काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच आइतबार बूढानीलकण्ठमा करिब चार घण्टा लामो भेटवार्ता भएको छ।
बिहान साढे ११ बजेदेखि सुरु भएको छलफल दिउँसो सवा ३ बजेसम्म चलेको थियो। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भेटमा सरकारको सय दिनको समीक्षा, पछिल्लो राजनीतिक अवस्था, सुकुम्बासी व्यवस्थापन र मन्त्रिपरिषद् पुनर्गठनलगायत विषयमा विचारविमर्श भएको थियो।
यस्तै, रास्वपाको संगठन विस्तारका क्रममा वरिष्ठ नेतासहित ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्य मनोनयन गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ। यद्यपि कसलाई कुन जिम्मेवारी दिने भन्ने निर्णय अझै टुंगिएको छैन।
छलफलमा पार्टी विधानका केही व्यवस्थाप्रति देखिएको मतभेद पनि उठेको बताइएको छ। विशेषगरी संसदीय दलको नेता परिवर्तन गर्ने अधिकार र वरिष्ठ नेता नियुक्तिसम्बन्धी प्रावधानबारे बालेन पक्षले असन्तुष्टि जनाएको स्रोतको दाबी छ।
रास्वपाको सार्वजनिक विधानअनुसार सभापतिले दिएको नीतिगत निर्देशन उल्लंघन गरेमा वा संसदीय दलमा अविश्वास अथवा प्रत्याह्वान प्रस्ताव पारित भएमा दलको नेताको पद रिक्त हुने व्यवस्था रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया