काठमाण्डौं । प्रतिकूल मौसमले तल्ला तहका अधिवेशन प्रभावित भएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसको १५औँ महाधिवेशन दुई दिन धकेलिएको छ । १६ असोजमा गर्ने भनिएको उद्घाटन सत्र नयाँ तालिकाअनुसार १८ असोजमा हुने भएको छ ।
मंगलबार शीर्ष तहमा भएको छलफलमा १६ असोजमा महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुग्न नसक्ने निष्कर्ष निस्किएपछि मिति परिवर्तन गरिएको हो । १६–१९ असोजका लागि तय महाधिवेशन अब १८–२२ असोजमा हुनेछ ।
निरन्तरको वर्षाका कारण क्षेत्रीय अधिवेशन प्रभावित भएपछि महाधिवेशनको मिति दुई दिन सारिएको प्रवक्ता देवराज चालिसेले बताए । ‘निरन्तरको वर्षाका कारण क्षेत्रीय अधिवेशन प्रभावित भए । अधिवेशन ढिलो हुँदा महाधिवेशन प्रतिनिधि आउने समय नै नपुग्ने देखियो । यसैलाई मध्यनजर गर्दै दुई दिन पर सारेर १८ असोजमा खुलामञ्चमा महाधिवेशन उद्घाटन गर्ने कार्यतालिका बनाइएको छ,’ उनले भने ।
१० असोजमा सम्पन्न गर्ने भनिएको क्षेत्रीय अधिवेशन अझै सम्पन्न भइसकेको छैन । कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार अधिकांश जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । बुधबारसम्म सबै क्षेत्रको अधिवेशन सकिने उनले बताए ।
१५ असोजसम्म महाधिवेशन प्रतिनिधिको नाम पठाइसक्न निर्वाचन समितिले सूचित गरेको छ । १६ र १७ असोजमा महाधिवेशन प्रतिनिधि रजिस्ट्रेसन दर्ता गर्ने, १८ असोजमा महाधिवेशन उद्घाटन, १९ र २० असोजमा बन्दसत्र र अन्य कार्यक्रम तथा २१–२२ असोजमा निर्वाचन कार्यक्रम तय गरिएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बताए ।
१८ असोजको दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन सत्र सुरु हुनेछ । उद्घाटन सत्रमा रास्वपा सभापति रवि लामिछाने, एमाले अध्यक्ष केपी ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ । उद्घाटन सत्रको मिति परिवर्तनबारे जानकारी गराइएको सहमहामन्त्री उदयशमशेर राणाले बताए । राणाले नै उनीहरूलाई १६ असोजका लागि भेटेर निम्तो दिएका थिए ।
देउवा पक्षको मनाङ संयोजक बने मनाङे
गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कांग्रेस प्रवेश गरेका छन् । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मनाङेलाई पार्टी प्रवेश गराएर मनाङ जिल्लाको संयोजक बनाएको छ ।
१५औँ महाधिवेशन तयारी समितिका संयोजक पूर्वमहामन्त्री शशांक कोइरालाले मनाङेलाई मनाङ संयोजक बनाएका हुन् । १५औँ महाधिवेशन तयारी समिति सचिवालय समन्वय समितिका संयोजक दीपक कुइँकेलले मनाङेलाई मनाङ संयोजक बनाइएको बताए । ‘उहाँलाई मनाङ संयोजक बनाइएको छ,’ कुइँकेलले भने ।
मनाङे दुईपटक स्वतन्त्र उम्मेदवार बनेर मनाङबाट प्रदेश सभा सांसद निर्वाचित भएका थिए । ०७४ को निर्वाचनअघि मनाङे एमाले प्रवेश गरेका थिए । तर, टिकट नपाएपछि उनी स्वतन्त्र उठेर निर्वाचित भएका थिए ।
एमालेका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री बनाएका थिए । पछि एकीकृत समाजवादी बनेर पुनः मन्त्री भएका थिए । माओवादी, एकीकृत समाजवादीलगायतका दल मिलेर नेकपा बनेपछि मनाङे निष्क्रिय रहेका थिए ।
गत २८ साउनमा देउवा विदेशबाट फर्किँदा मनाङे स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । मनाङे विगतमा कांग्रेसको भ्रातृ संस्था तरुण दलमा थिए ।
देउवा पक्षले पनि समानान्तर महाधिवेशन गर्दै छ । जसअनुसार १५ असोजमा वडा अधिवेशन गर्दै छ । २० असोजमा गाउँ/नगरपालिका अधिवेशन, २३ असोजमा प्रदेश सभा क्षेत्रीय अधिवेशन, १५ कात्तिकमा जिल्ला अधिवेशन, ४ मंसिरमा प्रदेश अधिवेशन र २१–२३ मंसिरमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका छ ।नयाँपत्रिकाबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया