असोज १२, २०८३ सोमबार September 28, 2026

स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

प्रतिनिधिसभाको आगामी बैठक यही असोज १३ गते बिहान १०ः०० बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन)विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

प्रस्ताव प्रस्तुत गर्दै मन्त्री मेहताले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालाई मध्यनजर गर्दै समयसापेक्ष कानुन तर्जुमा गर्न लागिएको बताउनुभयो । उहाँले विधेयकले अध्ययनरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमण र हातपातको अन्त्य हुने बताउनुभयो । मन्त्री मेहताले कैद र जरिवाना दुवैलाई समावेश गरेर विधेयक ल्याइएको बताउनुभयो । स्वास्थ्यकर्मीबाट हुने कुनै पनि गतिविधि र अभ्यासको लागि गुनासो राख्ने उचित प्रबन्ध मिलाइएको पनि उहाँले बताउनुभयो ।

यसअघि ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने’ प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद खुश्बु ओलीले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नु भनेको एउटा व्यक्तिमाथि मात्रै नभएर स्वास्थ्य सेवामाथि भएको आक्रमणको रूपमा चित्रित गर्नुभयो ।

सांसद भरत गिरीले चिकित्सक र स्वास्थ्यकर्मीले जुन हातले बिरामीलाई बचाउन खोजिएको हुन्छ सोही हात डराइडराई काम गर्न नसक्ने अवस्था सिर्जना गर्न नहुने बताउँदै बिरामीको आफन्तबाट धम्की र आक्रमण कुनै पनि हालतमा सह्य नभएको बताउनुभयो ।

सांसद पुकार बमले उपचार गर्ने बिरामी र उपचार गर्ने स्वास्थ्यकर्मी एकअर्काका परिपूरक भएको बताउँदै केही समय अघि नारायणी अस्पताल वीरगञ्जमा चिकित्सकमाथि भएको हातपातको घटनाले पनि यो विधेयकको आवश्यकता र औचित्य झनै बढाएको बताउनुभयो ।

सांसद मञ्जु भुसालले यो विधेयकले स्वास्थ्यकर्मीको सुरक्षालाई सुनिश्चिता गर्दै स्वास्थ्यकर्मीले पनि इमान्दार र स्वच्छ ढङ्गले उपचार तथा सेवातर्फ जिम्मेवार बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सांसद करिश्मा कठरियाले चिकित्सक तथा स्वास्थ्यकर्मी अस्पताल नै कुटपिट हुनु दुर्भाग्य भएकाले पनि यस विधेयकले समय सान्दर्भिक सुधार र सुरक्षाको प्रत्याभूति दिलाउने बताउनुभयो ।

सांसद गणेश कार्की, रमेशकुमार मल्ल, कमल सुवेदी, ज्ञानेन्द्रसिंह महता, आशा झा, टेकबहादुर शाक्य, पार्वती विक, अचुतम लामिछाने, टुकाभद्रा हमाल, समिना मियाँ, साजिदा खातुन सिद्धिकी, यज्ञमणि न्यौपाने, प्रभा ढकाल, पुष्पाकुमारी चौधरी, गणेश पौड्याल, समीक्षा बाँस्कोटा, तोशिमा कार्की, गणेशबहादुर विश्वकर्मा, ओजश्वी शेरचन,  हरिप्रसाद भुसाल, नरेन्द्र साह कलवार, हरिमोहन भण्डारी, गङ्गादेवी श्रेष्ठ, मधुकुमार चौलागाई, राजन गौतम, लेखजङ्ग थापालगायतले स्वास्थ्यकर्मीमाथि कुनै पनि हालतमा आक्रमण सह्य नहुने र अस्पतालमा हुने गुनासोको पनि सही ढङ्गले सम्बोधन हुनुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभाको आगामी बैठक यही असोज १३ गते बिहान १०ः०० बजे बस्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया