काठमाडौं । नेपाल शिक्षक महासङ्घले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। महासङ्घको भदौ १३ गते बसेको अनलाइन बैठकले देशभरका बहालवाला शिक्षक तथा कर्मचारीबाट आर्थिक सहयोग जुटाउने निर्णय गरेको हो।
महासङ्घका अनुसार शिक्षक–कर्मचारीको तह र श्रेणीअनुसार निजामती सेवाका कर्मचारीसरह रकम सहयोगस्वरूप उपलब्ध गराइनेछ। उक्त रकम सम्बन्धित शिक्षक–कर्मचारीको भदौ महिनाको तलबबाट कट्टा गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।
महासङ्घले रकम कट्टा गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकेपछि त्यसको विवरण शिक्षा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिलाई जानकारी गराउन समेत आग्रह गरेको छ। विपद्को समयमा शिक्षक–कर्मचारीको तर्फबाट गरिएको यो सहयोगले बाढी प्रभावित नागरिकको तत्काल राहत तथा आगामी पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुग्ने महासङ्घको विश्वास छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया