काठमाण्डाैंः कैलालीमा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ ।
गएराति मोटरसाइकल गस्तीमा गएका असई विकको आज विहान कैलालीको मोहना नदीमा शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा शंका लागेपछि ११ जनालाई नियन्त्रणमा लिएको सुदुरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।
‘हामीले घटनामा संलग्न भएको आशंकामा ११ जनालाई पक्राउ गरेका हौं । अहिले अनुसन्धान भइरहेको छ,’ डीआईजी सुवेदीले भने । डीआईजी सुवेदीका अनुसार गएराति तस्कर समूहसँग मुठभेड भएको र उनीहरुले नै हत्या गरेर नदीमा फालेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
उनीसँगै गएका अर्का प्रहरी जवान रामबहादुर साउद पनि सम्पर्क विहिन छन् । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया