काठमाडौं। पत्रकार एवं साहित्यकार प्रतिभा पौडेलद्वारा लिखित पहिलो महाकाव्य `तितिक्षा´ इलाममा लोकार्पण गरिएको छ। लामो समयदेखि लेखन कार्यमा सक्रिय पौडेलले पहिलो पटक महाकाव्य ल्याउनुभएको हो।
उहाँको कृति इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमुख आतिथ्य तथा इलाम नगर साहित्य, कला तथा संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा आयोजित कार्यक्रममा महाकाव्य ‘तितिक्षा’ सार्वजनिक गरिएको हो।
महाकाव्यमा २२५१ श्लोक, १७ सर्ग र १६ छन्दको प्रयोग गरिएको छ। कवि पौडेलका अनुसार महाकाव्यमा महाभारतकालीन कथालाई नयाँ ढंगले प्रस्तुतिकरण गरिको छ। कितावको प्रमुख पात्र महाभारतकालीन पात्र कर्ण हुन्। कर्णको संघर्ष र जीवनका बारेमा पौडेलले पुस्तकमार्फत चर्चा गर्नुभएको छ।
`कितावमा महाभारतकालीन महिला र हालका महिलाका पीडाको तुलना गरिएको छ। महाकाव्यको प्रमुख पात्र कर्ण हुुन्। पुस्तकमा कर्णसँग जोडिएका महिला विषयमा वर्णन गरिएको छ।´
इलाममा बसेर विशेष गध्य छन्दमा कलम चलाउने प्रतिभाको यो पहिलो महाकाव्य हो। यसअघि पौडेलले २०५९ सालबाट कृति लेखन सुरु गर्नुभएको हो।
२०६९ सालमा गंगा खण्डकाव्य, `झुल्केघाम र तृष्णा´ २०७३ सालमा, अक्षरमा मेची-मूच्छर्ना- २०७३, पूर्वाञ्चलीय नारी स्रष्टा कोष (खोज २०७७), पूर्वका साहित्य सारथि (जीवनसंग्रह २०७८), सन्धान (छन्दोबद्ध कवितासंग्रह २०७९), इलामे चेलीका रचनाहरू (सामूहिक २०५९), मेची पद्माला (सामूहिक २०५९) लेख्नुभएको छ। लेखक पौडेलका अनुसार `तितिक्षा´को अर्थ सहिष्णुता भन्ने हुन्छ। महिलाको सहनशिलताका विषयमा कवितामार्फत उजागर गर्न खोजिएको छ।
लोकार्पण कार्यक्रममा साहित्यकार इन्द्रनारायण सुवेदी, सोम निरौला, टीका घिमिरे तथा युवा साहित्यकार एवं कवि अन्वेष थुलुङले ‘तितिक्षा’ महाकाव्यमाथि टिप्पणी तथा समीक्षात्मक धारणा राख्नुभएको थियो। उहाँहरूले कृतिले समेटेका विषयवस्तु, सामाजिक सरोकार र साहित्यिक पक्षबारे चर्चा गर्नुभएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया