काठमाडौं, असार १२ । प्रतिनिधिसभाको बैठक लगातार दोस्रो पटक स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको बैठक अन्तिम समयमा स्थगित गर्दै संघीय संसद् सचिवालयले अब बैठक शनिबार बिहान ११ बजे बस्ने गरी नयाँ सूचना जारी गरेको छ।
यसअघि बिहीबारका लागि तय गरिएको बैठक पनि स्थगित भएको थियो। लगातार बैठक स्थगित भएपछि संसद्को नियमित कार्यसूची प्रभावित भएको छ।
संसद् सचिवालयका अनुसार शुक्रबारका लागि बोलाइएको बैठक तोकिएको समयमा सञ्चालन हुन नसक्ने भएपछि सभामुखको निर्देशनमा नयाँ मिति र समय निर्धारण गरिएको हो।
बैठक स्थगित हुनुको मुख्य कारण सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अधिकांश सांसद तथा मन्त्रिहरू चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा व्यस्त रहनु रहेको बताइएको छ। आवश्यक संख्यामा सांसदको उपस्थिति सुनिश्चित हुन नसक्ने अवस्था देखिएपछि बैठक अन्तिम समयमा आएर सूचना टाँस गरी स्थगित गरिएको हो।
अब प्रतिनिधिसभाको अर्को बैठक शनिबार बिहान ११ बजे बस्नेछ। उक्त बैठकमा सरकारका विधेयक, समसामयिक विषय तथा नियमित संसदीय कार्यसूची अघि बढाइने अपेक्षा गरिएको छ। संसद् बैठक पटक–पटक स्थगित हुँदा विधेयक पारित, नीति तथा बजेटसम्बन्धी छलफल लगायत संसदीय कामकारबाही प्रभावित हुने देखिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया