चितवन। चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना लिने गरी तयारी अघि बढाएको छ । यही साता भर्ना खुल्ने तयारी भएसँगै स्नातक तहमा विदेशी विद्यार्थी भर्ना लिने गरी अन्तिम तयारी सुरु गरिएको हो ।
विश्वविद्यालयले नीतिगत रूपमा अन्तिम निर्णय गरेर भर्ना आह्वान गर्ने तयारी भइरहेको जनाएको छ । विश्वविद्यालयका योजना निर्देशक रामहरि तिमिल्सिनाले विदेशी विद्यार्थी भर्नासम्बन्धी विषयमा भएको छलफल अन्तिम चरणमा पुगे पनि निर्णय भने भइनसकेको बताउनुभयो । भर्ना आह्वान हुनुअघि नीतिगत रूपमा सम्पूर्ण तयारी र व्यवस्थापनका लागि सरोकार भएका व्यक्तिसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
“कुनै पनि विश्वविद्यालय अन्तरराष्ट्रियस्तरको स्तरनिर्धारण गर्नका लागि विदेशी विद्यार्थीको अध्यापन हुनु जरुरी हुन्छ । विश्वविद्यालयलाई अन्तरराष्ट्रियस्तरको बनाउने विभिन्न मापदण्डमध्ये विदेशी विद्यार्थीको अध्यापन एक महत्वपूर्ण आधार भएकाले विदेशी विद्यार्थी भर्नाका लागि छलफल अघि बढाइएको हो”, योजना निर्देशक तिमिल्सिनाले भन्नुभयो ।
नेपालमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले छोटा अवधिमा अनुसन्धानका कार्यक्रम सञ्चालन गर्नुका साथै विदेशी विद्यार्थीको सीप विकासका लागि कक्षा सञ्चालन गरे पनि शैक्षिक उपाधि प्राप्त गर्ने गरी विद्यार्थी भर्नामार्फत अध्ययन/अनुसन्धानको कार्यक्रम सञ्चालन नगरेको योजना निर्देशक तिमिल्सिनाले जानकारी दिनुभयो ।
विश्वविद्यालयले कृषि, वन विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञानको स्नातक कार्यक्रममा विदेशी विद्यार्थी भर्नाको तयारी पनि गरेको हो । तीनवटै सङ्कायका चार कार्यक्रममा विदेशी विद्यार्थी भर्ना लिन लागिएको जनाउँदै कति सङ्ख्यामा भर्ना लिने र शुल्क कति लिने भन्ने विषयमा निर्णय लिन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया