असार २०, २०८३ शनिबार July 4, 2026

बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण

वर्षात्को समयमा हुने सडक डुबान न्यूनीकरणका लागि बागमती नदीबाट कम्तीमा पनि डेढ मिटर गहिराइसम्म डेब्रिज हटाउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। काठमाडौँमा वर्षापछि बागमती नदीमा डेब्रिज (गेग्रान तथा फोहर) थुप्रिएर नदीको सतह उच्च हुँदा सहायक नदीमा पानीको निकास अवरुद्ध भई विभिन्न सडक डुबानमा पर्ने समस्या देखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यही असार १८ गतेको अविरल वर्षापछि काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न भई सवारी आवागमन प्रभावित बनेपछि ट्राफिक प्रहरीले विज्ञ टोलीसहित शुक्रबार यहाँका बागमतीसहित सहायक नदीहरूको स्थलगत निरीक्षण गरेको थियो ।

उक्त निरीक्षण अध्ययनका क्रममा बागमती नदीको सतह डेब्रिज उच्च हुँदा टुकुचा, धोबीखोला, विष्णुमतीलगायत सहायक नदीबाट आउने पानी सहज रूपमा बग्न नसकी उल्टो बहाव (ब्याक फ्लो) हुने अवस्था देखिएको उपत्यका ट्राफिक प्रहरीले निष्कर्ष निकालेको छ ।

वर्षा हुँदा बागमती नदीको सतह सहायक नदीभन्दा माथि पुग्ने गरेकाले वर्षाको पानी नदीमा मिसिन नसकी सडकतर्फ फैलिने र सडक जलमग्न हुने गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बागमतीमा थुप्रिएको डेब्रिजका कारण नदीको सतह उचालिएको छ । यसले सहायक नदीहरूको पानीको निकास रोकेको देखिन्छ । सम्बन्धित निकायले विस्तृत अध्ययन गरी दीर्घकालीन समाधान खोज्न आवश्यक छ ।”

वर्षात्को समयमा हुने सडक डुबान न्यूनीकरणका लागि बागमती नदीबाट कम्तीमा पनि डेढ मिटर गहिराइसम्म डेब्रिज हटाउनसके पानीको बहाव सहज हुने भन्दै यसले सडकमा पानी जम्ने समस्या उल्लेखनीय रूपमा कम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ उपत्यकामा वर्षायाममा सडक डुबानको दीर्घकालीन समाधानका लागि नदीको नियमित सफाइ, डेब्रिज व्यवस्थापन, प्रभावकारी ढल तथा पानी निकास प्रणाली सुधारमा सम्बन्धित निकायले समन्वयात्मक रूपमा काम गर्नुपर्ने आवश्यकता उक्त अनुगमन टोलीले औँल्याएको छ ।

ट्राफिक प्रहरीका अनुसार बिहीबारको वर्षापछि सिंहदरबार, न्युप्लाजा, अनामनगर, सिनामङ्गल, गौशाला, तिलगङ्गा, माइतीघरलगायत क्षेत्रका सडक जलमग्न बनेका थिए । सडक डुबानका कारण सवारीसाधन सञ्चालन प्रभावित भए पनि प्रतिकूल मौसमका बीच ट्राफिक प्रहरी निरन्तर सडकमा परिचालित भई यातायात व्यवस्थापनमा खटिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तर्राष्ट्रिय प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन दुवै प्रहरी प्रमुख अमेरिका प्रस्थान गर्दै
२०८३ असार २०, शनिबार
वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह
२०८३ असार २०, शनिबार
बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण
२०८३ असार २०, शनिबार
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
२०८३ असार २०, शनिबार
सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन
२०८३ असार २०, शनिबार
सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा
२०८३ असार २०, शनिबार
वन उद्यममा जोडिँदै नवलपुरका महिला
२०८३ असार २०, शनिबार