काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि भइरहेको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
रास्वपा पार्टी सचिवालयको आज बसेको बैठकले विपद्मा परेका नागरिकको सुरक्षित उद्धार, घाइतेको उपचार तथा विस्थापितलाई आवश्यक राहत सामग्रीको न्यायोचित वितरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय विपत्तिको सामना राज्यको एकल प्रयासबाट मात्र सम्भव नहुने भन्दै सरकारले सञ्चालन गरिरहेका उद्धार तथा राहतका प्रयासमा पार्टीका सम्पूर्ण संरचनाबाट हुँदै आएको समन्वयात्मक सहयोगलाई निरन्तरता दिने निर्णय गरेको छ । साथै, सरकारका सकारात्मक तथा परिणाममुखी काममा रास्वपासहित अन्य दलको सहभागितामा सर्वदलीय संयन्त्रमार्फत संस्थागत सहयोग जुटाउन पहल गर्ने निर्णय गरेको छ ।
बैठकले पार्टीका निवर्तमान कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक सुशासन तथा व्यवस्थापनमा पुर्याउनुभएको योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरेको छ । नवनियुक्त कोषाध्यक्ष डा मनोहर प्रधानलाई पद तथा गोपनीयताको शपथ गराई नयाँ जिम्मेवारी हस्तान्तरण गरिएको रास्वपाका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यसैगरी, सहमहामन्त्री पुरुषोत्तम शुप्रभात यादव, प्रवक्ता जगदीश खरेल तथा नवमनोनित सचिवालय सदस्यहरू शिशिर खनाल, गणेश पराजुली, दीपकराज बोहरा, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, मनिष झा र शिव अधिकारीलाई पार्टी सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ गराउनुभएको विज्ञप्तिमा उल्लेख छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया