काठमाण्डौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राईडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।
अबुधाबीमा शनिबार भएको खेलमा कोलकाताले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीलाई ५९ रनले पराजित गरेको हो । जितसँगै कोलकाताले दिल्लीसँग सिजनको पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । पहिलो भेटमा दिल्लीले कोलकातालाई १८ रनले हराएको थियो ।
शेख जायद क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो ।
दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक ४७ रन बनाए । यस्तै ऋषब पन्तले २७ रन जोड्दा शिम्रन हिटमायरले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । दिल्लीलाई सस्तैमा समेट्न कोलकाताका भरुण चक्रवर्तीले २० रन खर्चेर ५ विकेट लिए । पाट कुमिन्सले ३ तथा लक्की फर्गुसनले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।
कोलकाताका लागि सुनिल नारिन र नितेश रानाले अर्धशतकीय इनिङ्स खेले । रानाले ५३ बलमा ८१ रन बनाए । नारिन ३२ बलमा ६४ रन बनाएर आउट भए । मात्र ४२ रन जोड्दा ३ विकेट गुमाईसकेको कोलकाताका लागि नारिन र रानाले चौंथो विकेटका लागि १ सय १५ रनको साझेदारी गरेका थिए ।
यस्तै राहुल त्रिपाठी १३ रनमा आउट हुँदा सुबमन गिलले ९ र दिनेश कार्तिकले ३ रन जोडे । कप्तान इयान मोर्गनले १७ रन बनाए । दिल्लीका मार्कुस स्टोनिस, एनरिच नोर्टजे र कागिसो राबडाले २र२ विकेट लिए ।
हारपछि दिल्लीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानको दिल्लीले ११ खेलमा १४ अंक जोडेको छ । उता दिल्लीलाई हराएको कोलकाताले ११ खेलमा १२ अंक जोडेको छ । कोलकाता तालिकाको चौंथो स्थानमा रहेको छ ।- एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया