जेठ १८, २०८३ सोमबार June 1, 2026

रवि लामिछानेलाइ दिल्ली विमानस्थलमा भव्य स्वागत

रास्वपा सभापति लामिछाने दिल्लीमा, भारतीय नेताहरूले गरे स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी सोमबार दिउँसो नेपाल वायुसेवा निगमको उडान नम्बर आरए–२१७ मार्फत काठमाडौंबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

रवि लामिछानेलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टीका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजयी चौथाक्इवालेले स्वागत गरेका छन्। विमानस्थलमा भएको स्वागतलाई दुई दलबीचको सम्बन्ध र राजनीतिक संवादको निरन्तरताका रूपमा हेरिएको छ।

लामिछानेको भ्रमण टोलीमा उनकी पत्नी निकिता पौडेल, स्वकीय सचिव प्रदीप आचार्य तथा रास्वपाका सांसदहरू विपिनकुमार आचार्य र दीपकराज बोहरा सहभागी छन्। टोलीले भारत भ्रमणका क्रममा विभिन्न राजनीतिक भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।

यसैबीच, गत शुक्रबार काठमाडौं आएका भारतीय जनता पार्टीका तीन सदस्यीय प्रतिनिधिमण्डल पनि सोमबार नै सोही उडानमार्फत नयाँ दिल्ली फर्किएको छ। उक्त टोली काठमाडौं बसाइका क्रममा ग्वार्कोस्थित रोयल ट्युलिप काठमाडौंमा बसेको थियो।

उल्लेखनीय रूपमा, सोही होटलमा रास्वपाले अघिल्लो महिना आफ्ना सांसदहरूका लागि आवासीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो। भाजपा प्रतिनिधिमण्डलको नेपाल भ्रमण र त्यसलगत्तै रवि लामिछानेको भारत भ्रमणलाई नेपाल–भारत राजनीतिक सम्बन्ध तथा दलगत कूटनीतिक सम्पर्कको सन्दर्भमा चासोका साथ हेरिएको छ।

रास्वपाले भ्रमणको विस्तृत कार्यसूची सार्वजनिक नगरे पनि भारतीय राजनीतिक नेतृत्वसँग हुने भेटवार्ता तथा समसामयिक द्विपक्षीय विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया