काठमाण्डौं, भदौ १४ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्याइरहेका बेला काठमाडौंको रन्जना ट्रेड सेन्टरका व्यवसायीहरू भने आफ्नै पीडा र आर्थिक क्षतिलाई थाती राखेर बाढीपीडितको सहयोगमा जुटेका छन्। विपद्को समयमा व्यापारिक क्षतिभन्दा मानवीय जीवनको रक्षा र पीडितलाई तत्काल राहत पुर्याउनु महत्वपूर्ण रहेको भन्दै उनीहरूले सामूहिक रूपमा राहत अभियान अघि बढाएका हुन्।
भोटेकोशी बाढीबाट आफूहरू पनि प्रत्यक्ष रूपमा आर्थिक असरमा परेको र लाखौँ रुपैयाँ बराबरको व्यापारिक तथा सामानको क्षति व्यहोर्नुपरेको व्यवसायीहरूको भनाइ छ। तर, विपद्को समयमा आफ्नो व्यक्तिगत तथा व्यावसायिक पीडाभन्दा प्रभावित नागरिकको दुःख ठूलो भएको महसुस गर्दै उनीहरूले नगदसँगै लत्ताकपडा, खाद्यान्न र अन्य अत्यावश्यक सामग्री संकलन गरी प्रभावित क्षेत्रतर्फ पठाउने अभियान सञ्चालन गरेका छन्। व्यवसायीहरूका अनुसार संकटका बेला समाजबाट प्राप्त सहयोगको ऋण समाजलाई नै फर्काउने अवसरका रूपमा यो अभियानलाई लिइएको छ।
रन्जना व्यापार संघले बाढीपछि पछिल्ला तीन दिनदेखि प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी संकलन गर्दै सबैभन्दा बढी आवश्यकता रहेका स्थान पहिचान गरी राहत सामग्री पठाउने कामलाई तीव्रता दिएको जनाएको छ। तत्काल खाद्यान्न, कपडा, खानेपानी तथा अन्य अत्यावश्यक सामग्री आवश्यक परेका क्षेत्रलाई प्राथमिकतामा राखेर राहत परिचालन भइरहेको संघको भनाइ छ।
राहत अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन संघले लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालमार्फत समेत लत्ताकपडा, खाद्यान्न तथा अन्य सामग्री उपलब्ध गराएको जनाएको छ। निजी क्षेत्र, सामाजिक संस्था र सर्वसाधारणको सहकार्यबाट प्रभावित परिवारसम्म आवश्यक सामग्री पुर्याउने प्रयास भइरहेको संघले जनाएको छ।
रन्जना ट्रेड सेन्टरका व्यवसायीहरूले विपद्को समयमा राज्य, निजी क्षेत्र र नागरिक समाजबीचको सहकार्य अझ बलियो हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूले व्यापार व्यवसाय सञ्चालन गरेर अर्थतन्त्रमा योगदान गर्ने निजी क्षेत्रको दायित्व सामान्य अवस्थामा मात्र नभई संकटका बेला पनि नागरिकसँगै उभिनु रहेको बताएका छन्।
“व्यापारी राज्यको मेरुदण्ड हुन्, संकटका बेला व्यवसायीहरू सधैं राष्ट्र र नागरिकको साथमा उभिन्छन्,” व्यवसायीहरूको भनाइ छ। आफ्नै व्यवसायमा क्षति पुगे पनि राहत अभियानमा सहभागी हुनु सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता भएको उनीहरूले बताएका छन्।
भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो क्षति पुर्याएको अवस्थामा तत्कालीन राहतसँगै पीडित परिवारको पुनःस्थापना र पुनःनिर्माणका लागि दीर्घकालीन सहयोग आवश्यक रहेको व्यवसायीहरूको निष्कर्ष छ। घर, व्यवसाय र जीविकोपार्जनका साधन गुमाएका परिवारलाई सामान्य अवस्थामा फर्काउन सरकारसँगै निजी क्षेत्र र सामाजिक संस्थाले निरन्तर सहकार्य गर्नुपर्ने उनीहरूको भनाइ छ।
रन्जना व्यापार संघले अझै पनि राहत आवश्यक रहेका प्रभावित क्षेत्रबारे जानकारी उपलब्ध गराउन आग्रह गरेको छ। वास्तविक आवश्यकता भएका स्थान पहिचान गरी राहत सामग्री पुर्याउने उद्देश्यले संघले सहयोगको आवश्यकता रहेका क्षेत्र तथा परिवारबारे सूचना उपलब्ध गराउन सबैलाई अपिल गरेको छ।
आफ्नै व्यवसायमा क्षति र आर्थिक दबाब हुँदाहुँदै पनि विपद्मा परेका नागरिकका लागि राहत जुटाउन अघि सरेका रन्जना ट्रेड सेन्टरका व्यवसायीहरूको पहलले व्यवसाय केवल नाफा कमाउने माध्यम मात्र नभई संकटका बेला समाजप्रतिको जिम्मेवारी निर्वाह गर्ने माध्यम पनि हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। उनीहरूको यो अभियानले विपद्को पीडामा रहेका नागरिकलाई राहतसँगै ‘हामी एक्लै छैनौँ’ भन्ने मानवीय भरोसा समेत दिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया