असार २४, २०८३ बुधबार July 8, 2026

श्रममन्त्री यादव र इजरायली राजदूतबीच भेटवार्ता

हिब्रु भाषा परीक्षाको प्रक्रिया लाई थप व्यवस्थित, पारदर्शी र सहज बनाउने विषयमा विस्तृत छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरी बास बीच बुधबार मन्त्रालयमा शिष्टाचार तथा द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल–इजरायल श्रम सहकार्यलाई थप प्रभावकारी बनाउने, इजरायल जाने नेपाली श्रमिकले हाल भोगिरहेका समस्याको समाधान खोज्ने तथा आगामी दिनमा श्रमिकमैत्री व्यवस्था विकास गर्ने विषयमा केन्द्रित छलफल भएको मन्त्री यादवको सचिवालयले जनाएको छ।

भेटमा विशेषगरी इजरायल जान इच्छुक नेपाली श्रमिकका लागि स्वास्थ्य परीक्षण र हिब्रु भाषा परीक्षाको प्रक्रिया लाई थप व्यवस्थित, पारदर्शी र सहज बनाउने विषयमा विस्तृत छलफल भएको थियो। पछिल्लो समय स्वास्थ्य परीक्षण, भाषा परीक्षा, छनोट प्रक्रिया तथा आवश्यक कागजात व्यवस्थापनका क्रममा देखिएका कठिनाइलाई कसरी न्यून गर्न सकिन्छ भन्ने विषयमा दुवै पक्षले धारणा राखेका थिए।

मन्त्री यादवले इजरायलमा रोजगारीका लागि जाने नेपाली श्रमिकको हित, सुरक्षा र सहजतामा नेपाल सरकार संवेदनशील रहेको उल्लेख गर्दै श्रमिकले अनावश्यक झन्झट र ढिलासुस्ती भोग्न नपर्ने वातावरण बनाउन इजरायली पक्षसँग निरन्तर समन्वय गरिने बताए।

राजदूत बासले पनि नेपाली श्रमिक इजरायलमा मेहनती, अनुशासित र दक्ष जनशक्तिका रूपमा परिचित रहेको उल्लेख गर्दै श्रम आप्रवासनसँग सम्बन्धित समस्या समाधानका लागि इजरायली पक्ष सकारात्मक रहेको बताए। उनले आवश्यक समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

भेटवार्ताको क्रममा दुवै पक्षले नेपाल–इजरायलबीचको श्रम सम्बन्धलाई अझ मजबुत बनाउँदै नेपाली श्रमिकको छनोट, स्वास्थ्य परीक्षण, भाषा परीक्षा र रोजगारी प्रक्रियामा देखिएका व्यावहारिक समस्याको समाधानका लागि संयुक्त रूपमा पहल गर्ने सहमति जनाएका छन्। साथै, भविष्यमा पनि नियमित संवाद र समन्वयमार्फत श्रमिकका हितका विषयलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको मन्त्रालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया