीजीले त बीचैमा विघटन गरिदिनुभयो । हामीकहाँ यस्तो ‘हाइब्रिड’ भयो । के व्यवस्था भयो के । त्यसैले सुधार त चाहिन्छ ।

०६२–६३ को दोस्रो जनआन्दोलनमा लोकतान्त्रिक गणतन्त्र र संघीयताका लागि लाखौँ नागरिक सडकमा उत्रिए । तर, अहिले फेरि धान्न सकिँदैन कि भन्ने कुरा पनि उठिरहेका छन्, के भन्नुहुन्छ ?

अहिलेको जुन प्रणाली छ, त्यहीभित्रैबाट सुधार र परिमार्जनको अभ्यास गरिनुपर्छ । म राजनीतिशास्त्रको विद्यार्थी त होइन, तर मलाई लाग्छ कि प्रत्येक गाउँपालिका, नगरपालिकामार्फत विकेन्द्रीकरण गरेर जानुपर्छ ।

संघीयता भएका अन्य मुलुकमा पनि यस्तो अभ्यास छ, किनकि प्रदेश अनावश्यक भयो । खर्च अनावश्यक हुँदा समस्या देखियो । स्थानीय सरकार छँदै छ । स्थानीय सरकारलाई नै अधिकारसम्पन्न बनाएर अघि बढ्नु उपयुक्त हुन्छ । अहिले हाम्रो ७७ जिल्ला त हो नि ! फेरि, प्रदेशचाहिँ राख्यौँ तर सीडीओ त केन्द्रकै छ । अलिकति ‘रिथिंक’ गरेर जानुपर्छ ।

न्यायपालिकाले पनि अलि सही ढंगले काम गरेन भन्ने जनगुनासो व्याप्त छ, के देख्नुहुन्छ ?

म त यो न्यायपरिषद् नै खारेज गर भन्छु । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश रहने संवैधानिक व्यवस्था छ । २१ न्यायाधीशले ३०–३५ हजार मुद्दा हेर्न नसक्ने भन्ने हुँदैन ।

अमेरिकामा नौजना न्यायाधीश छन् । हरेक मुद्दा उनीहरूले नै हेर्छन् । सिंगल पनि हुँदैन, डिभिजन पनि हुँदैन । जनसंख्या ४० करोड छ, चार लाख त वकिल नै छन् । तर, उनीहरूले सकेका छन् । उनीहरूले काम गरे नि ! काम नगरेर यसै अलमलिएर हुँदैन । काम गर्नुपर्‍यो । तर, नेतृत्व अलि कडाचाहिँ हुनुपर्छ ।

न्यायपरिषद्को संरचना खारेज गर्न, असफल नै भइसकेको हो र ?

हो, न्यायपरिषद् खारेज गर्नुपर्छ । किनभने, राजनीति र कार्यकारीले पनि न्यायपालिकालाई गाँज्यो । हामी संविधानवाद भन्छौँ, शक्ति पृथकीकरण भन्छौँ । अब हेर्नुस् न, न्याय परिषद्‌मा बहुमत नै गैरन्यायाधीशहरूको छ । त्यसकारण त्यहाँ बार्गेनिङ त हुने भयो ।

प्रधानन्यायाधीशले ल्याएको मान्छे हुने हो भने हामीले ल्याएको पनि त हुनुपर्छ भन्ने भयो । यसले गर्दा विकृति बढेको छ । त्यसकारण प्रधानन्यायाधीशको विश्वास त गर्नैपर्छ । स्वतन्त्र न्यायपालिका पनि भन्ने, न्यायपारिषद् र न्यायाधीशमा राजनीतिक भागबन्डा पनि गर्ने, यसरी हुँदैन ।

विकल्प के त ?

परिषद् खारेज गरेर प्रधानन्यायाधीश र सिनियर न्यायाधीशहरूको ‘कलेजियम’ बनाएर काम गर्नुपर्छ । यो किन जरुरी छ भने न्याय सेवामा काम गरेको मान्छे कस्तो हो भन्ने कुरा उनीहरूलाई मात्रै थाहा हुन्छ । नियुक्ति, सरुवा, कारबाही, बर्खास्ती सबै ‘कलेजियम’ले नै गर्छ ।

प्रधानन्यायाधीश राजनीतिक व्यक्तिसँगै संवैधानिक परिषद्‌मा सदस्य रहन्छ त ?

प्रधानन्यायाधीश पनि संवैधानिक परिषद्‌मा पनि बस्ने, यता कारबाही गर्ने कुरा पनि कठिन छ । हालको संरचनाका कारण राजनीतिक तहबाट हाम्रा मान्छेलाई कारबाही गर्ने ? भन्ने कुरा आउँछ । यसकारण विज्ञहरू राखेरै पुनर्विचार गर्नुपर्छ । बाह्रखरीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो
२०८३ जेठ १७, आइतबार
उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य
२०८३ जेठ १७, आइतबार
सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहताको आग्रह
२०८३ जेठ १७, आइतबार
इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार
२०८३ जेठ १७, आइतबार
“सरकारको नियत हेर्दा आयोगका सिफारिस कार्यान्वयन हुने आशा छैन” : अनुपराज शर्मा (अन्तवार्ता)
२०८३ जेठ १७, आइतबार
म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ
२०८३ जेठ १७, आइतबार
अनिल झा नेतृत्वको सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित
२०८३ जेठ १७, आइतबार