मोरङ, २९ असारः कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको समृद्धिका लागि पर्यटन क्षेत्र एक महत्वपूर्ण आधार भएको बताउनुभएको छ । कोशी प्रदेश योजना आयोगद्वारा आज यहाँ आयोजित प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य छनोट मापदण्ड निर्धारण विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले नेपालको ऊर्जा, खानीभन्दा पर्यटन क्षेत्र आर्थिक समृद्धिको लागि महत्त्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आगामी साउनदेखि विसं २०८५ सम्म कोशी भ्रमण वर्ष मनाउँदै पर्यटन प्रवर्द्धनमा अघि बढ्नका लागि पनि पर्यटन विकासको गुरुयोजना आवश्यक भएको उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारले २०८२ लाई भ्रमण वर्ष मनाउँदा ८२ वटा गन्तव्य छनोट गरिएको जनाउँदै उक्त सङ्ख्या बढी हुँदा व्यवस्थापनमा कठिनाइ भएकाले यसपटक गुरुयोजना बनाउँदा २० वटा मात्र महत्त्वपूर्ण गन्तव्य छनोट गरेर त्यसलाई पूर्वाधारलगायत सबै सुविधासहित उत्कृष्ट बनाउने लक्ष्य राखिएको जानकारी दिनुभयो ।
प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले प्रदेशमा रहेका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रहरूको पहिचान र विकासका लागि वैज्ञानिक मापदण्ड तयार पारिनु अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो ।
गोष्ठीमा प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले कार्यपत्र प्रस्तुत गर्दै ऐन परिमार्जन गरी सार्वजनिक-निजी क्षेत्रको साझेदारीमा गन्तव्य क्षेत्रको विकास गरेमा दिगो हुने धारणा राख्नुभयो ।
प्रदेश योजना आयोगका सदस्य किशोर राईले ‘कोशी प्रदेश एकीकृत पर्यटक विकास गुरुयोजना’सम्बन्धी आवधारणापत्र, पर्यटनविज्ञ सुमित बरालले ‘प्रमुख पर्यटन गन्तव्य छनोटका राष्ट्रिय तथा अन्तरराष्टिय अभ्यास’ र डा रोशन शेरचनले ‘पर्यटनः आर्थिक समृद्धिको आधार’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यशालामा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विभिन्न क्याम्पसमा होटल व्यवस्थापन विषय अध्ययन गरिरहेका विद्यार्थीहरूको सहभागिता थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया