म्याग्दी।म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा रातो च्याउ खोज्न व्यस्त हुुनुहुन्छ । नगेनसहित चार जना मुनाका युवाको समूह रातो च्याउ सङ्कलन गर्नका लागि करिब दश दिनका लागि बस्दोबस्तीका सामानसहित जङ्गलमै गोठ बनाएर बसेका छन् । “तीन जनाले च्याउ खोज्नुहुुन्छ, मैले जङ्गलबाट डोकोमा बोकेर गाउँमा ल्याउने गरेको छु,” उहाँले भन्नुभयो, “करिब दैनिक ५० किलोग्राम च्याउ सङ्कलन र बिक्री भइरहेको छ ।”
नगेनले शुक्रबार करिब रु ४० हजारको रातोच्याउ बिक्री गरेको बताउनुभयो । लेकाली क्षेत्रका बासिन्दा च्याउ पलाउने याम सुरु भएपछि जङ्गल पसेका छन् । प्राकृतिक रूपमा पाइने रातो च्याउ लेकाली क्षेत्रका बासिन्दाको लागि आम्दानीको सोत बनेको छ । च्याउको सुरक्षाका लागि पलाउने ठुुटाको नजिकै बसेर ओगट्ने चलन छ ।
मध्यजेठदेखि मध्यअसारसम्म र मध्यभदौदेखि असोजसम्म मात्र च्याउ टिप्ने उपयुक्त मौसम हो । समुन्द्रि सतहदेखि तीन हजारदेखि चार हजार मिटर उचाइका जङ्गलमा खस्रु, हिमाली सल्ला, फलाट, दबदबे जातका सुकेका रूखमा प्राकृतिक रूपमा बर्खायाममा उम्रने रातोच्याउ तरकारीको रूपमा उपभोग हुन्छ ।
पोषिलो, अर्गानिक र औषधिय गुण पाइने तथा स्वादिलो हुने भएकाले रातो च्याउको माग उच्च हुुने गरेको धवलागिरी गाउँपालिका–३ मुनाका मनबहादुुर पुुनले बताउनुभयो । “मासुको विकल्पमा पनि रातो च्याउको उपभोग हुने गर्छ,” उहाँले भन्नुभयो “रातो च्याउ पोषिलो र तागतिलो तरकारीको रूपमा परिचित छ ।”
ताजाका साथै प्रशोधन र सुुकाएर पनि रातो च्याउ उपभोग गर्न सकिन्छ । बजारमा बस्ने र विदेशमा पुुगेकाले रातो च्याउको चाहना गर्ने गरेका मुनाका ब्यवसायी रुपा शेरपुुञ्जाले बताउनुभयो । गाउँबाट सहर र विदेशमा कोशेलीको रूपमा रातो च्याउ पठाउने चलन रहेको छ ।
सडक यातायातको सुविधासँगै लेकाली क्षेत्रका बासिन्दाले जङ्गलमा रातो च्याउ टिपेर एकै दिनमा बेनी र पोखराका बजारमा पु¥याउन थालेका धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । “रातो च्याउ बेरोजगारको लागि रोजगारी र आम्दानीको स्रोत बनेको छ,” उहाँले भन्नुभयो “स्थानीयले संकलन गर्ने च्याउलाई बजारीकरणका लागि ब्यापारिसँग समन्वय गरेका छौँ ।” सडक यातायातको सुविधा नहुँदा सुुकुटी बनाएर रातो च्याउ बेच्ने गरेका थिए ।
ताजा रातोच्याउ प्रतिकेजी रु एक हजारका दरले किनबेच भइरहेको छ । सुकुटी बनाएको प्रतिकेजी रु चार हजारदेखि पाँच हजारसम्म पर्छ । रातो च्याउमा प्रोटिन र विभिन्न मिनरल्स तत्व पाइने नेपाल कृषि अनुसन्धान परिषद्को रातो च्याउ खेती प्रविधि पुस्तिकामा उल्लेख छ ।
रातो च्याउ टिप्न जोखिम र दुःख पनि छ । वस्तिदेखि टाढाको जङ्गलमा वन्यजन्तुको आक्रमण हुने जोखिम हुन, सुकेका अग्ला रूखमा उम्रेको च्याउ टिप्न ज्यान जोखिममा राखेर चढ्नु सजिलो छैन्् । रातो च्याउ सजिलै चिन्न सकिने भएकाले विषालु च्याउको जोखिम भने नहुने बताइन्छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया