जेठ २८, २०८३ बिहिबार June 11, 2026

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जानुहुने

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई सशक्त बनाइने, लुम्बिनी फेलोसिप कार्यक्रमको सुरुआत गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २८ जेठ : परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्नुहुने भएको छ । मन्त्रालयले सो जानकारी दिँदै भ्रमणको आन्तरिक तयारी भइरहेको र भम्रण तालिकाबारे छिट्टै जानकारी गराइने जनाएको छ । वर्तमान सरकार गठनपछि मन्त्री खनालले हालैमात्र भारतको तीन दिने औपचारिक भ्रमण गर्नुभएको थियो ।

यसैगरी मन्त्रालयमा आज आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा मन्त्री खनालले राष्ट्रिय हितका विषयमा सरकार, राजनीतिक दललगायत राज्यका सबै निकाय र सञ्चार क्षेत्रको पनि एकमत हुनुपर्ने बताउनुभयो । साथै उहाँले परराष्ट्रसम्बन्धी सूचना सम्प्रेषणमा संवेदनशील हुन आग्रह गर्नुभयो । मन्त्रालयमा गर्न लागेको नयाँ कार्य र सुधारका योजना बारेमा सुनाउँदै उहाँले विदेशस्थित नेपाली नियोगमा आवश्यकताअनुसार थप जनशक्ति र भौतिक पूर्वाधार स्तरोन्नती गर्न लागेको बताउनुभयो ।

त्यस्तै मन्त्री खनालले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई सशक्त बनाइने, लुम्बिनी फेलोसिप कार्यक्रमको सुरुआत गर्ने, भू–रणनीतिक सम्मेलन आयोजना गर्ने, राहदानीको बायोमेट्रिकमा देखिएका चुनौतीलाई समाधान गर्नेलगायत योजनाका बारेमा अवगत गराउनुभयो । सोही अवसरमा उहाँले हालैको आफ्नो भारत भ्रमण प्रभावकारी र उपलब्धिमूलक भएको बताउँदै द्विपक्षीय आपसी हितका विविध विषयमा खुुलेर सौहाद्र्ध रूपमा भारतीय समकक्षीसँग द्विपक्षीय वार्ता भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव अमृतबहादुर राईले वर्तमान सरकारको प्रतिबद्धताअनुसार आर्थिक समृद्धि र सुशासनका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले मन्त्रालयबाट भए/गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया