असार ४, २०८३ बिहिबार June 18, 2026

‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा.भट्टराईसँग छलफल

संविधान संशोधनका सम्भावित विषय, शासन प्रणालीको प्रभावकारिता, संघीय संरचनाको कार्यान्वयन लगायतका बिषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले आज पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग छलफल गरेको छ।

टोलीले संविधान कार्यान्वयनका क्रममा देखिएका चुनौती, संशोधनका सम्भावित क्षेत्र तथा राजनीतिक सहमतिका आधारबारे डा. भट्टराईको निवास पुगेर उहाँसँग विस्तृत छलफल गरेको हो ।

छलफलका क्रममा संविधान संशोधनका सम्भावित विषय, शासन प्रणालीको प्रभावकारिता, संघीय संरचनाको कार्यान्वयन, नागरिक अधिकारको थप सुनिश्चितता तथा राज्यका विभिन्न निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा सुझाव आदानप्रदान भएको बताइएको छ।

कार्यदलले संविधान संशोधनका लागि आवश्यक सुधारका क्षेत्र पहिचान गर्दै विभिन्न राजनीतिक दलका नेता, पूर्वप्रधानमन्त्री, संविधानविद् तथा सरोकारवाला पक्षसँग निरन्तर संवाद गरिरहेको छ।

कार्यदलका संयोजक असिम शाहले संविधान संशोधनसम्बन्धी बहसलाई व्यापक बनाउन विभिन्न पक्षका सुझाव सङ्कलन गर्ने कार्य जारी रहेको बताउनुभएको छ। प्राप्त सुझावलाई समेटेर संविधान संशोधन बहसपत्र तयार पारिने जनाइएको छ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले पनि संविधानलाई समयानुकूल बनाउन आवश्यक सुधारका विषयमा आफ्ना धारणा तथा सुझाव प्रस्तुत गर्नुभएको स्रोतले जनाएको छ। संविधान संशोधनका विषयमा राष्ट्रिय सहमति निर्माण गर्दै लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने दिशामा संवाद आवश्यक रहेको उहाँको धारणा रहेको बताइएको छ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया