काठमाडौँ, २३ जेठ : परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस जयशङ्करबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।
उहाँहरूबीच आज साँझ नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको विदेशमन्त्री डा जयशङ्करले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ । भेटवार्ताका क्रममा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल भएको बताइएको छ ।
परराष्ट्रमन्त्री खनाल विदेशमन्त्री जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो ।
भ्रमणका क्रममा शुक्रबार परराष्ट्रमन्त्री खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाईवालेबीच भेटवार्ता भएको थियो । परराष्ट्रमन्त्री खनालले शुक्रबार नै नयाँ दिल्लीमा इण्डिया फाण्डेसनद्वारा आयोजित एक कार्यक्रममा सम्बोधन गर्नुभएको थियो । उहाँ भ्रमण सम्पन्न गरी यही जेठ २४ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया