रुपन्देही । बुधबार एकै दिनमा तीन वटा बैठक बसेर लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतबाट पारित गरिएको छ । लुम्बिनी प्रदेश सभाबाट प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित गरेसँगै बजेट पारित भएको हो ।
प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत बुधबार १६ औँ, १७ औँ र १८ औँ बैठक बसेको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
बजेटमध्ये चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ र पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको थियो । प्रदेश सरकारले असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गरेको हो ।
आज राति ८ बजे बसेको १८ औँ बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो ।
बैठकमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रस्तुत गरेका थिए । त्यसपछि सभामुख तुलाराम घर्ती मगरले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।
विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थीले भाग लिएका थिए । छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले दिएसँगै निर्णयार्थ पेस भएको थियो ।
पारित विधेयकअनुसार प्रदेश आर्थिक ऐन, २०८३ आगामी साउन १ गतेदेखि लागू हुनेछ । ऐनले प्रदेश सरकारको आर्थिक प्रस्ताव कार्यान्वयन गर्न आवश्यक कर लगाउने, उठाउने, खारेज गर्ने, छुट दिने तथा परिवर्तन गर्ने व्यवस्था गरेको छ ।
साथै राजस्व सङ्कलन, बाँडफाँट र राजस्व प्रशासनसम्बन्धी प्रचलित कानुनी व्यवस्थालाई समयानुकूल संशोधन र व्यवस्थित गर्ने उद्देश्य राखिएको छ । असार १ गते आएको बजेट सत्तारुढ दलकै सांसदहरू असन्तुष्ट भएका कारण २१ गतेसम्म सदनमा छलफल भएको थिएन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया