जेठ १९, २०८३ मंगलबार June 2, 2026

नेपाल प्रवेशमा भारतीय नागरिकको बायोमेट्रिक रेकर्ड सुरु

भारतीय नागरिकको डिजिटल रेकर्ड राख्न एसएसबीको नयाँ व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतले नेपाल प्रवेश गर्ने आफ्ना नागरिकहरूको विवरण व्यवस्थित रूपमा अभिलेखीकरण (डिजिटल रेकर्ड) गर्न थालेको छ। भारत–नेपाल खुला सीमाको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमावर्ती नाकाहरूमा नेपालतर्फ यात्रा गर्ने भारतीय नागरिकहरूको पहिचान विवरण संकलन गर्ने प्रक्रिया सुरु गरेको बताइएको छ।

नयाँ व्यवस्थाअनुसार नेपाल प्रवेश गर्न चाहने भारतीय नागरिकहरूले फोटोसहितको वैध परिचयपत्र प्रस्तुत गर्नुपर्नेछ। परिचय खुल्ने कागजातको आधारमा उनीहरूको नाम, ठेगाना लगायतका विवरण डिजिटल प्रणालीमा प्रविष्ट गरिनेछ। साथै, सीमामा फेस स्क्यानिङ (अनुहार पहिचान प्रविधि) मार्फत यात्रुको पहिचान प्रमाणीकरण गर्ने व्यवस्था समेत लागू गर्न थालिएको जनाइएको छ।

भारतीय सुरक्षा निकायले खुला सीमाको दुरुपयोग रोक्न, आपराधिक गतिविधि नियन्त्रण गर्न, मानव बेचबिखन तथा अन्तरदेशीय अपराधको निगरानी प्रभावकारी बनाउन यो प्रणाली उपयोगी हुने दाबी गरेका छन्। पछिल्ला वर्षहरूमा खुला सीमामार्फत हुने गैरकानुनी गतिविधि, तस्करी तथा सुरक्षा चुनौतीहरूलाई ध्यानमा राख्दै डिजिटल निगरानी प्रणाली विस्तार गरिएको बताइएको छ।

नेपाल र भारतबीचको खुला सीमा व्यवस्थाअन्तर्गत दुवै देशका नागरिकलाई आवतजावतमा विशेष सहुलियत प्राप्त भए पनि पछिल्लो कदमलाई सीमा व्यवस्थापनको नयाँ अभ्यासका रूपमा हेरिएको छ। यद्यपि, यस व्यवस्थाले यात्रुहरूको सहज आवतजावत, गोपनीयता संरक्षण तथा द्विपक्षीय सीमा व्यवस्थापनमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा सरोकारवालाहरूले चासो व्यक्त गरेका छन्। नेपाल सरकार वा सम्बन्धित निकायबाट यसबारे औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया