जेठ २७, २०८३ बुधबार June 10, 2026

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल

संस्थानको व्यावसायिक सुदृढीकरणका लागि डिडीसीका उत्पादनको प्रयोग र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २६ जेठः स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न सरकारले विशेष अग्रसरता देखाएको छ ।

मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडीसी)का उत्पादनको देशव्यापी प्रवर्द्धन तथा बजार विस्तार गर्ने विषयमा गहन छलफल भएको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डालाई मुख्य रूपमा उठाउनुभएको हो ।

बैठकमा मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनको संरक्षण, किसानको हित प्रवर्द्धन तथा संस्थानको व्यावसायिक सुदृढीकरणका लागि डिडीसीका उत्पादनको प्रयोग र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले डिडीसीलाई थप प्रतिस्पर्धी, गुणस्तरीय र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारका विभिन्न निकायबीच आपसी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।

साथै, नेपाली दुग्ध किसानबाट सङ्कलित दूधको उचित व्यवस्थापन र उत्पादनको बजार सुनिश्चित गर्न सरकारी तहबाट आवश्यक सहयोग हुनुपर्नेमा उहाँको विशेष जोड थियो ।

डिडीसीले लामो समयदेखि नेपाली उपभोक्तामाझ शुद्ध र गुणस्तरीय दूध, घिउ, दही, पनिर, चिजलगायतका दुग्धजन्य उत्पादन उपलब्ध गराउँदै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया