श्रावण १४, २०८३ बिहिबार July 30, 2026

सामाजिक सद्भाव कायम गर्न आग्रह

सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह र उत्तेजना फैलाउने गतिविधिमाथि निगरानी बढाउने,

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम, १४ साउनः आन्दोलन, विरोध वा अन्य सार्वजनिक कार्यक्रममा सरकारी तथा निजी सम्पत्तिमा क्षति पु¥याउने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्ने सिरहामा बसेको सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाको पहलमा बुधबार बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम राख्न जिल्लामा आवश्यकताअनुसार स्थायी संयन्त्र निर्माण गर्ने, नियमित बैठक बस्ने, निर्णयहरूको प्रभावकारी कार्यान्वयन गर्ने तथा प्रचारप्रसारलाई व्यवस्थित बनाउने निर्णय गरेको छ ।

सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह र उत्तेजना फैलाउने गतिविधिमाथि निगरानी बढाउने, संलग्न व्यक्तिहरूको विवरण सङ्कलन गर्ने र आवश्यक कानुनी प्रक्रिया अघि बढाउने निर्णय गर्दै जिल्लाका सबै स्थानीय तहलाई राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज, पत्रकार तथा विभिन्न धार्मिक आस्थाका व्यक्तिहरूको सहभागितामा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै बैठकले सामाजिक सद्भाव कायम राख्ने, ध्वनि प्रदूषण नियन्त्रण गर्ने तथा अफवाह फैलाउनेमाथि निगरानी बढाउने समेत निर्णय गरेको छ ।

प्रजिअ पौडेलका अनुसार बैठकले देवानगञ्ज घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

सिरहा जिल्लामा पछिल्लो समय डिजे तथा चर्को ध्वनिका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परेको, विद्यार्थीहरूको पठनपाठनमा बाधा पुगेको र सामाजिक वातावरण प्रभावित भएको निष्कर्ष निकाल्दै बैठकले मापदण्डविपरीतका डिजे तथा चर्को आवाज प्रयोगमा रोक लगाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको निर्णयपत्रमा सामाजिक एकता, शान्ति सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न सबै पक्षसँग सहयोगको अपिल गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया