काठमाडौंः स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस भएको छ । मुख्यतः पर्याप्त आईसीयू, भेन्टिलेटर र स्वास्थ्यकर्मी नहुँदा गम्भीर प्रकृतिका बिरामी र कोरोना संक्रमितको उपचार गर्न सकस भएको हो ।
अस्पतालमा बिरामीहरू पुग्दा सजिलै उपचार पाउँदैनन् । यस्तै, बिरामीले अस्पतालमा आईसीयू र भेन्टिलेटर खोज्दा सहजै नपाएको गुनासो गर्दै आएका छन् । कतिपय लक्षणसहितका संक्रमित घरमा बस्न विवश छन् ।
कीर्तिपुर मैत्रीनगरका ४८ वर्षीय एक पुरुषमा लक्षणसहितको संक्रमण देखियो । उनका आफन्तले आईसियूका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फोन गरे । तर, आईसीयू बेड खालि नभएको अस्पतालबाट जानकारी पाए । उनका आफन्तले भने, ‘के गर्नु धेरै अस्पतालमा फोन गरें, बेड छैन भन्ने जबाफ पाएँ । सोर्सफोर्स भएकाले मात्रै पाउँछन् होला । अन्त्यमा वयोधा अस्पतालमा लगें ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशभर २ हजार ६ सय आईसीयू बेड र ९ सय वटा भेन्टिलेटर रहेका छन् । जब कि सक्रिय संक्रमित नै ३३ हजार ८ सय ८० पुगेका छन् । तीमध्ये अधिकांशमा लक्षण देखिएको छ ।
नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार देशभर दर्तावाल चिकित्सकको संख्या २६ हजार ३ सय ४६ रहेको छ । पर्याप्त चिकित्सक ग्रामीण क्षेत्रमा नपुग्दा पनि बिरामीहरू घरमै रोग पालेर बस्न विवश छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ४६ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसमध्ये ६७ जना भेन्टिलेटरमा र २७९ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।
काठमाडौं उपत्यकामा मात्रै ७६ भेन्टिलेटर र १ सय ८१ वटा आईसियू छन् । हाल बाग्मती प्रदेशमा १ सय ५५ जना आईसीयू र ४६ जना भेन्टिलेटरमा उपचाररत छन् । यसरी हेर्दा पनि ३० वटा भेन्टिलेटर र २१ आईसीयू खाली देखिन्छन् । तर, गम्भीर प्रकृतिका बिरामीले अस्पताल पुग्दा भेन्टिलेटर र आईसीयू नभएको जबाफ पाउने गरेका छन् । राजधानी दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया