जेठ ३१, २०८३ आइतबार June 14, 2026

लागुऔषधको फैलिँदो कारोबार

देशभरका ७२ वटा कारागारमा रहेकामध्ये २५ प्रतिशतभन्दा बढी कैदी लागुऔषधसँग सम्बन्धित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ ३१ गते । नेपालमा लागुऔषध दुव्र्यसन भयावह सामाजिक समस्याका रूपमा विस्तार हुँदै गएको देखिएको छ । किशोर र युवा पुस्ता यसको सबैभन्दा ठुलो सिकार बन्दै जाँदा परिवार विखण्डन, अपराध वृद्धि र सामाजिक असुरक्षा बढ्न थालेको छ ।

एकातिर कुलतमा फस्ने युवाको सङ्ख्या बढिरहेको छ भने अर्कोतर्फ प्रहरीले नियन्त्रण अभियान तीव्र बनाएको छ । पछिल्ला चार दिनमा मात्र देशभरबाट ७६ जना लागुऔषध कारोबारी र भरिया पक्राउ परेका छन् । केही वर्षअघि सहरकेन्द्रित हुने गरेको सेवन, ओसारपसार र कारोबार बिस्तारै गाउँमा समेत फैलिन थालेको देखिएको छ । यसले दुर्गम जिल्लाका परिवारले पीडा भोग्नु परिरहेको छ । काठमाडौँकी एक आमाका अनुसार उहाँका २० वर्षीय छोरा विगत पाँच वर्षदेखि लागुऔषध कुलतमा छन् । सुधार केन्द्र, उपचार र पारिवारिक प्रयासका बाबजुद अवस्था सुधारिन सकेको छैन । दुव्र्यसन बढ्दै जाँदा उनी चोरी, झैझगडा र आपराधिक गतिविधिमा संलग्न हुन थालेका छन् ।

दाङकी अर्की महिलाले पनि किशोरावस्थामै कुलतमा फसेका छोराका कारण परिवारले सामाजिक अपमान, आर्थिक भार र मानसिक तनाव झेल्नु परेको बताउनुभयो । लागुऔषधकै कारण उहाँको परिवार विखण्डित भएको छ । कुलत बढ्दै जाँदा श्रीमतीसँग सम्बन्ध टुट्नुका साथै वृद्ध आमामाथि हिंसात्मक व्यवहार बढेकाले परिवारले ती युवकलाई सुधार केन्द्रमा राखेर उपचार सुरु गरेका छन् ।

दुव्र्यसनीको पुनस्र्थापनामा सक्रिय नार्कोनन नेपालका प्रमुख वसन्त कुँवरले लागुऔषध कुलतमा १५ देखि २५ वर्ष उमेर समूह सबैभन्दा बढी जोखिममा परेको बताउनुभयो । उहाँले नेपालमा १० देखि ११ लाखसम्म लागुऔषध प्रयोगकर्ता हुन सक्ने अनुमान गर्दै विद्यालय तहबाटै सचेतना अभिवृद्धि गर्नुपर्ने र समाजका हरेक वर्ग परिवार पूर्वसचेत हुनुपर्ने अवस्था रहेकोसमेत सुझाउनुभयो ।

लागुऔषध नियन्त्रण ब्युरोको तथ्याङ्कले पनि अवस्था गम्भीर बन्दै गएको देखाएको छ । पछिल्ला वर्षहरूमा लागुऔषध कारोबार, ओसारपसार र प्रयोगमा उल्लेख्य वृद्धि भएको छ ।  गत आर्थिक वर्षमा मात्रै लागुऔषध कारोबार, ओसारपसारमा संलग्न करिब आठ हजार व्यक्ति पक्राउ परेका थिए भने ५० लाख थानभन्दा बढी फर्मास्युटिकल ड्रग्स बरामद गरिएको थियो । कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार देशभरका ७२ वटा कारागारमा रहेकामध्ये २५ प्रतिशतभन्दा बढी कैदी लागुऔषधसँग सम्बन्धित रहेको पाइएको छ । प्रहरीले पछिल्लो तीन दिनमा सञ्चालन गरेको विशेष अभियान अन्तर्गत काठमाडौँ, झापा, कैलाली, कञ्चनपुर, सुनसरी, बाँके, मोरङ, कास्की, रुपन्देही, सिन्धुली, धनुषालगायत जिल्लाबाट ठुलो परिमाणमा लागुऔषधसहित ७६ जनालाई पक्राउ गरिएको छ । काठमाडौँको बुद्धपार्क क्षेत्रबाट प्रहरीले ठुलो परिमाणमा खैरो हेरोइन, इन्जेक्सन, ट्याब्लेट र ३० लाखभन्दा बढी नगदसहित एक जनालाई पक्राउ गरेको छ । झापा, कञ्चनपुर र कैलालीका सीमावर्ती क्षेत्रमा पनि ब्राउन सुगर र खैरो हेरोइनसहित धेरै व्यक्ति पक्राउ परेका छन् ।

लागुऔषध कारोबार र ओसारपसारमा नेपालीसँगै भारतीय र तेस्रो देशका नागरिकको संलग्नताले नेपाल कतै लागुऔषधको हब बन्ने त होइन भन्ने चिन्ता थपिएको छ । लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले खुला सीमा र अन्तरदेशीय नेटवर्कका कारण नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । प्रभावकारी नियन्त्रणका लागि अन्तरदेशीय सहकार्य, आधुनिक प्रविधि र पर्याप्त जनशक्ति आवश्यक रहेको उहाँको भनाइ छ ।

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमन्त मल्ल लागुऔषध दुव्र्यसनलाई केवल कानुनी नभई सामाजिक र स्वास्थ्य सङ्कटका रूपमा हेर्नुपर्ने बताउनुहुन्छ । मल्लका अनुसार यसको नियन्त्रण अभियानसँगै उपचार, पुनस्र्थापना र जनचेतनालाई सँगसँगै अघि बढाउन जरुरी भइसकेको छ ।

लागुऔषध नियन्त्रण र रोकथामका लागि समयमै प्रभावकारी नीति, जनचेताना, शिक्षा र पुनस्र्थापनामा ध्यान दिन नसकिए लागुऔषध दुव्र्यसनले नेपाली समाजमा दीर्घकालीन रूपमै गम्भीर असर पार्नेतर्फ सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन् । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया