भाद्र २४, २०८३ बुधबार September 9, 2026

लायन्स अन्तराष्ट्रिय निर्देशक राजन लम्सालको पहलमा भोटेकोशी बाढीपीडितलाई सवा ३ करोडको LCIF सहयोग

भोटेकोशी बाढीपीडितको घर–घरमा पुग्ने भयो लायन्सको २ लाख डलर सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । लायन्स इन्टरनेसनलका अन्तर्राष्ट्रिय डाइरेक्टर लायन राजन लम्सालको पहल तथा समन्वयमा भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि Lions Clubs International Foundation (LCIF) बाट २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड २५ लाख रुपैयाँ सहयोग स्वीकृत भएको छ।

भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, अस्थायी आवास तथा पुनर्स्थापनाका लागि उक्त सहयोग प्राप्त भएको हो। अन्तर्राष्ट्रिय डाइरेक्टरमा निर्वाचित भएपछि लायन लम्सालले जनसेवालाई आफ्नो पहिलो प्राथमिकतामा राख्दै बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा पुगेर राहत वितरण, उद्धार तथा आवश्यक समन्वय गर्दै आउनुभएको छ।

लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टरमा निर्वाचित भएपछि District 325 I तथा MD 325, Nepal को मञ्चबाट ‘सेवा नै धर्म हो’ भन्ने सन्देश दिनुभएका लम्सालले पदसँगै सेवाको जिम्मेवारी पनि थपिएको बताउँदै आउनुभएको छ। बाढी आएको दिनदेखि नै उहाँ त्रिशूली क्षेत्रमै रहेर प्रभावित नागरिकको अवस्था बुझ्ने, राहत सामग्री पुर्‍याउने तथा सम्बन्धित निकाय र लायन्सका विभिन्न संरचनाबीच समन्वय गर्ने कार्यमा सक्रिय हुनुहुन्छ।

LCIF बाट स्वीकृत सहयोग वास्तविक आवश्यकता मूल्याङ्कनका आधारमा पारदर्शी रूपमा परिचालन गरिने अन्तर्राष्ट्रिय डाइरेक्टर लम्सालले बताउनुभयो। उहाँका अनुसार नुवाकोट जिल्ला समन्वय समितिसँग यस विषयमा बैठकसमेत भइसकेको छ भने तत्काल राहत तथा अस्थायी टहरा निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको छ।

“LCIF को रकम वास्तविक आवश्यकता मूल्याङ्कन गरेर पारदर्शी रूपमा खर्च गर्छौं। नुवाकोट जिल्ला समन्वय समितिसँग बैठक भइसकेको छ। तत्काल राहत र अस्थायी टहरा निर्माण हाम्रो पहिलो प्राथमिकता हो। स्थानीय प्रशासनको सिफारिसमा काम अगाडि बढ्छ,” निर्देशक लम्सालले भन्नुभयो।

उहाँका अनुसार LCIF बाट स्वीकृत रकममध्ये ५० प्रतिशत अर्थात् करिब १ करोड ५४ लाख रुपैयाँ नेपालमा प्राप्त भइसकेको छ। बाँकी रकम पनि आवश्यक प्रक्रिया पूरा गरी परिचालन गरिनेछ।

सहयोग रकम विभिन्न डिस्ट्रिक्टमा छुट्टाछुट्टै बाँडफाँट गरेर नभई नेपालका लायन्सको मल्टिपल डिस्ट्रिक्टमार्फत ‘एकद्वार प्रणाली’ बाट परिचालन गरिने लम्सालले स्पष्ट पार्नुभयो। यसबाट वास्तविक रूपमा बढी प्रभावित परिवार तथा समुदायलाई प्राथमिकताका आधारमा सहयोग पुर्‍याउन सहज हुने उहाँको भनाइ छ।

भोटेकोशी बाढीपीडितका लागि नेपालमा रहेका लायन्सका १५ वटा डिस्ट्रिक्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत करिब १ करोड १७ लाख रुपैयाँ जम्मा गरिसकेको लम्सालले जानकारी दिनुभयो। त्यसैले LCIF बाट प्राप्त सहयोगलाई प्रधानमन्त्री राहत कोषमा थप रकम जम्मा गर्नुभन्दा प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रको राहत तथा पुनर्स्थापनामा केन्द्रित गर्ने योजना रहेको उहाँले बताउनुभयो।

“पद पाएर मात्र हुँदैन, जनताको दुःखमा साथ दिन सक्नुपर्छ। District 325 I का सम्पूर्ण Lion र LEO साथीहरूसँग मिलेर हामी पीडितको घर–घरमा पुगेका छौँ। लायन्सको पहिचान भनेकै संकटमा साथ दिनु हो,” लम्सालले भन्नुभयो।

LCIF बाट प्राप्त सहयोगलाई तत्कालीन राहतसँगै प्रभावित नागरिकको पुनर्स्थापनामा समेत प्रयोग गरिनेछ। अस्थायी आवास निर्माण, खाद्यान्न, औषधि, खानेपानी, लत्ताकपडा तथा बाढीबाट प्रभावित बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने योजना रहेको लम्सालले बताउनुभयो।

भोटेकोशी बाढीबाट घर, व्यवसाय, रोजगारी तथा आधारभूत संरचना गुमाएका परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापनाको आवश्यकता रहेको भन्दै लम्सालले लायन्स इन्टरनेसनलले प्रभावित नागरिकको पुनर्निर्माण र पुनर्स्थापनाको यात्रामा निरन्तर साथ दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

उहाँले विपद्का समयमा लायन्सका सदस्यहरू राहत सामग्री वितरणमा मात्र सीमित नभई प्रभावित समुदायको वास्तविक आवश्यकता पहिचान गरी दीर्घकालीन रूपमा सहयोग गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिनियाँ एआईमाथि अमेरिकी आरोप
२०८३ भाद्र २४, बुधबार
लायन्स अन्तराष्ट्रिय निर्देशक राजन लम्सालको पहलमा भोटेकोशी बाढीपीडितलाई सवा ३ करोडको LCIF सहयोग
२०८३ भाद्र २४, बुधबार
खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी
२०८३ भाद्र २४, बुधबार
काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै
२०८३ भाद्र २४, बुधबार
उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने
२०८३ भाद्र २४, बुधबार
नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत
२०८३ भाद्र २४, बुधबार
बाढीप्रभावितलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण
२०८३ भाद्र २४, बुधबार