असार २२, २०८२ आइतबार July 6, 2025

सरुवा भएर आएका चिकित्सकलाई हाजिरी गर्न नदिन जालझेल : प्रशासनमा ताला, हाजिरी रजिस्टर गायब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सिराहाको लहान नगरपालिका–३ स्थित रामकुमार–उमाप्रसाद स्मारक अस्पताल (लहान अस्पताल)मा सरुवा भएर आएका चिकित्सकलाई हाजिर गर्न नदिन जालझेल गरिएको छ । अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ भने प्रशासनमा ताला लगाएर हाजिरी रजिस्टर गायब गरिएको छ ।

बाराको कलैया अस्पतालबाट सरुवा भएर आएका १०औँ तहका वरिष्ठ फरेन्सिक मेडिकल अधिकृत डा. वीरेन्द्रकुमार मण्डललाई हाजिर गर्न नदिन लहान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनीलप्रसाद कुसवाहले आकस्मिक सेवा बन्द गरेका हुन् । उनले प्रशासन शाखामा प्रवेश गर्ने मूलढोकामा ताला लगाएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रोहित महतोले बताए ।

‘मूलढोकामै ताला लगाएकाले अध्यक्षको कार्यकक्षसहित, प्रशासन, लेखा, स्टोरकिपरको कोठा सबै बन्द छ,’ अध्यक्ष महतोले भने, ‘व्यवस्थापन समितिसँग कुनै समन्वय नै नगरी डा. कुसवाहले ताला लगाएर आकस्मिक सेवा गर्दा बिरामीलाई मर्का पर्नुका साथै दैनिक प्रशासनिक काममा समेत बाधा परेको छ ।’

व्यवस्थापन समितिका अर्का सदस्य गोपालप्रसाद गुप्ताले कोरोना महामारीका वेला अन्य स्वास्थ्य समस्याको उपचार गराउन आउने बिरामीलाई पनि मर्का पर्ने गरी आकस्मिक सेवा बन्द गर्ने, सरुवा भएर आएका चिकित्सकलाई हाजिर नै गर्न नदिएर डा. कुसवाहले मनपरी गरेको बताए । ‘प्रदेशको सामाजिक विकास मन्त्रालयको निर्णयका आधारमा सरुवा भएर आएका आफ्नै सहकर्मी चिकित्सकलाई हाजिर नै हुन नदिने गरी ताला लगाइनु र हाजिरी रजिस्टर गायब गरिनुभन्दा अमर्यादित काम के हुन सक्छ ?’ सदस्य गुप्ताले भने ।

बाराको कलैया अस्पतालको २२ असोजको च.नं. ३६९ को पत्रअनुसार रमाना लिएर २३ असोजमा लहान पुगेलगत्तै अस्पताल गएर हाजिर गर्न खोजे पनि मेसु डा. कुसवाहले हाजिर गर्न नदिएको डा. मण्डलले बताए । ‘पहिलो दिन शुक्रबार परेकाले त्यतिकै फर्किए पनि आइतबार पुनः अस्पताल पुग्दा मेसुसँग भेट हुन सकेन । अहिले त्यत्तिकै भौँतारिनुपरेको छ,’ डा. मण्डलले भने । सामान्यतया दुई वर्षमा सरुवा हुनुपर्ने हो, तर डा. कुसवाह सात वर्षदेखि मेसु भएर बसेका छन् ।

समितिले नयाँ रजिस्टरमा गरायो हाजिर

मेसु डा. कुसवाहले प्रशासन प्रवेश गर्ने मूलढोकामा ताला लगाएर हाजिरी रजिस्टर नै गायब गरेपछि नयाँ रजिस्टर खडा गरिएको छ । सोमबार बसेको समिति बैठकले सामाजिक मन्त्रालयसँगको समन्वयमा नयाँ रजिस्टर खडा गरी डा. मण्डललाई हाजिरी गराएको हो ।

समितिको बैठकले अस्पताल प्रमुखजस्तो व्यक्तिले सरुवा भई आएका कर्मचारीलाई हाजिर हुन अवरोध सिर्जना गर्दा दैनिक कामकाजसमेत प्रभावित भएकाले मन्त्रालय तथा स्थानीय प्रशासनसँग कारबाहीको माग गरेको छ । साथै, सरुवा भई आएका डा. मण्डललाई अस्पतालको आर्थिक तथा प्रशासनिक काम गर्ने गरी प्रमुखको जिम्मेबारी दिन मन्त्रालयलाई सिफारिससहित अनुरोेध गरिएको अध्यक्ष महतोले बताए ।

कोरोनाको नाममा सूचना टाँस

मेसु डा. कुसवाहले सूचना टाँस गरी कोरोनाका कारण सेवा बन्द गर्नुपरेको जनाएका छन् । सूचनामा अस्पतालका चिकित्सक कोरोना संक्रमित भएको र अन्य स्वास्थ्यकर्मीमा पनि लक्षण देखिएकाले अस्पतालको आकस्मिक कक्ष १२ घन्टा तथा अन्य सेवा पिसिआर रिपोर्ट नआउन्जेल बन्द गरिने जनाएको छ ।

अस्पताल स्रोतका अनुसार आइतबार कोरोना पोजिटिभ रिपोर्ट आएका चिकित्सक होम आइसोलेसनमा बसेका छन् । अस्पताल बन्द, सरुवा भएर आएका चिकित्सकको हाजिरी रोक्का र रजिस्टर गायब गरिएको विषयमा डा. कुसवाहसँग पटकपटक सम्पर्क गर्ने प्रयास गरिए पनि उनी सम्पर्कमा आउन चाहेनन् । उनको कलैया अस्पतालमा सरुवा गरिएको थियो । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार