कुनै आन्दोलन वा विरोध प्रदर्शन हुनेबित्तिकै तपाईं सधैं सम्बन्धित ठाउँमै पुगेर छलफल गरिहाल्नुहुन्थ्यो । तर यसपालि तराईमा देखिएको समस्या समाधानमा निकै ढिला गर्नुभयो । सुरुमा प्रहरी परिचालन गरी बल प्रयोगको रणनीति लिनुभयो । पाँचौं दिन मात्रै तपाईं तराई जानुभयो । खासमा तराईको तनाव कस्तो हो ? सरकार कहाँ चुक्यो ? त्यहाँ गएर के के गर्नुभयो ?
त्यो सरकारविरुद्ध भएको आन्दोलन थिएन । विगतमा हुने गरेका झडपहरूमध्ये अर्को एउटा झडप मात्रै थियो । तर, यस पटक दुवै पक्ष अत्यन्त आक्रामक बनेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । त्यतिबेला एक जना प्रहरी इन्स्पेक्टरको टाउकामा चिर्पट प्रहार हुँदा ६ वटा टाँका लगाउनुपर्ने अवस्था आएको थियो ।
हामी प्रत्येक विषयलाई गम्भीरतापूर्वक लिइरहेका थियौं । अझ हिन्दु–मुस्लिम समुदायसँग जोडिएको विषय भएकाले यसलाई कसरी नियन्त्रणमा लिने भन्नेबारे केन्द्रस्तरबाटै रणनीति बनाइरहेका थियौं । तर, रणनीति बनाउँदै गर्दा घटना सल्किसकेको थियो । त्यसपछि आगोको झिल्को डढेलोमा परिणत नहोस् भनेर राष्ट्रियस्तरमै नियन्त्रण गर्ने रणनीति बनाउन केही समय लागेको हो ।
त्यो भन्दैमा गृहमन्त्री नै तत्काल घटनास्थल पुग्नुपर्छ भन्ने आवश्यकता थिएन । सरकारका प्रतिनिधिका रूपमा स्वास्थ्यमन्त्री त्यहीँ हुनुहुन्थ्यो । घाइतेहरूको उपचार भइरहेको थियो र नागरिकको सुरक्षा सुनिश्चित गर्ने भन्ने विषयमा निरन्तर योजना र रणनीति बनाइरहेका थियौं । राति १२ बजेसम्म बैठक बसेर काम गरिरहेका थियौं । त्यसैले सरकारले काम नगरेको भन्ने होइन । नागरिकमा गृहमन्त्री आफैं आउनुपर्छ भन्ने अपेक्षा बढ्दै गएको देखियो । त्यसपछि नागरिकलाई दुःख परेका बेला आफैं पुग्नुपर्छ भन्ने निष्कर्ष निकाल्यौं । स्वास्थ्यमन्त्री पुगिसक्नुभएको अवस्था हुँदाहुँदै पनि म स्वयं पीडित परिवार र घाइतेहरूलाई भेट्न गएँ ।
हामीलाई सुरुबाटै यो घटनालाई अवसर बनाएर राजनीतिक रूपमा रोटी सेक्ने प्रयास हुन सक्छ भन्ने आकलन थियो र पछि त्यही भयो पनि । त्यसैले त्यस्तो अवस्था आउन नदिन हामी पहिले नै पीडित परिवारसँग संवाद गर्न गयौं । साँझ ७ बजे पुगेपछि रातभर छलफल गर्यौं । पीडित परिवार र घाइतेहरूलाई सबै कुरा बुझायौं, सम्झायौं । भोलिपल्ट उज्यालो भएपछि ‘यदि विश्वास लाग्छ भने मात्र हस्ताक्षर गर्नुहोस्, तपाईंहरूको इच्छाविपरीत कुनै काम हुँदैन’ भनेर स्पष्ट रूपमा भन्यौं । त्यसपछि उहाँहरूले स्वेच्छाले हस्ताक्षर गर्नुभयो र आन्दोलन पनि साम्य भयो ।
तनाव भइरहेको क्षेत्रमा पुग्न किन ढिलो गर्नुभयो ?
यो विषयको गम्भीरता बुझेरै राष्ट्रियस्तरमा रणनीति बनाउन केही समय लागेको हो । हाम्रो मुख्य चिन्ता आगोको झिल्को अझ फैलिन नदिने भन्ने थियो । धेरै प्रयास गर्दागर्दै पनि अवस्था अहिलेको तहसम्म पुग्यो भने त्यसबाटै यो विषय कति संवेदनशील थियो भन्ने बुझ्न सकिन्छ । त्यसैले केही समय केन्द्रमै बसेर प्रहरीको कमान्ड कहाँसम्म पुगेको छ, कहाँ थप परिचालन आवश्यक छ भन्ने मूल्यांकन गर्दै सोहीअनुसार रणनीति बनाउनुपरेको थियो । त्यसकारण काठमाडौंमै बसेर समन्वय गर्नुपर्ने आवश्यकता थियो । त्यसैले केही ढिलाइ भएको हो । तर, त्यसबीच सरकारका तर्फबाट स्वास्थ्यमन्त्री घटनास्थलमा पुगिसक्नुभएको थियो ।
एउटा सामान्य विवाद तथा झडपमा प्रहरीले सुरुमा गोली प्रहार गरेर स्थितिलाई झन् भयावह बनाउने र भड्काउने काम गर्यो भन्ने आरोप छ नि ?
त्यहाँ प्रहरी नभएको भए अवस्था के हुन्थ्यो ? दुवै पक्षमा तीन–चार सयको भीड थियो । हिन्दु र मुस्लिम दुवै समुदायका मानिसहरू भाला, बाँस, चिर्पटलगायतका घरेलु हतियार बोकेर आमनेसामने थिए । त्यस्तो अवस्थामा प्रहरीले हस्तक्षेप नगरेको भए कति जना घाइते हुन्थे र कति जनाको ज्यान जान्थ्यो भन्ने अनुमान गर्न पनि कठिन छ । त्यसले निम्त्याउन सक्ने द्वन्द्व अझ गम्भीर हुन सक्थ्यो । अहिले यति हुँदा पनि समाजमा तनाव छ भने, प्रहरीले हस्तक्षेप नगरेको भए एकअर्काप्रतिको अविश्वास र घृणा झन् बढ्ने थियो । अवस्था कुन तहसम्म पुग्थ्यो र त्यसलाई पछि नियन्त्रण गर्न सम्भव हुन्थ्यो कि हुँदैनथ्यो भन्ने नै प्रश्न हुन्थ्यो । धार्मिक द्वन्द्वसमेत चर्किन सक्ने जोखिम थियो । यही जोखिमलाई रोक्न प्रहरीले आफ्नो ज्यानको पर्वाह नगरी दुई पक्षको बीचमा उभिएर अवस्था नियन्त्रणमा ल्याएको हो । त्यसक्रममा एक जना प्रहरी इन्स्पेक्टरको टाउकामा चिर्पट प्रहार हुँदा उहाँलाई टाउकामा टाँका लगाउनुपर्ने अवस्थासमेत आएको थियो ।
सीमा नाका भएकाले त्यो विशुद्ध दुई समुदायबीच झगडाको विषय मात्रै हो कि बाह्य विषयहरू पनि छन् ?
त्यो छानबिनको विषय हो । छानबिनपछि मात्रै थाहा हुन्छ ।
सुनसरीको तनाव बढ्दै गएर सिरहा र धनुषातर्फ पनि फैलियो । गोलबजारमा पनि तनाव भयो । गोलबजारमा कसले गोली चलायो भन्ने अझै खुलेको छैन । त्यस विषयमा के भइरहेको छ ?
त्यस विषयमा पनि अध्ययन गर्न छानबिन समिति गठन गरिएको छ । निष्पक्ष र विश्वसनीय अनुसन्धान होस् भन्ने उद्देश्यले नै समिति बनाइएको हो । दुवै छानबिन समितिका सन्दर्भमा पीडित पक्षले उठाएका जायज मागलाई हामीले तत्काल सम्बोधन गरेका छौं । उहाँहरूले एसपीप्रति असन्तुष्टि जनाएपछि तत्कालै उहाँलाई हटाइएको छ । त्यसबाहेक अनुसन्धानलाई थप विश्वसनीय बनाउन ब्यालेस्टिक, फरेन्सिक तथा अन्य प्राविधिक विज्ञहरू पनि टोलीमा समावेश गरेका छौं । यी सबै कदम अनुसन्धान निष्पक्ष, पारदर्शी र तथ्यमा आधारित होस् भन्ने उद्देश्यले चालिएका हुन् । बाँकी विषय अनुसन्धानकै क्रममा रहेकाले यसबारे धेरै टिप्पणी गर्नु उपयुक्त हुँदैन ।
जेन–जी आन्दोलनदेखि सुनसरीमा भएको घटनासम्म आइपुग्दा प्रहरीले गोली चलाउनेबित्तिकै नागरिकको ज्यान जाने गरेको छ । प्रहरीलाई गैरघातक हतियार दिने विषयमा यत्रो समयसम्म किन केही काम गरिएन ? किन सिधै घातक हतियार प्रयोग हुन्छ ?
गैरघातक हतियार खरिदका लागि साउनदेखि मात्रै बजेट खर्च गर्न मिल्ने अवस्था छ । त्यसअघि बजेट नै चलाउन मिल्ने अवस्था थिएन, किनभने पुरानै बजेटमा चलिरहेका थियौं । अब खरिद प्रक्रिया सुरु गर्दै छौं । भीड नियन्त्रणका लागि आवश्यक सबै प्रकारका गैरघातक हतियारलाई त्यसमा समेटेका छौं । ड्रोनबाट अश्रुग्यास हान्ने, ड्रोनमार्फत माइकिङ गर्ने, ड्रोनबाट निगरानी गर्ने, भीड व्यवस्थापनलाई प्रभावकारी बनाउने, कमान्ड सेन्टरबाट अवस्थाको निगरानी गर्ने, ब्यारिकेटलाई थप प्रभावकारी बनाउने तथा महत्त्वपूर्ण संरचनालाई मानवीय क्षति नगरी कसरी सुरक्षित राख्ने भन्नेमा हाम्रो मुख्य ध्यान छ । त्यसका लागि आवश्यक प्रक्रिया अघि बढिरहेको छ । अहिले केही सुरक्षाकर्मीको मनमा अवस्था बिग्रियो भने गोली चलाइहाल्नुपर्छ भन्ने पुरानो सोच छ । हामी त्यही सोच परिवर्तन गरेर गैरघातक उपायलाई प्राथमिकतामा राख्ने प्रणाली विकास गर्न चाहिरहेका छौं ।
जेन–जी आन्दोलनकै चर्चा गर्दा तपाईं बीच भागमा गाडीमा हुनुहुन्थ्यो, प्रहरीले अश्रुग्यास हानिरहेको थियो । त्यो अश्रुग्यासको भने म्याद नाघेको थियो । तर, अहिलेसम्म पनि प्रहरीले नयाँ अश्रुग्यास खरिद गरेको छैन भनेपछि समस्या त अझै उस्तै रहेछ नि होइन ?
तत्कालका लागि कुनै पनि म्याद नाघेको अश्रुग्यास छैन । त्यो मिल्दै मिल्दैन । म्याद नाघेको अश्रुग्यास चलाउन पाइँदैन । अर्को विषय भनेको मुख्यगरी भीडलाई वार्तामार्फत समाधान गर्ने हो । हामी जानेबित्तिकै तनाव कम हुन्छ, त्यसैले म समय–समयमा वार्ताका लागि आफैं पनि जाने गर्छु । फेरि पनि भन्छु, दंगा नियन्त्रणका सामानहरू खरिद गर्न बल्ल बजेट आएको छ । जे सामान प्रहरीले बोकिरहेको छ, त्यो सबै पहिलेकै हो । बजेट पनि पहिलेकै हो । भिजन भइसक्यो, काम गर्न पाएको छैन । बल्ल साउन आयो, बल्ल खरिद गर्न मिल्छ । अब हाम्रो तरिकाले सुरु हुन्छ ।
जेन–जी आन्दोलनमा पनि ‘यत्रो तयारी भइरहेको थियो, इन्टेलिजेन्सले थाहै पाएन’ भन्ने भयो । सुनसरी घटनामा केही पूर्वसूचना थियो ?
त्यो सरकारविरुद्ध भएको आन्दोलन होइन । झन्डाको विषयमा भएको विवादपछि झडप भएको हो । झडप भएपछि मात्रै थाहा भएको हो । तर, हिन्दु–मुस्लिम समुदायबीच तनावको सम्भावना रहेको विषय भने पहिलेदेखिकै थियो । पछि दुई समूहबीचको झडप अन्य ठाउँमा पनि भावनात्मक रूपमा फैलियो । त्यसलाई केहीले राजनीतिक रूपले रोटी सेक्ने काम पनि गरे । घटना एक्कासि भएको थियो । त्यसैले ठ्याक्कै यही रूप लिन्छ भनेर पहिल्यै अनुमान गर्न सकिने अवस्था थिएन । तर, पछि धेरै पक्षले यसलाई उचाल्दै लगे र तनाव थप बढ्यो ।
आगामी दिनमा यस्ता घटना हुन नदिनलाई के गर्नुपर्ने रहेछ ?
प्रहरीको गोलीले नागरिकको ज्यान गएकामा मलाई असाध्यै दुःख लागेको छ । त्यो हुन नहुने थियो । हाम्रो देशमा कहिल्यै पनि धार्मिक द्वन्द्व भएको छैन । त्यसैले धर्मसँग खेलेर राजनीति गर्न खोज्नेहरूबाट हामी सचेत रहनुपर्छ । त्यहीअनुसार राष्ट्रियस्तरमा रणनीति बनाएका छौं । हाम्रो बानी नै हरेक घटनाको समीक्षा गर्ने र कमजोरी देखिए सच्याउने हो । त्यसैले यसपालिको घटनाबाट पनि धेरै कुरा सिकेका छौं । अब त्यही अनुभवका आधारमा कहिल्यै द्वन्द्व हुन नदिन के–कस्ता उपाय अपनाउने भन्ने विषयमा राष्ट्रियस्तरमै योजना बनाइरहेका छौं ।
गृह मन्त्रालयमा यत्तिको समयसम्म नेतृत्वमा रहँदा कस्तो अनुभव रह्यो ? के–के सुधार गर्नुपर्ने देख्नुभयो ?
मैले मन्त्रालयअन्तर्गतका सबै विभागदेखि शाखासम्म हरेक क्षेत्रमा सुधार आवश्यक देखें । त्यसका लागि एउटा ‘रिफर्मेसन प्लान’ बनाइँदै छ । पहिलेजस्तो तरिकाले गृह मन्त्रालय चलाएर मात्रै हुँदैन, नयाँ ढंगले अघि बढ्नुपर्छ भन्ने हिसाबले छुट्टै ‘रिफर्मेसन टिम’ गठन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल प्रहरीमा पनि रिफर्म हुँदै छ । अबको ५० वर्षसम्मलाई हेरेर हामीले ‘रिफर्मेसन’ को योजना बनाइरहेका छौं । मन्त्रालयमा आएदेखि मैले के देखेको छु, भने जुन आदेश दिइन्छ, त्यो दिँदा सुरुमा तातेर एक हदसम्म काम हुन्छ, त्यसपछि फेरि सेलाउँदै जान्छ । त्यसपछि मैले बुझेर दिएको आदेश फिल्डमा कार्यान्वयन भएको छ कि छैन ? भनेर ‘पब्लिक फिडब्याक’ लिने, त्यसपछि फेरि ‘फलोअप’ गर्ने, नभए आफैं पनि जाने गर्न थालें । मैले अहिलेसम्म मन्त्रालयमा देखेको मुख्य समस्या कार्यान्वयन र ‘फलोअप’ कै छ । सबै मन्त्रालयमा यही समस्या रहेछ, सुरुमा जोसमा काम गर्छन्, पछि सेलाउँदै जान्छ ।
अब हामीले दिएका सबै आदेशलाई नीति–नियममै राखेर कार्यान्वयन गर्नुपर्छ । त्यसो भयो भने मात्रै दीर्घकालीन प्रभाव पर्छ । त्यो नगरेकामा के गरेको, के भन्ने पनि छुट्याइन्छ । अर्को कुरा, हाम्रोमा कर्मचारीलाई ‘मोटिभेट’ गर्ने प्रणाली नै छैन । पारदर्शी हिसाबले सरुवा, बढुवा हुने गरेका छैनन् । ‘डिजिटाइजेसन’ त शून्य छ । सबै काम ‘म्यानुअल’ रूपमा भइरहेको छ । अहिले पनि पुरानै शैलीमा काम भइरहेको छ । नयाँ शैलीमा जे जे भएको छ, अहिले हामी आएपछि मात्र भएको छ ।
अहिले अपराधको प्रकृति नै बदलिइसकेको छ । साइबर थ्रेट, डिजिटल अट्याकका विषय आएका छन् । गृह मन्त्रालयमै साइबर अट्याक भयो भने हामी त्यसका लागि तयार छैनौं । डिटल्ली अफेन्स र डिफेन्स दुवैतर्फ हाम्रो तयारी छैन । त्यो तयारी गर्दै छौं । त्यसैले हामी अहिले पूरै प्रणाली ‘डिजिटाइज’ गर्दै छौं । अब हामीले निर्देशन जारी गर्दा ‘इन्टरनल एड्मिनिस्ट्रेटिभ सफ्टवेयर’ प्रयोग गर्नेछौं । मैले निर्देशन जारी गरेपछि त्यो सचिवकहाँ जान्छ, सचिवबाट सम्बन्धित विभागमा जान्छ, विभागबाट सम्बन्धित कर्मचारीकहाँ पुग्छ । त्यसपछि फेरि ‘ब्याक ट्र्याक’ हुन्छ । अर्थात् मैले दिएको आदेश कुन कर्मचारीकहाँ पुगेको छ, कार्यान्वयन भयो कि भएन भन्ने विषय म तुरुन्तै देख्न सक्छु ।
कार्यसम्पादन राम्रो नभएको खण्डमा त्यो कर्मचारी उपयुक्त छैन भन्ने थाहा भइहाल्छ, प्रक्रियामा लगेर आवश्यक कारबाही गर्छु । राम्रो काम गरेको छ भने कार्यसम्पादनकै आधारमा बढुवा र सरुवाका निर्णय हुन्छन् । यही प्रणाली नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा पनि लागू गर्ने योजना छ । अहिलेको सबैभन्दा ठूलो समस्या बढुवा र सरुवामै देखिन्छ । बढुवामा सधैं भनसुन हुने र पैसा दिनुपर्ने पहिल्यैदेखि सुन्दै आएको हो । तर, वास्तविकतामा पनि यो समस्या छन् । नाकामा सरुवा हुन खोज्ने कारण के त ? यो कुरा सबैलाई थाहा छ । त्यसैले अब यो सबै प्रक्रिया पूर्ण रूपमा ‘डिजिटाइज’ गरिन्छ । मानौं, एउटा इन्स्पेक्टरको कार्यसम्पादन मूल्यांकन गर्नुपर्यो । उसको मातहतका कर्मचारीलाई उसले दिएको काम, उनीहरूले गरेको काम र त्यसको परिणाम सबै ‘डिजिटल’ रूपमा रेकर्ड हुन्छ ।
सेवाग्राहीले गुनासो राख्छन् । त्यो गुनासो सम्बोधन भयो कि भएन भन्ने पनि प्रणालीमै देखिन्छ । वृत्त प्रमुख इन्स्पेक्टरको कार्यसम्पादन त्यही आधारमा मूल्यांकन हुन्छ । जिल्लाले पनि उसले कति उजुरी दर्ता गर्यो, कति फर्छ्योट गर्यो भन्ने सबै डेटा इन्ट्री गर्छ । त्यसका आधारमा मूल्यांकन हुन्छ । त्यसलाई रेटिङ गर्न सकिन्छ ।
अहिले पब्लिकका धेरै गुनासा के छन् भने मीठो बोलेन, सेवा राम्रो भएन, झपार्यो, व्यवहार राम्रो भएन । त्यसका लागि प्रत्येक प्रहरी वृत्तमा एउटा क्यूआर कोड राखिन्छ । त्यो स्क्यान गरेर सेवाग्राहीले त्यहाँ कार्यरत इन्स्पेक्टरदेखि सबै कर्मचारीबारे के छ भनेर पब्लिकले रेटिङ गर्न पाउँछ । त्यसपछि गलत भएको भए कारबाही हुन्छ । त्योचाहिँ सिपाही हवल्दारलाई कारबाही हुँदैन, जसले कमान्ड गरेको छ, उसलाई कारबाही हुन्छ । उसको प्रमोसनमा दाग लाग्छ, फाइभ स्टारमा उसले कति रेटिङ पायो ? उसको मातहतमा भएका कर्मचारीको पर्फमेन्सले पनि उसको क्वालिटीलाई निर्धारण गर्छ । अनि, मेरो रेटिङ यस्तो नगर्दिनु भन्ने डर हुन्छ, कसैले नराम्रो गरेको छ भने पब्लिकले यो मान्छेले नराम्रो गर्यो भनेर पनि नाम दिएको हुन्छ । त्यसले मेरो प्रमोसनलाई ‘ह्याम्पर’ गर्छ भन्ने हुन्छ र ऊ आफैं जिम्मेवार हुन्छ ।
गृह प्रशासन मातहत प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीलगायतको नेतृत्वमा जिल्ला–जिल्लामा कर्मचारीहरू छन्, तर तपाईं किन सधैं आफैं फिल्डमा जानुहुन्छ ? प्रणालीले काम गर्दैन भन्ने लागेको हो ?
प्रणालीले मात्रै काम गर्ने भएको भए समस्या पहिल्यै समाधान भइसक्थ्यो । त्यसैले प्रणालीले कहाँ काम गरिरहेको छैन भन्ने बुझ्न सम्बन्धित ठाउँमै जानुपर्छ । किन बारम्बार यही प्रणाली असफल भइरहेको छ भन्ने समस्या पहिचान गर्न पनि सम्बन्धित ठाउँमै पुग्न आवश्यक हुन्छ । त्यही कारण म बारम्बार ग्राउन्डमा जान्छु । पछि आफूले दिएको निर्देशन कार्यान्वयन भएको छ कि छैन भन्ने पनि त्यहीँ गएर हेर्छु । मन्त्रालयमा आएपछि कहाँ–कहाँ कमीकमजोरी छन् भन्ने पहिचान गरेर, निड एसेस्मेन्ट र समस्या विश्लेषणका आधारमा सुधार र कार्यान्वयनका योजना अघि बढाउने हाम्रो उद्देश्य हो ।
तर, ग्राउन्डमा जाँदा धेरैले तपाईंलाई स्टन्ट गरेको भन्ने गरेका छन् । तपाईंले पनि अब त्यसरी जान्न भनेर संसदीय समितिमा भन्नुभयो । अब साँच्चै फिल्डमा जानुहुन्न कि बेलाबेलामा मात्रै जाने भन्ने हो ?
म एक्लैले सबै ठाउँ भ्याउन सक्दिनँ । कसैले केही भन्दैमा मैले लिएको भिजन र मिसनबाट पछि हट्ने मान्छे होइन । जेन–जी आन्दोलनपछि मेरोबारेमा के–के मात्र भनिएन ? ती सबै कुरा सुन्दै हिँड्ने हो भने म आज यहाँ हुन्थिनँ । जे पर्छ, लडेर सामना गर्छु भन्ने सोचका साथ अघि बढेको हो । त्यसैले कसैको आलोचनाले मेरो काम गर्ने शैली परिवर्तन हुँदैन । तर, देशैभरि पुग्नुपर्ने भएकाले म एक्लैले सबै ठाउँमा जान सम्भव हुँदैन । त्यसैले टिम बनाएर काम गरिरहेका छौं । कहिले म आफैं जान्छु, कहिले टिम जान्छ । त्यसले सम्बन्धित कर्मचारीमा पनि जुनसुकै बेला जोसुकै अनुगमनका लागि आउन सक्छ, माथिसम्म रिपोर्ट हुन सक्छ भन्ने सन्देश जान्छ । सुरुमा त्यो डरले भए पनि नियम–कानुन पालना गर्न बाध्य हुन्छन् । बिस्तारै त्यही व्यवहार बानी बन्छ, अर्थात् ‘मसल मेमोरी’ बन्छ । अहिलेको ‘मसल मेमोरी’ के छ भने, ‘मन्त्री त आउँछन् र जान्छन्, कर्मचारी त हामी नै सधैं रहने हो’ भन्ने सोच छ । ‘पाँच वर्ष थेगिदिउँला, त्यसपछि अर्को मन्त्री आउँछ’ भन्ने मानसिकता छ । म त्यही ‘मसल मेमोरी’ परिवर्तन गर्न खोजिरहेको छु ।
त्यो परिवर्तन हुन्छ जस्तो लाग्छ ? अहिलेसम्मको तपाईंको बुझाइ के छ ?
मलाई परिवर्तन हुन्छ जस्तो लाग्छ । परिवर्तन नहुने भए त चुनाव जितिँदैनथ्यो होला । देश स्थिर हुँदैनथ्यो होला । मैले अहिलेसम्म हार मानेको छैन । डराएको पनि छैन । अलिकति, जनतालाई दुःख–सुख पर्दा इमोसनल भएको हुँला । तर फेरि आँसुलाई कमजोरीका रूपमा लियो भने त्यो चाहिँ गलत हो । त्यो कमजोरी होइन, त्यो देश र जनताप्रतिको माया र जिम्मेवारी बोध हो ।
मन्त्री बनिसकेपछि तपाईं शृंखलाबद्ध रूपमा फिल्डमा जानुभयो । तपाईं फिल्डमा जानेबित्तिकै प्रहरी र सशस्त्रका कर्मचारीलाई जिम्मेवारीबाट हटाउने काम पनि गर्नुभयो । खासमा फिल्डका प्रमुख समस्याहरू के के देख्नुभयो ?
फिल्डमा जाँदा ग्राउन्डको वास्तविकता पूर्णरूपमा फरक हुन्छ । सिंहदरबारको चार वटा भित्ताभित्र मात्रै बसेर कसैको भविष्य कोर्ने हामीलाई अधिकार छैन । पहिलादेखि भइआएको त्यही हो । ग्राउन्डका मानिसले पाइरहेको दुःख र भोगिरहेको पीडा त्यही तहमा बस्ने मानिसलाई मात्र थाहा हुन्छ । त्यही तहमा पुगेर प्रत्यक्ष रूपमा देखेपछि मात्र के–के समस्या छन् भन्ने बुझिन्छ । अनि, बल्ल आवश्यकताका आधारमा नियम कानुनमा संशोधन गर्ने विषय के–के छ भन्नेमा निष्कर्षमा पुगेर परिवर्तन गर्ने हो नि । अहिले मुख्य समस्या देखिएको भनेको कार्यान्वयन र फलोअप हो । निर्देशन त राम्रो गइरहेको छ । योभन्दा राम्रो अरू के जानुपर्छ र ? राजनीतिक रूपमा कुनै हस्तक्षेप हुँदैन, तपाईंहरूलाई कुनै दबाब छैन, सरुवा र बढुवाका लागि धाउनु पनि पर्दैन, स्वतन्त्रपूर्वक काम गर्नुस् भनेको छ । यस्तो कुन समय थियो र अहिलेसम्म ? थिएन नि त । तर, ‘मसल मेमोरी’ जुन छ नि, त्यत्रो वर्षको । त्यसलाई एक्कासि फेर्दा पनि मान्छे परिवर्तन हुन सक्दैन । त्यसैले कार्यान्वयन र फलोअपको जरुरी छ । फलोअप नहुँदा धेरै ‘आउट अफ ट्र्याक’ भएको देखिन्छ । नियम कानुन, कार्यविधि त छ, गृह मन्त्रालयसँग । तर, त्यो अहिलेसम्म फलो हुन सकेको छैन, कार्यान्वयन हुन सकेको छैन ।
जेन–जी आन्दोलनमा दमन गर्नेमाथि कारबाहीदेखि लिएर भ्रष्टाचारका विषयमा तपाईंहरूले अग्रसरताका साथ काम गरिरहनुभएको छ । अनुसन्धान र पक्राउ भइरहेका छन् । तर धेरै केसहरू हेर्दा अदालतमा गएर अड्किने गरेको, छाड्ने गरेको अवस्था छ । यो अवस्था आउनमा तपाईंहरूले प्रक्रिया पूरा गर्न नजान्नुभएको हो कि अन्य केही कारण छन् ? प्रहरी त यही हो, अधिकृतहरू पनि पुरानै हुन् । अनुसन्धान पनि उनीहरूले नै गरिरहेका छन् । अहिले त उनीहरूले झन् स्वतन्त्र रूपमा अनुसन्धान गर्न पाएका छन् । यति अनुभवी अधिकृतहरूले ‘सुधन गुरुङले भन्यो’ भन्दैमा गएर कसैलाई पक्राउ गर्ने कुरा हुँदैन । उहाँहरूले कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान गर्नुहुन्छ । नियम–कानुनका आधारमा काम गर्नुहुन्छ । हाम्रो पहिलो निर्देशन नै कानुनअनुसार काम गर्नुपर्छ, कानुनी रूपमा कुनै कमजोरी हुन हुँदैन भन्ने हो । यति सबै प्रक्रिया पूरा गर्दागर्दै पनि अदालतले कसैलाई छोड्छ भने त्यो अनुसन्धानकर्ताको मात्रै कमजोरी भन्न मिल्दैन । हामीले प्रक्रिया पूरा गरेर, विज्ञहरूको राय लिएर, महान्यायाधिवक्ता र सरकारी वकिलसँग समेत परामर्श गरेर ‘यो फाइल अदालतमा टिक्छ कि टिक्दैन ?’ भन्ने सुनिश्चित गरेपछि मात्रै अघि बढाउने हो । त्यसपछि मात्र पक्राउ वा अभियोजनको प्रक्रिया अघि बढ्छ । हामी कसैलाई आवेगमा आएर ‘यसलाई पक्राउ गरिदिऔं’ भनेर समात्ने होइनौं । त्यो मिल्ने कुरा पनि होइन । तर, मेरो बारेमा ‘सुधन गुरुङ आवेगमा निर्णय लिन्छ’ भन्ने न्यारेटिभ बनाउन खोजिएको छ । तर, के बुझ्नुपर्छ हामी विधिको शासनमा विश्वास गर्छौं र त्यसकै लागि संघर्ष गरेर यहाँसम्म आएका हौं ।
तपाईंहरूले हात हालेका कुनै पनि केसहरू निष्कर्षमा पुगेनन् । समस्याको जड के हो जस्तो लाग्छ ?
केही न्यायाधीशहरूले कतिपय ठाउँमा सहयोग नगरेको हो जस्तो महसुस हुन्छ । किन भन्ने सबैलाई थाहा छ, भन्नचाहिँ मिल्दैन । विश्वले भनिरहेको छ कि जेन–जी आन्दोलनका बेला राज्य पक्षबाट मानवताविरुद्धको अपराध भएको हो । यो मात्र होइन, चुनावले पनि बताइसकेको छ कि जनता कुन पक्षमा, कुन ठाउँमा छन् भनेर । दुईतिहाइको बहुमत अहिलेसम्मयसरी आएको थिएन । यत्रो मत आएको छ । यत्तिकै आकाश त खसेको होइन, फकाएर पनि ल्याएको होइन । किन्न पनि सक्ने होइन, त्यत्रो मान्छेलाई । किन्न सक्ने भए यत्रो फन्डिङ कहाँबाट ल्याउनु ? यत्रो हुँदाहुँदै पनि जनताको कुरालाई अनुमोदन नगरेर अझै पनि केही न्यायाधीशहरू न्याय दिने पक्षमा छैनन् जस्तो लाग्छ । मैले कानुनी छिद्रहरूमा खेल्ने ट्रेन्ड देखें । अपराध पनि त्यसमै गर्ने । एउटा शब्दले भाष्य परिवर्तन गर्ने । ‘वा, र, पनि’ ले पनि न्यारेटिभ फेर्ने । यति धेरै खेलेको छ कि… ? देशको हितमा काम गर्नु नि ।
यसलाई चाहिँ कसरी सुधार गर्नुहुन्छ त ? न्याय दिँदा त न्यायपालिकादेखि अरू मन्त्रालय र विभागमा पनि गएर जोडिन्छ । यसलाई चाहिँ कसरी सम्बोधन गर्ने सोच्नुभएको छ ?
हामीले हाम्रो क्षेत्राधिकारभित्रको काम गर्ने हो । तर, न्यायपालिकामा ‘रिफर्मेसन’ चाहिएकै छ । त्यसमा नयाँ प्रधानन्यायाधीशले पनि सुधार गर्नुहुन्छ भन्ने आशा छ । साँच्चिकै भन्नुपर्दा मान्छे मरिसकेको हुन्छ, मुद्दा चलिरहेको हुन्छ । यसर्थ, न्यायपालिकामा पारदर्शिता पनि चाहिएको छ ।
जेन–जी आन्दोलनमा ७६ जनाको ज्यान गयो । कसले गोली चलायो, के भयो भन्ने प्राविधिक विषय भयो । तर त्यतिबेला ज्यान गुमाउनेहरूले त अहिलेसम्म न्याय पाएका छैनन् नि ? कहिले पाउँछन् ?
न्याय दिलाउनलाई सुरुमै न्यायालयमा पठाएको होइन र ? अनि, हामीलाई अन्याय भएन र ? २३ भदौको घटनामा कसलाई पक्राउ गरिएको छ भन्नुस् त ? २४ भदौको सबै भित्र छन् । उनीहरूका परिवार सडकमा बसिरहेका छन्, न्याय मागिरहेका छन् । बल्ल त्यसका लागि सबै कुरा प्रक्रिया पुर्याएर काम गरिरहेका छौं । फेरि प्रक्रिया पुगेन भनेर हामीलाई ‘जोसमा आएर गर्यो’ भन्छन् । उहाँहरूले चाहिँ होसमा गरेको कुरा यही हो त ? अहिले बल्ल समिति बनेको छ । कति जना गोली लागेका जेन–जी भाइहरू पनि जेलमा छटपटाइरहेका छन् । उनीहरूका लागि समिति गठन गरेका छौं, त्यो समितिको प्रतिवेदन आएपछि बल्ल छुटाउनका लागि सिफारिस गर्न मिल्छ । प्रक्रियाअनुसार जानुपर्यो । सुधन गुरुङ कुर्सीमा बस्यो, अब इच्छा लाग्यो भन्दैमा निकाल्न मिल्दैन ।
जेन–जी आन्दोलनमा राज्यपक्षबाट भएको दमनको विषयलाई लिएर सुरक्षाकर्मी र कर्मचारीको हकमा कारबाही सिफारिसबारे अध्ययन गर्न छुट्टै समिति बनेको थियो, त्यो प्रक्रिया कहाँ पुग्यो ? के भइरहेको छ ?
त्यसमा पनि हाम्रो अनुसन्धान भइरहेको छ । उहाँहरूले रिपोर्ट ल्याउनुभएको थियो । तर त्यसको ‘टीओआर’ अझै हामीले थप्दै छौं । ‘टीओआर’ थपेर त्यसलाई अझै राम्रोसँग इन्भेस्टिगेसन गरेर हेर्न खोज्दै छौं । फेरि यसमा गोली नहानेको मान्छे फस्नु पनि भएन नि त । गोली हानेको मान्छे मात्र पर्नुपर्यो । अनि यो पूर्णतः माथिल्लो निकायसँग सम्बन्धित हुन्छ । त्यसैले हतारमा गर्दै जाँदा अन्याय भयो भने ? अन्यायचाहिँ प्रहरीलाई मात्र होइन कि हामीलाई पनि हो । हामी त्यो आन्दोलनबाट आएको प्रत्यक्ष मान्छे हो । न्याय दिने क्रममा हामीलाई पनि अन्याय हुनुभएन । आफूले आफैंलाई पनि न्याय दिनु छ ।
त्यो गर्नलाई पनि हतारमा नगरोस्, राम्रोसँग गरोस् भनेर हामीले कुन–कुन पक्ष छुटेको छ, त्यसको ‘टीओआर’ थप्दै छौं । राम्रोसँग भएपछि, परिपक्व हिसाबले काम भएको छ, चित्त बुझ्दो हिसाबले काम भएको छ, निर्दोष पनि फसेको छैन, कसैले भनेको भरमा गरेको छैन, पूरा प्रमाणका साथमा मान्छेहरू समातेका छौं भन्ने सुनिश्चित हुनुपर्छ । त्यसैले यसले केही समय लिन्छ ।
दरबार हत्याकाण्ड अनुसन्धानको विषयचाहिँ के भइरहेको छ ?
त्योचाहिँ मैले भन्न मिल्दैन । गृह मन्त्रालय भनेको त संवेदनशील सूचना दिने ठाउँ नै होइन नि । कतिपय ‘सर्फेस लेभल’ मा भन्ने हो ।
तर सुरु भइरहेको छ कि छैन ?
त्यो पनि भन्न मिल्दैन ।
मिटरब्याजपीडितसँग सहमति गरेको विषयलाई लिएर तपाईंको प्रशंसा पनि भयो । जबकि, पहिले उनीहरूले महिना दिनसम्म काठमाडौंमा बसेर न्याय माग्नुपर्थ्यो । तर समस्याचाहिँ के छ भने तपाईंले सहमति गर्नुभयो । तर, धेरै पीडितविरुद्ध प्रहरी कार्यालयमा अहिले पक्राउ पुर्जी छ । सहमतिको कार्यान्वयन कसरी हुन्छ ? पक्राउ पुर्जी भएका मान्छेको हकमा के हुन्छ ?
हामीहरू सामान्य नागरिकस्तरबाट यो ठाउँमा आइपुगेका मान्छे हौं । त्यहीँको एउटा पात्र हो । मिटरब्याजपीडितको आन्दोलन आफैंले पनि देखेकै हो । कति समय हिँडेर आएर माइतीघरमा बसेर कति कराउँदा पनि केही नआएको थाहा छ । पानीका फोहोराहरू, खुट्टामा फोकाहरू सहन, त्यहाँदेखि यहाँसम्म हिँडेर आउन कति गाह्रो छ ? हामीले देख्दादेख्दै पनि मिटरब्याजपीडित उताबाट आउँदै गर्दा हामीले रोक्न सकेनौं, उहाँहरूसँग सल्लाह गर्न सकेनौं, वार्ता गर्न सकेनौं भने कसरी हुन्छ ? एउटा मन्त्री त्यहाँ गएर सबै कुरा गर्न सक्थ्यो, तर गएन भन्ने त भएन नि । पहिलो कुरा त्यही हो, उहाँहरूले हिँडेर आएर पनि अन्तिममा मलाई नै भेट्ने हो । जब मसँग भेट्ने हो भने मैले किन उनीहरूलाई दुःख दिने ? अनि एउटा मन्त्री यात्रा गर्न सक्दैन होला त ? गर्न सक्छु नि । अनि, म चार दिन समय लिएर गएको हुँ । समस्यालाई जरैबाट उखेल्न सक्नुपर्छ भनेर त्यसो गरिएको हो । ताकि नागरिकको दुःखमाथि फेरि कसैले राजनीति नगरोस् । त्यसपछि तुरुन्तै विवरण संकलन गर्यौं, क–कसलाई राहत दिनुपर्छ भन्ने त्यहीँ निकाल्यौं । हामीले त्यसको समाधान गर्नुपर्छ, त्यहीअनुसार निर्देशन पनि जारी भइसकेको छ । तर, यतिले मात्र त पुग्दैन, यसमा धेरै विषय गहिराइमा जानुपर्नेछ । त्यसमा पहिले ज–जसले काम गरिरहेका छन्, उनीहरूसँग वार्ता गर्नुपर्नेछ र समस्यालाई जरादेखि निकाल्नुपर्नेछ । त्यही भएर हामीले प्रतिनिधि लिएर आउनुस् भन्यौं, प्रधानमन्त्री कार्यालयबाट सहसचिव राखेर वार्ता समिति बनाउँछौं, छलफल गरेर हामी एउटै टिम हो भन्ने सोचेर भन्नुस् भन्यौं ।
पक्ष र विपक्ष वा वार्ताभन्दा पनि यसलाई समाधान कसरी गर्ने भनेर योजना बनाउनुस् भनेर पठाइदिएको हो । त्यसैले तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने काम छुट्याउन भनेका छौं । अहिले हाम्रोमा सबै सहायक सीडीओको नेतृत्वमा एउटा समिति छ । समितिमा नापी, राष्ट्र बैंकदेखि सबै सदस्य छन् । त्यसलाई भेरिफाइ गर्नलाई पीडित पक्षका तर्फबाट पनि मान्छे छन् । त्यसैले निष्पक्ष रूपमा काम हुन्छ । पक्राउ पुर्जीको हकमा चाहिँ अदालतको आदेश एउटा कुरा, तर यसलाई अहिलेका लागि थाती राखेर अनुसन्धान गर्छौं । न्यायालयले मानहानिमा कारबाही गर्छ भने गरोस् तर, अन्यायमा परेकालाई त हामीले न्याय दिनुपर्छ नि । निर्दोष मान्छे छ, उसको कागजको मुनि लेखेको रकम च्यातेको छ अनि निवेदनका आधारमा पक्राउ पुर्जी जारी गरेको छ भने त म गृहमन्त्री भएर जसबाट निर्वाचित भएर आएको छु, उसलाई मैले कसरी अन्याय गर्नु ?
अहिले फेरि सडकमा लघुवित्तपीडित, सहकारीपीडित आएका छन्, यसलाई चाहिँ कसरी हेर्नुभएको छ ?
तपाईं एक पटक सोच्नुस् त, पहिलेभन्दा अहिले किन लगातार आन्दोलन भइरहेका छन् ? पहिले आन्दोलन गरेर पनि केही हुँदैन, माग पूरा हुँदैन, बेकारमा किन जाने भन्ने मानसिकता थियो । मानिसमा आशा नै थिएन । अहिले भने आफ्नै सरकार छ, कुरा राख्यो भने केही हुन्छ कि भन्ने अपेक्षा बढेको छ । त्यसैले मानिस आफ्ना माग लिएर सडकमा आएका हुन् । अब हाम्रो जिम्मेवारी ती मागलाई गम्भीरतापूर्वक सुन्ने र आवश्यक सम्बोधन गर्ने हो । तर, माग सम्बोधन गर्दा दुवै पक्षलाई हेरेर निर्णय गर्नुपर्छ । एक पक्षलाई न्याय दिने क्रममा अर्को पक्षमाथि अन्याय हुन दिनु हुँदैन ।
गृह मन्त्रालयमा संगठित सुन तस्करीसहित विभिन्न छानबिन समितिका प्रतिवेदनहरू छन्, त्यसमा छानबिन, अनुसन्धान र प्रतिवेदन सार्वजनिक गर्ने विषयमा के भइरहेको छ ?
हामीले त्यसमा आन्तरिक अध्ययन गरिरहेका छौं ।
अघिल्लोपल्ट गृहमन्त्री भएर आएपछि संसद्देखि मिडियासम्म तपाईंको सम्पत्ति, सेयर कारोबारको विषयमा प्रश्न उठ्यो । सरकारले अनुसन्धान गर्यो, तपाईं ‘केही रहेनछ’ भनेर फर्किनुभयो । तर त्यो प्रतिवेदन सार्वजनिक गरिएन । किन ?
हाँसो उठ्छ, यस्तो कुरा सुन्दा । म यसअघि कुनै सरकारी पदमा बसेको थिएँ ? मैले कहिल्यै सरकारी तलब खाएको थिएँ ? कुनै राजनीतिक वा सरकारी प्रभाव प्रयोग गर्न सक्ने पदमा थिएँ ? यदि सरकारी पदमा बसेर काम गरेको भए छुट्टै कुरा हुन्थ्यो । अहिले म राजनीतिमा छु । तर, त्यसअघि म एक सर्वसाधारण नागरिक थिएँ । त्यतिबेलाका निजी आर्थिक कारोबार र व्यक्तिगत जीवनलाई यसरी सार्वजनिक रूपमा निकाल्न मिल्छ ? छानबिन त सरकारी पदमा बसेर अधिकारको दुरुपयोग गरेका व्यक्तिहरूको हुनुपर्छ कि एक सामान्य नागरिकको ? अहिलेको सरकारले सम्पत्ति छानबिन गर्नेभन्दा अदालतले किन रोकेको ?
कानुनको सिद्धान्तले पनि के भन्छ भने, जुन समयमा घटना भएको हो, त्यही बेलाको कानुनअनुसार मात्रै मूल्यांकन र कारबाही गर्न मिल्छ । पछि बनेको कानुनलाई विगतमा लागू गर्न मिल्दैन । म गृहमन्त्री भएपछि मेरो कामकारबाहीको अनुसन्धान हुनु छुट्टै विषय हो । तर, सरकारी पदमै नभएको बेलाको निजी जीवन र सम्पत्तिको छानबिन किन गर्ने ? नेपालको संविधानको धारा २८ ले गोपनीयताको हक सुनिश्चित गरेको छ । त्यतिबेला म पनि एउटा सर्वसाधारण नागरिक, त्यसबेला के मलाई गोपनीयताको हक लागू हुँदैन ?
अहिले म गृहमन्त्री छु । अहिले मेरोबारे सबै कुरा सोध्न मिल्छ । तर जतिबेला म राजनीतिक पदमा थिइनँ, त्यसबेला मसँग कारोबार भएका मान्छेको ‘प्राइभेसी’ छैन ? उनीहरूको सबै विवरण छताछुल्ल बनाउन पाइन्छ ? जुनबेला मसँग ‘इन्फ्लुएन्सियल पावर’ नै थिएन, एउटा साधारण युवा थिएँ । त्यतिबेलाको विषय जोड्न पाइन्छ ? सुधन गुरुङ मात्र किन नि त त्यसो भए ? पूर्वनेताहरू, त्यत्रो सरकारी पदमा बसेका मान्छेको सम्पत्ति पनि छानबिन गर्नुपर्छ कि पर्दैन ?
मेरो विषयमा प्रश्न उठेपछि मैले छानबिनमा स्वार्थको द्वन्द्व हुन्छ भनेर छाडेको थिएँ । किनकि, छानबिन गर्नेहरू प्रभावित हुन सक्ने अवस्था हुन सक्छ । त्यसैले छाडेको थिएँ । न मलाई पदको लोभ छ, न त शक्तिको घमण्ड । म बसिरहँदा गलत हुन्छ भनेर सहजै पद छाडेको हो । तर, सरकारले निष्पक्ष रूपमा छानबिन गरेको छ । पूर्वन्यायाधीशको नेतृत्वमा महालेखा नियन्त्रक र चार्टर्ड एकाउन्टेन्ट आएर पत्ता–पत्ता हेरेका छन् । सबै कुरा मलाई सोधेका छन् । पारिवारिक सम्बन्धसम्म पुगे, जुन आवश्यक थियो भन्ने लाग्दैन । मेरो फाइनान्स र प्राइभेसीको कुरा निकालियो । मसँगै जोडिएको, जो पोलिटिकली अफिलिएटेड नै छैनन् अहिलेसम्म, उसको चाहिँ किन निकाल्यो ? उसको गोपनीयता जोगाउनु पनि पर्यो । अनि मैले के सर्त राखें भने प्रतिवेदन एक न एक दिन अवश्य सार्वजनिक गर्नुहुन्छ । तर, यिनीहरूको प्राइभेसी मेन्टेन गरिदिनु ।
मेरोबारे निकाल्दा केही हुँदैन । तर, मसँग जोडिएका र व्यवहार गरेकाहरू, व्यापारी साथीहरूको नाम आउँछ । उनीहरूका बारेमा के गर्ने भनेर सोधेको हो । उनीहरूलाई पनि संविधानले दिएको अधिकार छिन्न मिल्दैन । मेरो त प्राइभेसी के छ र ? सबै सार्वजनिक गरेको छ । तपाईंहरूले पनि सार्वजनिक गरेको छ । पहिले जस्तो अभियन्ता भएको भए म तपाईंहरूसँग पनि लड्थें होला । तर, गृहमन्त्री हुँ । आफ्नो शक्तिको दुरुपयोग गर्न चाहदिनँ ।
मानवअधिकार आयोगले तपाईंलाई मानवअधिकार उल्लंघनकर्ता भनेर सिफारिस गरेको छ । यो विषयमा के भन्नुहुन्छ ?
म मानवअधिकार आयोगलाई पुष्टि गरेर देखाउन चुनौती दिन्छु । सुधन गुरुङले लिएर आएर मान्छेहरू जलाउन पठाएको भनेर पुष्टि गरेर देखाओस् । त्यत्रो भिडियोमा देखिरहेको छ । ट्रकमा बसेर, हात जोडेर त्यता नजानुस् भनेको भिडियो आफैं दिएको छु । मैले उभिएर नमस्ते गर्दै भनेको छु । ब्यारिकेट र फ्लेक्स उठाइरहेका बेला मैले फ्लेक्स मुनि झार्नुस् ब्यारिकेड छाड्नुस् भनेको थिएँ । जसको भिडियो अहिलेसम्म मसँग छ । मानवअधिकार आयोगलाई त मैले सबै भिडियो बनाएर प्रमाण दिएको थिएँ । प्रहरीले कहाँबाट गोली हानेको थियो, के थियो भन्ने सबै । मेरो त अहिलेसम्म एउटा भिडियो पनि डिलिट गरेको छैन । प्रत्यक्ष रूपमा नारायण पौडेल (सशस्त्र प्रहरीका हालका आईजीपी) सँग भएको कुरा पनि छ । त्यसबेलाको आईजीपीसँग कुरा भएको छ, उहाँ साक्षी पनि हो । उहाँहरूको हेडक्वार्टर हामीले बचाएको हो । डिस्कर्डबाट हामीले रातभरि बसेर, दुई दिनसम्म छलफल गरेर जलाउन पाउँदैनौं भनेको हो । प्रहरीलाई सूचना पनि दिएको हो । २३ भदौमा ढुंगा हान्नेलाई रोक्दा आफैंलाई हातपात र आक्रमण भएको अवस्था थियो । त्यो भिडियोसमेत मैले मानवअधिकार आयोगलाई दिएको थिएँ । अनि जेन–जी आन्दोलनमा जब केपी ओलीले राजीनामा दिए, त्यतिखेर कोचाहिँ खुसी थिएन ? तपाईंहरू पनि खुसी हुनुहुन्थेन र ? त्यो प्रतिवेदन लेख्ने खुसी थिएनन् ? हामी आन्दोलनमा जो गएको छ, हामी खुसी नहुने ? हामी त उफ्रिहाल्छौं नि । ओलीले राजीनामा दिए भनेपछि सबै खुसी थिए, न्याय पाउने भयौं भनेर । सुधन गुरुङले कुनै एउटा ठाउँमा मात्र (जलाएको) प्रमाणित गरेर देखाओस्, सिंहदरबार वरिपरि गएर बोतल र सलाई लिएर जलाउन गएको एउटा मात्र प्रमाण चाहियो । म राजनीति छाड्दिन्छु ।
तपाईं त त्यो सलाई कोर्ने को थियो भनेर अनुसन्धान गर्ने ठाउँमा हुनुहुन्छ, त्यो अनुसन्धान तपाईंहरूले गर्नुहुन्छ ?
२४ भदौमा कति नागरिक सडकमा थिए ? तपाईं पनि हुनुहुन्थ्यो होला । कतिलाई जेल हाल्ने ? त्यो मान्छेको फ्रस्ट्रेसन हो । एंगर भेन्ट गर्ने ठाउँ नपाएको हो उनीहरूले । मैले समर्थन गरेको भन्न खोजेको होइन । किनभने, रोक्ने हामी नै थियौं, त्यतिबेला । एउटा भिडियो पनि थियो, ढुंगा हान्दा रोक्ने म एक्लै छु । त्यसको भिडियो पनि छ । ढुंगा हान्दा मेरो झगडा परेको छ । मलाई हात हालेको छ, त्यतिखेर । अनि, मैले आगो लगाउन दिन्छु होला ? त्यो मान्छेको रिस हो खासमा । कहाँ लगेर राख्ने त्यत्रोलाई ? कारागार अहिले नै ओभरलोडेड छ । सरकारले पाल्न सक्छ ? ठीकै छ, पोलिटिकल पार्टीका ठाउँहरू (कार्यालय) छन्, त्यसलाई नै जेल बनाइदिउँला । त्यहाँ लगेर राखिदिउँला । तर त्यहाँ पनि भरिन्छ । अनि कहाँ लगेर राख्नु ? उनीहरूको घरमा लगेर राख्न त मिल्दैन नि । पब्लिकको एंगरलाई हामीले रेस्पेक्ट गर्नुपर्दैन ? त्यसो भए चुनावमा त हामी हार्नुपर्ने हो नि । चुनावले त हामीलाई जस्टिफाइ गरेको छ नि । जनताको मतलाई लत्याउने ? त्यो त मिल्दैन ।
अर्को प्रसंग, गृहमन्त्रीज्यू, यो तपाईंको अगाडि एउटा हन्डी छ । के हो यो ?
यो सुस्ताको माटो हो ।
सुस्ताको माटो किन तपाईंकोमा आइपुग्यो ? खास के हो यसको कुरा ?
आफ्नो देशको माटो । त्यतिखेर एक जना भाइले आन्दोलन गरेर यहाँसम्म लिएर आएको हो, मैले राखिरहेको छु ।
सुस्तामा चाहिँ तपाईंले केही गर्दै हुनुहुन्छ ?
सुस्ताको विषय त पहिलेदेखि नै भइरहेको इस्यु हो । यसमा दुईपक्षीय समन्वय हुनुपर्छ । हामीले यत्तिकै ‘हाम्रो सिमाना यहाँ छ’ भनेर भन्न मिल्दैन । उनीहरूले पनि ‘हाम्रो सिमाना यहाँ छ’ भनेर भन्न मिल्दैन । त्यसमा टेक्निकली नाप्ने मान्छे चाहियो । परराष्ट्र मन्त्रालय चाहियो । त्यसपछि त्यहीअनुसार हाई–लेभल डेलिगेसनको मिटिङ चाहियो । त्यसपछि सीमांकनको इतिहास पल्टाउनुपर्यो । इतिहास पल्टाएर, हाम्रो सिमाना यहाँ छ, त्यहाँ छ’ भन्ने टुंगो लगाउनुपर्छ । यो त २०१४ मै नसुल्झिएको विषय हो नि । अहिले पनि त्यही अवस्था हो । बरु अहिले हामी आएर नागरिकता दिन थालेका छौं ।
बाँकी १८२ वटा ठाउँमा हामीले सर्टआउट गर्यौं । सुस्ता र कालापानी मात्रै बाँकी भन्ने छ । त्यसमा केही छलफल भएको छ ?
योचाहिँ मेरो क्षेत्राधिकारभित्र पर्दैन । यो परराष्ट्र मन्त्रालयको विषय हो । परराष्ट्रले कसरी गर्नुभएको छ, उहाँहरूको कुरा हो । फेरि सुधन गुरुङ आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गयो भनेर भन्नुहुन्छ नि । यो चाहिँ सुस्ताको माटो हो । मैले यसलाई नफालौँ भनेर राखेको हो । हाम्रो देशको माटो हो । मेरो नैतिकताले यो माटोलाई फाल्न दिन्न । म यहाँ रहुन्जेल यो माटो पनि यहीं रहन्छ । त्यो लेभलको माया गर्छु मेरो देशलाई । कान्तिपुरबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया